कास्कीमा विपदको तयारी

पोखरा ।
विपद् व्यवस्थापन समितिले कास्कीले चालु आर्थिक वर्षमा विपद्को जोखिममा पर्न सक्ने ५ सय घर, परिवारलाई अस्थायी आवास तथा शिविरमा व्यवस्थापन गर्ने योजनाअघि सारेको छ । समिति अन्तर्गतको आपतकालीन आवास तथा गैर खाद्य विषयगत क्षेत्र समन्वय समितिले कास्कीले पोखरा महानगर तथा सबै पालिकामा ५ सय परिवारलाई गैरखाद्य सामग्री व्यवस्था गर्ने योजना ल्याएको हो ।
मनसुनी वर्षात सुरुवातसँगै चालु आर्थिक वर्षमा भूकम्प, बाढी, पहिरो, आगजनी, चट्याङ, हावाहुरी लगायतका घटनाबाट जोखिममा पर्न सक्ने घर, परिवारको अस्थायी आवास र आकस्मिक शिविर व्यवस्थापन गर्न लागेको नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्मा पौडेलले जानकारी दिए । उनले तत्काल गैर खाद्य सामग्री व्यवस्थापनका अलवा सुरक्षित आवासका लागि स्थान तथा आश्रय स्थल पहिचान गरी शिविर व्यवस्थापन गर्नुपर्ने प्रस्ताव गरे । समितिले शुक्रबार आयोजना गरेको विपद् व्यवस्थापनको पूर्व तयारी तथा प्रतिकार्यसम्बन्धी कार्यक्रममा उनले अस्थायी आवास तथा शिविर व्यवस्थापनको लागि दक्ष जनशक्ति आवश्यक पर्ने बताए ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका विपद् व्यवस्थापन समितिका संयोजक नवराज भण्डारीले गण्डकी प्रदेश तथा कास्की शाखाले अस्थायी आवासमा ३ सय परिवारलाई राख्न सक्ने क्षमता भएको जानकारी दिए । उनले आवास तथा शिविर लगायतका काम गर्न १ सय दक्ष जनशक्ति आवश्यक पर्ने बताए ।कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले साना, मध्यम र वृहतमध्ये ९० प्रतिशत साना र मध्यम खालका विपद्का घटना हुने जानकारी दिए । आम रुपमा साना तथा मध्यम खालका विपद् घटनाका लागि पूर्व तयारी अपनाउनुपर्ने उल्लेख गर्दै उनले कास्कीमा सेती बाढी तथा फेवा बाँध फुटेको जस्ता वृहत खालको विपद्का घटना भएकाले चनाखो हुनुपर्ने चर्चा गरे ।
विपद् व्यवस्थानका क्षेत्रमा रेडक्रस सरकारको साझेदार, दिगो र भरपर्दो संस्था भएको उनले उल्लेख गरे । विपद् व्यवस्था समिति कास्कीका संयोजकसमेत रहेका घिमिरेले बजेटको निश्चित प्रतिशत रकम विपद् व्यवस्थापनको क्षेत्रमा खर्च गर्न सुझाव दिए । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले विपद् प्रतिकार्य योजना निर्माण गरेर पूर्व तयार तथा प्रतिकार्यको क्षेत्रमा काम गरेको बताए । विपद् व्यवस्थापनको क्षेत्रमा ७ लाख ३० हजार खर्च गरेको जानकारी दिँदै उनले ३५ लाखको विपद् व्यवस्थापन कोष खडा गरेको जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय उपकोषाध्यक्ष डोलराज पाण्डेले सबै क्षेत्रमा सानोतिनो सहयोग गर्ने रेडक्रसको दायित्व भएकाले सबै क्षेत्रबाट सहयोग जुटाएर काम गर्ने जनाए । उनले गाउँ गाउँमा रेडक्रसको उपशाखा भएकोले गलत ठाउँमा राहत नपुग्ने दाबी गरे । विपद्का घटनामा विना प्रक्रिया सबैभन्दा चाँडो रेडक्रस पुग्ने उनले उल्लेख गरे ।
कार्यक्रममा रेडक्रस कास्कीका उपसभापति तथा विपद् व्यवस्थापन समितिका संयोजक उर्मिला खड्का भण्डारीले अस्थायी आवास तथा गैर खाद्य विषयगत क्षेत्रमा २२ संस्था आवद्ध रहेको जानकारी दिइन् । रेडक्रसका कास्की शाखाका मन्त्री सुरेन्द्र गुरुङले प्रादेशिक गोदाम घर पोखरामा २ हजार ५ सय परिवारलाई राहत सामग्री वितरण गर्ने क्षमता भएको जानकारी दिए । रेडक्रसका ४८ उपशाखामध्ये १२ उपशाखाले १२ परिवार र १६ उपशाखाले ५ परिवारलाई राहत वितरण गर्न सक्ने उनले उल्लेख गरे । उनले कास्की रेडक्रसले १ सय परिवारका लागि राहत सामग्री तयारी अवस्थामा राखेको बताए । उनले कार्यक्रममा सबै पालिका र सामाजिक संघ संस्थाले जोखिममा पर्न सक्ने घर परिवारको अस्थायी आवास तथा शिविर व्यवस्थापनको लागि गर्न सक्ने कामको बारेमा बोलेको जनाए ।
अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले पूर्व तयारी अपनाएको खण्डमा विपद्को जोखिम कम गर्न सकिने भए पनि विपद् व्यवस्थापनको पूर्व तयारीको अवस्था कमजोर भएको बताए । उनले विपद्जन्य घटनाबाट सबैलाई सुरक्षित राख्न पूर्व सूचना प्रणालीलाई व्यवस्थित गर्नुपर्ने सुझाव दिए । पोखरा महानगरपालिका विपद् व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्रराज शर्माले २ करोडको विपद् व्यवस्थापन कोषलाई ५ करोड पु¥याउने योजना सुनाए । उनले महानगरले गैर खाद्य सामग्रीको संकलन र सुरक्षित आवासका लागि स्थान पहिचान गरेको जनाए । मादीका प्रमुख प्रशासकीय अधिकृत सुबोध खनालले पालिकाले ८५ लाखको विपद् व्यवस्थापन कोष खडा गरेको बताए । उनले सार्वजनिक विद्यालय खाली भएको अवस्थामा अस्थायी आवासको व्यवस्था गर्ने योजना सुनाए । माछापुच्छ«े गाउँ पालिका विपद् व्यवस्थापन समितिका सदस्य सचिव मोहनप्रसाद खनालले जथाभावी मोटरबाटो खन्दा विपद्को जोखिम बढेको बताए ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका कार्यालय प्रमुख मोहनसिंह खड्काले आपतकालीन आवास तथा गैर खाद्य विषयगत क्षेत्र समन्वय गर्ने संस्था रेडक्रस कास्की, संघीय आयोजना कार्यान्वयन इकाई कास्की भएको जानकारी दिए । उनले रेडक्रस कास्कीले प्राकृतिक प्रकोप, दुर्घटना र विपतबाट प्रभावितको राहात तथा उद्दारका लागि ३० लाख रुपैयाँको विपत राहत कोष खडा गरेको बताए । गैर सरकार संस्था महासंघ कास्कीका अध्यक्ष बुद्धिबहादुर थापाले आपतकालीन आवास तथा शिविर व्यवस्थापन लगायतका क्षेत्रमा सामाजिक संघ, संस्थाले समितिको समन्वय र सहकार्यमा काम गर्ने जानकारी दिए ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया