सम्पादकीय—सेती नदीमा अवैध उत्खनन र सेटिङ

समाधान संवाददाता २०८१ जेठ ७ गते ११:५७

हिन्दी फिल्मका दृश्यहरुमा जस्तै एउटा छुट्टै संसार जस्तो छ नेपालमा नदीनालाहरुको उत्खनन्मा दादागिरी । गुन्डागर्दीका आडमा नदी उत्खनन् कतिसम्म हुन्छ भने कसैले विरोध गरे ज्यानै लिन पनि पछि पर्दैनन् । धनुषामा ३ वर्षअघि औरही खोला अवैध उत्खनन् गर्दा दिलीप महतोलाई ट्रिपरले किचेर मारियो । त्यो घटनाका अपराधीहरु अहिले जेलमा छन् । पोखराको सेती नदीमा अवैध उत्खनन् विभिन्न घाटहरुमा भइरहेको छ । तर प्रहरी, प्रशासन र महानगरपालिकाले खास कारबाही गरेका उदाहरण विरलै छन् ।

Advertisement


नदीनालाका स्रोतको उपयोग स्थानीय सरकारले गर्ने हो । कहाँ नदीबाट ढुंगागिटी निकाल्ने र कहाँ ननिकाल्ले पनि स्थानीय सरकारले निक्र्याेल गर्छ । पोखरा महानगरपालिकाले भने सेती नदीका घाटहरुको ठेक्का लगाउन सकेको छैन । तर प्रसिद्ध रामघाट होस् कि अरु जहाँ पनि अवैध उत्खनन् भएको भयै छ, तर जसले अवैध धन्दा चलाइरहेका छन्, तिनलाई कारबाही भएको छैन । कतिसम्म भने महानगरपालिककै कर्मचारीको मिलेमतोमा रामघाटमा ढुंगाबालुवा र गिटी ओसारपसार भएको टेलिभिजनमा दृश्यसहित सार्वजनिक भयो । कर्मचारी बर्खास्त भएनन् ।


पोखरा १४ बाच्छेबुडुवामा सेती नदी उत्खनन् त्यो पनि रातिराति हुन थालेको वर्ष दिनभन्दा बढी भयो । स्थानीयले त्यसलाई रोक्न हारगुहार गरे । तर कसैले सुनेन । खासमा प्रहरीले भन्दा पनि स्थानीय सरकारले नै त्यस्तो धन्दा रोक्नुपर्ने हो । कथम् प्रहरीले उत्खनन्मा संलग्न र साधनहरु समाते पनि केही हजार जरिवाना गरेर छाड्छ ।

जनप्रतिनिधिहरुले अनुगमन गरी कारबाही गर्नु साटो उनीहरुकै संरक्षणमा ढुंगा, बालुवा, गिटी तस्करी भइरहेको आशंका कतिबेला पुष्टिको नजिक देखिन्छ । खासमा त जनप्रतिनिधिले अनुगमन गरी प्राकृतिक स्रोतको संरक्षण गर्नुपर्ने हो । रक्षक बन्नुपर्ने हो । तर स्थानीयले पटकपटक गुनासो गर्दा र जानकारी गराउँदा पनि पोखरा १४ मा भएको उत्खनन् रोकिएन । यसबाट त्यहाँ सेटिङमै अवैध धन्दा भयो भन्ने आशंकालाई मलजल पुगेको देखिन्छ ।


एकातिर ठेक्का नलागेका घाटबाट महानगरपालिकाले राजस्व गुमाइएको छ र अवैध ढंगबाट तस्करहरुले कमाइरहने हो भने त्यो अराजकताको पराकाष्ठा हो । करोडौंको अवैध धन्दा गर्नेलाई केही हजारमा किन छुटाइन्छ ? किन कसैलाई जेल पठाउने गरी कारबाहीको प्रक्रिया महानगरपालिकाले थाल्दैन ? हो यस्तै प्रश्नहरुले ढुंगा, बालुवा गिटीका उत्खनन् र तस्करीमा सेटिङ त छैन भन्ने आशंका जन्माएको छ ।

Advertisement


अवैध उत्खनन् गरिरहेका गाडी र मदजुर भेटिन्छन् । सामान ओसारेर थुपारिने क्रसर पनि भेटिन्छ तर मालिकहरु समातिन्नन् किन ? यस्तो हुनु सेटिङ होइन होला कसरी भन्ने ? कसको सेटिङ हो, जसको भए पनि यसबारे छानबिन हुनुपर्छ र राज्यमाथि घात गर्नेहरुलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।

तपाईको प्रतिक्रिया