जलवायु परिवर्तनले कृषि र आर्थिक क्षेत्रमा मार

समाधान संवाददाता २०८१ जेठ ८ गते १६:४३

पोखरा ।
नेपालमा ३६ प्रतिशतलाई जलवायु परिवर्तनको सम्बन्धमा ज्ञान नभएको देखिएको छ । मंगलबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षण २०२२ को प्रतिवेदनअनुसार नेपालमा ६४ प्रतिशत जनसंख्यालाई जलवायु परिवर्तनसम्बन्धी ज्ञान भएको देखिएको हो ।

Advertisement


राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक प्रमोदराज रेग्मीले उनीहरूले रेडियो र टेलिभिजनमार्फत ज्ञान प्राप्त गरेको देखिएको बताए । देशको समग्र भूभाग समेट्ने गरी जलवायु परिवर्तनसम्बन्धी तयार गरिएको प्रतिवेदन नीति निर्माण तहमा कोसेढुंगा सावित हुने उनले विश्वास व्यक्त गरे ।


२९ जिल्लाका ६ हजार ५२० घरपरिवारमा सर्वेक्षण गरिएको थियो । सर्वेक्षणका क्रममा अधिकांशले व्यक्तिगत रूपमा जलवायु परिवर्तनको अनुभूति गरेको रेग्मीले जानकारी दिए ।

Advertisement


‘एकै स्थानमा २५ वर्षभन्दा बढी अवधिदेखि बसोबास गरिरहेका ४५ वर्षमाथिका उत्तरदातालाई मात्र सर्वेक्षणमा समावेश गरेका थियौं,’ निर्देशक रेग्मीले भने, ‘स्थानीयले जलवायु परिवर्तनका कारण कृषि र आर्थिक क्षेत्रमा मार खेपिरहेको अध्ययनमा देखिएको छ । जलवायु परिवर्तनका कारण पर्यावरणमा परेको प्रभावले वनस्पति र प्राणी प्रजातिमा परेको असरलाई स्थानीय समुदायले राम्रैसँग अनुभव गरेका छन् ।’


सबैभन्दा बढी २५.२ प्रतिशतले जलवायु परिवर्तनको मुख्य कारण वन विनाश भएको साथै जलवायु परिवर्तन हुनुको कारण औद्योगिकीकरण, सहरीकरण र अन्य मानवीय कारणहरू पनि रहेको सर्वेक्षणमा सहभागीहरूले जवाफ दिएको उनको भनाइ छ ।

Advertisement


सर्वेक्षणका क्रममा १३ प्रतिशतले प्राकृतिक प्रकोपको सम्बन्धमा रेडियोमार्फत पूर्वसूचना लिने गरेको पनि देखिएको छ । सर्वेक्षणको क्रममा करिव ९० प्रतिशतले तापक्रम परिवर्तनको प्रत्यक्ष अनुभव गरेको बताएका उनले बताए ।


नेपालले सन् १९९० को दशकदेखि जलवायु परिवर्तनको तथ्यांक राख्दै आएको छ ।

तपाईको प्रतिक्रिया