सूर्यदर्शन सहकारीको अब संसदीय छानबिन
गृहमन्त्री लामिछानेका नाममा सहकारीबाट १ करोड रुपैयाँ ऋण निकालेको आरोप छ

पोखरा ।
सहकारीको रकम अपचलनमा छानबिन गर्ने संसदीय समितिको कार्यादेशमा सहमति जुटेसँगै पोखराको सूर्यदर्शन सहकारीमाथि संसदीय छानबिन हुने भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको सत्ता र प्रतिपक्ष दलका प्रतिनिधिको कार्यदलको मंगलबार बसेको बैठकले कार्यादेश तयार पारेको हो ।
कार्यादेशमा विभिन्न २९ वटा सहकारीको नाम उल्लेख छ । त्यसमा पोखराको सूर्यदर्शन सहकारीको पनि नाम छ । यो सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समेत संलग्नताको आरोप छ । ग्यालेक्सी टेलिभिजन सञ्चालन गरेको ‘गोरखा मिडिया नेटवर्क’ले यो सहकारीको रकम अपचलन गरेको अहिलेसम्मका अरु छानबिनले देखाएका छन् । उक्त टेलिभिजनमा लामिछाने पनि लगानीकर्ता थिए ।
संसदीय छानबिन समितिमा ७ सदस्य हुने र यसको कार्यावधि ३ महिनाको हुने सहमति दलहरुले गरेका छन् । समितिमा सांसदहरु ईश्वरीदेवी न्यौपाने (कांग्रेस), ध्रुवबहादुर प्रधान (राप्रपा) बद्रीप्रसाद पाण्डे (कांग्रेस) लेखनाथ दाहाल (माओवादी केन्द्र), शिशिर खनाल (रास्वपा),सरिता भुसाल (एमाले) सूर्यबहादुर थापा क्षेत्री(एमाले) छन् ।
गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम उल्लेख गरेरै संसदीय छानबिन समिति बन्नुपर्ने अडानबाट कांग्रेस पछि हटेसँगै सहमति जुटेको हो । गोरखा मिडिया नेटवर्कको नाम राखेर संसदीय छानबिन समिति बनाउन दलहरु सहमत भएका हुन् ।
सहकारीको रकम अपचलन गर्ने गोरखा मिडियालगायत कम्पनी र संलग्न व्यक्तिमाथि छानबिन गर्ने सहमति छ । रास्वपा सभापति तथा गृहमन्त्री लामिछानेले गोरखा मिडियाको तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेकाले यस बुँदाप्रति कांग्रेसले सहमति जनाएको हो ।
‘सहकारी संस्था सदस्य (सेयर धनी) एवं बचतकर्ताबाट सहकारी संस्थामा जम्मा गरिएको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन गरी हानी नोक्सानी पुर्याएको भनी संघीय संसद् र सार्वजनिकरूपमा प्रश्न उठेका, विभिन्न तह र निकायमा उजुरी परेका अनुसूची–२ मा उल्लेखित लगायतका सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रालिलगायत अन्य कम्पनी वा संस्थाहरूमा प्रवाह भएको रकमको स्थिति, सो रकम गैरकानुनीरूपमा प्रवाह भए–नभएको, र त्यस्तो गैरकानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानुन बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने,’ समितिको कार्यादेशमा भनिएको छ ।
सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड हिनामिना भएको यसअघिको अध्ययन प्रतिवेदनहरुले देखाएका छन् । पोखरा महानगरपालिकाले उक्त सहकारीको छानबिन गरेको थियो । सूर्यदर्शनका १८ हजार ७ सय बचतकर्ताको रकम अपचलन भएको हो । अपचलनमा सबैभन्दा धेरै संलग्नता भएको भनिएका पूर्वअध्यक्ष जिबी राई भने फरार छन् ।
गृहमन्त्री लामिछानेका नाममा खाता खोलेर सहकारीबाट १ करोड रुपैयाँ ऋण निकालेको प्रमाण पनि छानबिन समितिले फेला पारेको छ । लामिछानेका नाममा ०१–००१–११६–०००४४५६ नम्बरको ऋण खाता र ०१–००१–४९–००००७७७० नम्बरको बचत खाता खोली एक करोड ऋण निकालेर सारिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा देखिएको छ ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया