३ पटक म्याद थप्दा पनि २५ प्रतिशतमात्रै काम

राष्ट्रिय समाचार समिति (रासस) २०८१ जेठ ७ गते ११:०५

तनहुँ ।
तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्न सेती नदीमाथि विसं २०७७ चैत २३ गते पक्की पुल शिलान्यास गर्‍यो । व्यास–३ देउरालीनगर र ऋषिङ–१ झापुटार जोड्ने पक्की पुल तीन वर्षमा निर्माण सम्पन्न गर्ने म्याद थियो । सम्झौताअनुसार काम भएको भए यतिबेला पुल बनेर गाडी गुडिसकेका हुन्थे । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण उक्त पुलको काम अलपत्र अवस्थामा छ ।

Advertisement


उक्त पुलको काम हालसम्म २५ प्रतिशत मात्रै रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । सम्झौताको अवधिमा विसं २०८० जेठ ९ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो ।


यस वर्ष बजेट सकिएकाले काम रोकिएको कार्यालय प्रमुख कृष्ण आचार्यले जानकारी दिए । ‘चालु आर्थिक वर्षमा केही काम भएको थियो, तर अहिले पैसा पनि सकियो, काम रोकिएको छ,’ उनले भने ।

Advertisement


चालु आर्थिक वर्षमा अब काम नहुने र वर्षा सकिएलगत्तै काम सञ्चालन गरिने आचार्यको भनाइ छ । आचार्यका अनुसार वर्षा सकिएलगत्तै स्टिलको काम सुरु गर्ने तयारी छ । हालसम्म तीन पटक म्याद थप भइसकेको र अन्तिम पटकका लागि विसं २०८२ असोजसम्म म्याद थप गरिएको उनले बताए ।


गण्डकी प्रदेश सरकारको ३२ करोड ४० लाख २७ हजार ३९४ रूपैयाँ लागतमा पुल निर्माण हुन लागेको हो । पुल निर्माणका लागि विसं २०७७ मंसिर १९ गते रसुवा इलाइट जेभी काठमाडौंसँग सम्झौता भएको थियो । कार्यालय प्रमुख आचार्यका अनुसार हालसम्म ८ करोड बजेट निकासा भएको छ ।

Advertisement


१५४ मिटर लामो रहने पुलको चौडाइ साढे ९ मिटर रहनेछ । पाइल फाउण्डेसनमा निर्माण हुने पुल स्टिल ट्रसको हुनेछ । पुल निर्माणपछि व्यास र ऋषिङका सर्वसाधारणलाई आवतजावतमा सहज हुनेछ ।


हाल सोही ठाउँमा झोलुंगे पुल छ । त्यसको करिब एक किलोमिटर माथि तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा पक्की पुल निर्माण गरिएको छ । त्यहाँबाट दमौली आउनुपर्दा करिब तीन किलोमिटर दूरी तय गर्नुपर्छ । अहिले पुल निर्माण भइरहेको ठाउँबाट दमौली आउन ५ सय मिटर दूरी पनि छैन ।


त्यहाँ हाल रहेको झोलुंगे पुलमा मोटरसाइकल चलाउँदा दुर्घटनाको जोखिम बढेपछि केही वर्ष पहिला जिल्ला अदालतले पुलमा मोटरसाइकल चलाउन नपाउने आदेश जारी गरेको थियो ।


उक्त आदेश पूर्णरुपमा पालन भएको छैन । हाल यहाँका सर्वसाधारणले झोलुंगे पुलबाट नै दुईपांग्रे सवारीसाधन वारपार गर्दै आएको स्थानीय दीपक थापाले बताए । झोलुंगे पुलबाट मोटरसाइकल वारपार गर्दा दुर्घटनाको जोखिम उत्तिकै छ । साँघुरो पुल त्यसमाथि मोटरसाइकल गुडाइदिँदा वारपार गर्ने सर्वसाधारणलाई समस्या हुँदै आएको उनको भनाइ छ ।

स्थानीयले वर्षौंदेखि सेती नदीमाथि पक्की पुलको माग गर्दै आएका थिए । काम सुरु हुँदा खुसी भएका यहाँका बासिन्दा अहिले कामले गति नलिँदा निराश छन् । लामो समयदेखि पुलको माग सङ्घीयता आएपछि गठन भएको प्रदेश सरकारले सम्बोधन गरेको थियो । रासस

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया