बाराही वाईवाई यु–१९ क्रिकेट विजेता

समाधान संवाददाता २०८१ जेठ १३ गते १३:०७

पोखरा ।
टिम वाराही सम्पन्न यू–१९ वाईवाई कप कास्की जिल्ला पुरुष क्रिकेट छनोट प्रतियोगिता २०८१ को विजेता बनेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा मंगलबारदेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिता टिम विन्ध्यवासिनी दोस्रो, टिम भद्रकाली तेस्रो र तीन खेलमध्ये तीन खेलमै पराजित टिम अकला भने चौथो स्थानमा रह्यो ।

Advertisement


प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न पहिलो खेलमा भद्रकालीले अकलालाई ३ रन र दोस्रो तथा प्रतियोगिताको अन्तिम खेलमा बाराहीले विन्ध्यवासिनीलाई ५ विकेटले पराजित गरेको थियो ।


पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको भद्रकाली २५ ओभर खेल्दै आठ विकेट गुमाएर १ सय ८ रन जोडेको थियो । १ सय ९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङका लागि मैदान उत्रेको अकला २१.३ ओभरमा अल आउट हुदै जम्मा १ सय ५ रनमा समेटिन पुगेको थियो ।


दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको विन्ध्यवासिनी २१.१ ओभर खेल्दै १० विकेट गुमाएर ८३ रनमा समेटिन पुगेको थियो । ८४ रनको झिनो लक्ष्य पाएको बाराहीले ११.३ ओभर खेल्दै पाँच विकेट गुमाएर ८८ रन जोड्दै लक्ष्य पुरा गरेको थियो ।


प्रतियोगितामा बाराहीका नितेश गिरी उत्कृष्ट बलर, विन्ध्यवासिनीका सिब्रिन श्रेष्ठ उत्कृष्ट ब्याट्सम्यान र बाराहीका आदित्य थापा म्यान अफ दि सिरिज घोषित भएका थिए ।

Advertisement


यसअघि प्रतियोगिताका लागि पहिलो चरणमा ८४ जना खेलाडीहरुबाट ४८ जना छनोट गरी ४ टिम तयार गरिएको आयोजक संघ कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

जिल्ला स्तरीय प्रतियोगितापछि गण्डकी प्रदेश स्तरीय प्रतियोगिता हुने भएकाले सम्पन्न प्रतियोगिताबाट १४ जना खेलाडी छनोट हुने सिग्देलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया