गिटी, बालुवा लुट्नेलाई प्रहरी समात्छ, महानगर छाड्छ
एक वर्षदेखि नदी कसले उत्खनन् गर्यो ? नदी उत्खननमा क—कस्को संलग्नता छ ? हालसम्म नदीबाट कति खजाना चोरी भए ? यी सबै प्रश्न अनुत्तरित बनाएर गाडी नियन्त्रणमुक्त

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले नदीजन्य पदार्थको अवैध उत्खनन्को ओसारपोसारमा प्रयोग भएका ३ वटा ट्याक्टर आइत्बार नियन्त्रणमा लियो । पोखरा १४ बाच्छेबुडुवास्थित सेती घाटमा रातिराति बालुवा गिट्टी र ढुंगा नदीबाट उत्खनन् गरी चोरी गर्दै आएकोसहित गरी ३ साधन समाती प्रहरीलाई पोखरा महानगरलाई बुझायो । तर, महानगरले आइतबार ती सवारी र धनीलाई उन्मुक्ति दिएको छ ।
पोखरा महानगरको राजस्व शाखाले प्रमाण नपुगेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर बुझाएको केही घन्टामै छाडिदिएको हो । नियन्त्रण लिइएका ती सवारी थिए —ग१ख ६६०९ नम्बरको मिनी टिप्पर, ग१त ५४१६ नम्बरको को ट्याक्टर र ग१त ७०२४ नम्बर को ट्याक्टर ।
पोखरा महानगरका राजस्व शाखाका प्रमुख दीपेन्द्र पाण्डितले प्रहरीले प्रमाण नपुगी पठाएको भन्दै छाडिदिएको बताए । उनका अनुसार एउटा ट्याक्टरलाई १२ हजार जरिवाना र एउटा ट्याक्टरलाई त्यसै छाडिएको छ । नियन्त्रणमा रहेको अर्को टयाक्टर भने छोड्ने अन्तिम प्रक्रियामा रहेको महानगरस्रोत बताउँछ ।
‘रामबजार प्रहरीले नियन्त्रणमा लिएर कारबाहीका लागि पठाएको रैछ । तर, प्रमाण नै पुग्दैन । पुगेकालाई कारबाही गरेर पठाएका छौैं,’ राजस्व शाखाका प्रमुख पण्डितले भने । जब कि कास्की प्रहरीले नियन्त्रणमा लिएका ती सवारी एक वर्षदेखि पोखरा १४ बाच्छेबुडुवाको सेती घाटमा ढुंगा, गिट्टी र बालुवा ओसारपोसारमा प्रयोग हुँदै आएका थिए ।
समाधानले जेठ ६ गते आइतबार मात्र ‘पोखरा १४ मा रातिराति सेती नदी उत्खनन्’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । एक वर्षदेखि नदी कसले उत्खनन् ग¥यो ? नदी उत्खनन्मा क—कस्को संलग्नता छ ? नदी उत्खनन हुँदा वातावरणमा परेको प्रभाव कस्तो छ ? हालसम्म नदीबाट कति खजाना चोरी भए ? यी सबै प्रश्न अनुत्तरित बनाएर छाडिएको छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बाच्छेबुडुवामा नदी उत्खनन्बारे अनुसन्धान हुने बताए । जब कि आइतबार प्रहरीले नियन्त्रणमा लिएको ती सवारीलाई ‘आइतबार’ केही घन्टामै उन्मुक्ति दिइएको छ । ‘गाडी नियन्त्रणमा लिएको भन्ने आएको छ । त्यो छानबिन हुन्छ । त्यसको कारबाही हुन्छ,’ मेयर आचार्यले भने ।
एक वर्षदेखि नदी कसले उत्खनन् गर्यो ? नदी उत्खनन्मा क—कस्को संलग्नता छ ? हालसम्म नदीबाट कति खजाना चोरी भए ? यी सबै प्रश्न अनुत्तरित बनाएर गाडी नियन्त्रणमुक्त
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपोसार गरेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालय र पोखरा १४ वडा कार्यालयलाई दिइएको थियो । तर, वडाध्यक्षले केही पहल नगरेपछि शुक्रबार राति स्थानीयले नदीमै पुगेर निरीक्षण गरेका थिए । राति नै उत्खनन् भइरहेको ठाउँमा प्रहरी पुगेको थियो । तत्काल जिल्ला प्रहरी कार्यालयका प्रमुख मोहन थापाको निर्देशनमा सवारी साधन नियन्त्रणमा लिइएका थिए ।
यसरी प्रहरीले कारबाहीका लागि महानगर पठाउँदा उन्मुक्ति दिएपछि स्थानीय आक्रोशित छन् । यो मामलामा ठूलै सेटिङ भएको उनीहरुले आरोप लगाएका छन् । उत्खनन्मा वडा कार्यालय नै संलग्न रहेको उनीहरुको आशंका छ । त्यस विषयमा थप अनुसन्धान हुनुपर्ने उनीहरुको माग छ ।
आफूहरुले दिएको सूचना महानगरको नगर प्रहरी वा कास्की प्रहरीमा नदिएपछि स्थानीयहरुले वडाध्यक्ष बोधराज कार्कीसमेतलाई छानबिन गर्नुपर्ने माग गरेका छन् । सोही अनुसार उनीहरुले आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीसमेत पुगेका थिए । नदी रातरात अवैध उत्खनन् भइरहँदा पनि अहिलेसम्म कसैलाई कारबाही नहुनुले स्थानीयहरु उत्खननकारीको ठूलै ‘सेटिङ’ हुनसक्ने शंका गर्छन् ।
अझ खोला उत्खननका लागि प्रयोग भएको जेसिबीलाई भने प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । उत्खनन्मा प्रयोग भएको डोजर समाधानले सवारी नम्बरसहित प्रकाशन गरेको छ । कसको मिलेमतोमा राति जेसिबी प्रयोग गरी उत्खनन भइरहेको छ छानबिन हुनुपर्ने स्थानीयहरुको माग छ ।
‘पक्राउ परेकालाई छुट्टाउन जनप्रतिनिधि फोन गर्छन्’
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्न कुनै पनि जनप्रतिनिधिले सूचना नदिएपनि नियन्त्रणमा लिएका सवारी छाड्न फोन गर्ने गरेको बताउँछन् ।
‘जिल्ला प्रहरी कार्यालयका नेतृत्वमा समालेको यत्रो समय भयो । आजसम्म कास्कीका कुनै पनि जनप्रतिनिधिले अवैध उत्खनन् भइरहेको छ भनेर सूचना दिनुभएको छैन । तर, उत्खनन्मा प्रयोग भएको सवारी नियन्त्रणमा लिएपछि भने छाड्न आदेश दिँदै प्रहरीलाई फोन आउँछ,’ एसपी मोहन थापाले भने ।
एपसी थापाले गैरकानुनी काम गर्नेलाई नियन्त्रण गर्न कास्की प्रहरी सफल भएको तर, कारबाही गर्ने अधिकार प्रहरीसँग नहुँदा उत्खनन् गर्नेहरुले सजिलै उन्मुक्ति पाउने गरेको सुनाए । जिल्ला प्रहरी कार्यालय कास्कीले बाच्छेबुडुवामा उत्खनन् गरेका बाहेक थप २ वटा सवारी समेत नियन्त्रणमा लिएको छ । तिनलाई कारबाहीका लागि प्रहरीले पोखरा महानगर पठाएको छ ।
‘हामीसँग कारबाही गर्ने कानुनी अधिकार छैन । कारबाही गर्न पालिकाहरुमा पठाउँछौं पालिकाले जरिवाना लिएर वा त्यसै छाड्छ,’ एसपी थापाले भने । उनले नदी उत्खनन् गर्नेलाई कारबाही गर्ने अधिकार प्रहरीलाई दिनुपर्ने बताए । त्यसका लागि कानुनै संशोधन गर्नुपर्ने भएकाले राज्यले त्यसतर्फ ध्यानाकर्षण गर्नुपर्ने उनको भनाइ छ ।
एसपी थापाले प्रहरीले कारबाही गर्न सक्छ भन्ने बारम्बार प्रमाणित भएको पनि बताए । ‘प्रहरी नदीजन्य स्रोतहरुको संरक्षण गर्न र गलत गर्नेलाई कारबाही गर्न सक्षम छ भनेर पटपटक देखाइसकेको छ । सवारी साधन नियन्त्रणमा लिएर न्युरोडमै लाइन लगाएको होइन ? तर छाडिए । प्रहरीले नियन्त्रण लिएपछि कारबाही गर्ने अधिकार हुनुपर्छ,’ उनले भने ।
तपाईको प्रतिक्रिया