विजयलाई पुरस्कार, विनोदलाई सम्मान

समाधान संवाददाता २०८१ जेठ ७ गते ११:२७

पोखरा ।
‘जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’ बाट पत्रकार विजय नेपाल पुरस्कृत हुने भएका छन् भने फिल्मकर्मी विनोद शेरचनलाई सम्मान गरिने भएको छ । चलचित्र पत्रकार संघ नेपाल, कास्कीले गण्डकी प्रदेशमा कार्यरत चलचित्र पत्रकारमध्येबाट बर्सेनि १ जनालाई पुरस्कार र फिल्मकर्मीलाई सम्मान गर्दै आइरहेको छ ।

Advertisement


लामो समय चलचित्र पत्रकारिता गर्दै आएका विजयलाई जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार २०८० प्रदान गर्ने निर्णय भएको र २०४५ सालदेखि नेपाली चलचित्र बनाउँदै आएका फिल्मकर्मी विनोद शेरचनलाई सम्मान गर्न लागिएको संघका अध्यक्ष प्रभु अधिकारीले जानकारी गराए ।


चलचित्र पत्रकार संघ नेपाल कास्कीका पूर्वसहसचिव पत्रकार विजय नेपाल आदर्श समाज दैनिकका कार्यकारी सम्पादक र राजधानी दैनिकका पोखरा संवाददाता हुन् । पाल्पा रिब्दीगाउँपालिका ७, मैनादीका उनी झण्डै २ दशकदेखि पोखरालाई कर्मथलो बनाएर निरन्तर पत्रकारितामा क्रियाशील छन् ।

Advertisement

हिमालप्रेसमा समेत आबद्ध विजय विशेषगरी फिल्म तथा रंग पत्रकारितामा रुचि राख्छन् । सामाजिक विषयवस्तुमा समेत उनको कलम चल्छ ।


यस्तै २०४५ सालदेखि नै सिनेमा निर्माणमा लागेका विनोद शेरचन पोखरा महानगरपालिका वडा नं. १० का स्थायी बासिन्दा हुन् । उनले निर्माण गरेको सिनेमा कन्यादान, तृष्णा, बादल पारी र दुनियाँ चलेको सिनेमा हो । नेपालका नाम चलेका कलाकारहरु भूवन केसी, गौरी मल्ल, निर शाह, दिलिप रायमाझी, कृष्टि मैनाली, जल शाह, रुपा राणा, मुरलीधर, निखिल उप्रेती, निरुता सिंहजस्ता कलाकारसँग काम गरेका शेरचनले लगानी गरेका सबै सिनेमालाई दर्शकले रुचाएका छन् ।

Advertisement


आगामी जेठ १९ गते संघको साधारणसभाका अवसरमा पत्रकार विजय नेपाललाई २५ हजार पुरस्कार राशी सहित पुरस्कृत गरिने र फिल्मकर्मी विनोद शेरचनलाई दोसल्ला, माला र सम्मान पत्र सहित सम्मान गरिने अध्यक्ष अधिकारीले बताए ।


चलचित्र पत्रकारिता पुरस्कार पुराना चलचित्रकर्मी जीतप्रसाद द्वा र परिवारद्वरा नेपाली चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानलाई चिरकालसम्म सम्झिरहन र यही क्षेत्रमा कलम चलाइरहेका पत्रकारलाई थप हौसला प्रदान गर्न स्थापना भएको चलचित्र पत्रकार संघ नेपाल कास्कीका सचिव सन्तोष बस्यालले जानकारी गराए ।


संघले प्रदान गर्न लागेको चलचित्र पत्रकारिता पुरस्कारको प्रतिभा छनोटका लागि चलचित्र पत्रकार संघ नेपाल कास्कीका सल्लाहकार सुरेश रानाभाटको संयोजकत्वमा संघकै संस्थापक अध्यक्ष श्रीराम सिग्देल र कलाकार माओत्से गुरुङ सदस्य रहेको समिति गठन भएको थियो ।


जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार निवर्तमान अध्यक्ष अरुण गिरी नेतृत्व कार्यसमितिले २०७७ देखि प्रदान गर्न सुरु गरेको हो । पहिलो पुरस्कार संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देललाई प्रदान गरिएको थियो । दोस्रो र तेस्रो पुरस्कारबाट संस्थाका पूर्व अध्यक्ष रेम विक र पूर्वसल्लाहकार राजाराम पौडेल पुरस्कृत भइसकेका छन् ।

तपाईको प्रतिक्रिया