महानगर बक्सिङ संघमा कार्की
पोखरा ।
पोखरा महानगरपालिका बक्सिङ संघको अध्यक्षमा सन्तोष कार्की चयन भएका छन् । आइतबार पोखरामा भएको भेलाले ३ वर्षे कार्यकालका लागि कार्कीको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा दिलीप दोषी, सचिवमा बुद्ध गुभाजु, कोषाध्यक्षमा विष्णु कायस्थ चयन भएका छन् । सदस्यमा सोनी बरुवाल, महत्तम श्रेष्ठ र शशि पौडेल छन् ।
संघको आइतबार भएको पहिलो बैठकले ५ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । जसमा रमेश थापा, कास्की जिल्ला बक्सिङ संघ, गण्डकी प्रदेश बक्सिङ संघ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष र नेपाल बक्सिङ संघ महासंघका कार्यसमिति सदस्य राजेन्द्र पहारीलाई चयन गरेको सचिव गुभाजुले जानकारी दिए ।
संघले पोखराका विभिन्न सामुदायिक विद्यालयहरुमा बक्सिङ खेलको बारेमा जानकारीसँगै प्रशिक्षणका कार्यक्रम सञ्चालन गरिने उनले बताए । यसअघि कार्यक्रमको पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारले उद्घाटन गरेका थिए ।
उनले बक्सिङ खेलको विस्तार तथा पर्वद्धनमा लाग्न संघलाई आग्रह गरे । यसका लागि महानगर खेलकुद विकास समितिबाट सहयोग रहने प्रतिवद्धतासमेत गरे । अध्यक्ष कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बुद्ध गुभाजुले गरेका थिए ।
तपाईको प्रतिक्रिया