जोमसोम—कागबेनी सडक , सम्झौता अवधि सकिंदा एक तिहाई काम

समाधान संवाददाता २०८१ जेठ ९ गते १०:३८

जोमसोम—उत्तर चीनको कोरलानाका जोड्ने राष्ट्रिय गौरवको जोमसोम—कागबेनी १३ किमी कालोपत्रे सडक सम्झौता म्याद सकिएको ७ महिना बितिसक्दा समेत निर्माणको कामले गति लिन सकेको छैन । निर्माण कम्पनी रौटाहा आत्रेय जेभी कन्ट्रक्सनको चरम ढिलासुस्तीका कारण जोमसोम—कागबेनी कालोपत्र सडकले अपेक्षा गरेअनुरुपको भौतिक प्रगती हुन नसकेको हो ।
जोमसोम—कागबेनी कालोपत्र सडकका लागि संघीय सरकार भौतिक पूर्वाधार मन्त्रालयले २०७८ साल असोज ४ गते २८ करोड १४ लाख लागतमा रौटाहा आत्रेय जेभीसंग ठेक्का सम्झौता गरिएको थियो । यो सडकका लागि मन्त्रालयले ५७ करोड ३८ लागत अनुमान गरिएकोमा निर्माण कम्पनी रौटाहा आत्रेय जेभीले ५० प्रतिशत बिलो छोडेर ठेक्का हात पारेको थियो । गौरवको सडक अन्तर्गत यही अघि हस्तान्तरण भएको जोमसोम—कोरला सडकखण्डको पहिलो हस्तान्तरण भईसकेको ग्राभेल सडकलाई थप स्तरोन्नति गर्दै कालोपत्र गर्न मन्त्रालयले ठेक्का लगाएको थियो । जोमसोमदेखि माथि कोरला राजमार्ग योनै पहिलो कालोपत्र सडकको योजना हो ।
जोमसो—कागबेनी १३ किमी कालोत्र अन्तर्गत कागबेनी खोलासम्म १२ किमी र कागबेनी श्राद्धस्थलदेखि मुख्य सडकसम्म १ किमी कालोपत्रे गर्ने योजना थियो । यसका लागि २ वर्षमा सक्ने गरी २०८० साल असोज ३ गते यो सडक सक्ने गरी सम्झौता भएको थियो । यसका लागि जेभीका दुई मध्ये आत्रेय कन्ट्रक्सनले यो काम गर्ने जिम्मा लिएको थियो । तर, आत्रेयले सुरुवाती चरणदेखिनै जोमसोम—कागबेनी सडक पटक÷पटक अलपत्र पार्दैआईरहेको थियो । आयोजनाले यो सडकका निर्माण कम्पनीलाई काममा फर्किन पटक÷पटक ध्यानार्कषण गर्दैआईरहेको थियो । काममा नफर्किने ठेक्का सम्झौता तोडेर कालो सूचिमा राख्ने तयारी आयोजनाले गरेको थियो ।
जोमसोम—कागबेनी कालोपत्र सडकमा विलम्व भईरहदा आत्रेय जेभी काम गर्न नसकेर सम्पर्कविहीन बनेपनि अर्को प्रतिनिधि रौटाहा जेभी बाध्य भएर काममा फर्कियो । उसले गत असोजदेखि काम सम्हालेको भएपनि काम खासै तीब्रता दिन भने सकिरहेको छैन । जोमसोम—कागबेनी कालोपत्र सडक निर्माणमा यो कम्पनीले पनि कहिले काम गरेको जस्तो देखिन गरेको छ भने कहिले सडकको काम ठप्पै परेको देखिन्छ । निर्माण कम्पनीलाई आयोजनाले नियन्त्रणमा ल्याउन नसक्दा यो सडकमा निर्माण कम्पनीको मनोमानी चरमउत्र्कषमा पुगेको हो । अहिले यो सडकमा आशिंक काम भईरहेको देखिन्छ ।
जोमसोम—कोरला साविक ग्राभेल सडकको संरचना निर्माण सम्पन्न भईसकेको सडकलाई अफग्रेड गर्दै कालापत्र गर्न निर्माण कम्पनीले २०८१ असोज ३ गतेसम्मका लागि आयोजनाले म्याद थपिदिएको छ ।यहाँ कालोत्र सडक विस्तारका लागि सडक चौडा गर्ने, ग्रेड मिलाउने, कटिङ गर्ने, मेसिनरी वाल लगाउने,ड्रेन निर्माण गर्ने, वाल निर्माण गरी माटो फिलिङ गर्ने र सडकलाई कालोपत्र गर्ने कामको जिम्मेवारी दिईएको थियो ।
आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईले जोमसोम—कागेबनी सडकको सुरुवाती सम्झौता म्याद सकिएर एक वर्षका लागि म्याद थप भएको जानकारी दिए । उनले सडकको हालसम्म ४० प्रतिशत मात्र भौतिक प्रगती भएको उल्लेख गरे । जोमसो—कोरला ११० किमी ग्राभेल सडक मध्ये जोमसोम—कागबेनी पहिलो खण्डको १३ किमी दुरीमा कालोपत्र सडक निर्माणको काम अघि बढाईएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया