१८५० देखि घाटु नचाइरहेको पाण्डवखानी

प्रमिला कुँवर २०८१ जेठ १६ गते १२:४२

पोखरा ।
रमाइलो मगर बस्ती, ढुंगाले छाइएका प्राचीन मौलिकता सजिएका घर, प्राकृतिक र साँस्कृतिक रुपमा धनी गाउँ पाण्डवखानी । बागलुङ सदरमुकामदेखि मध्यपहाडी लोकमार्ग धुलाम्मे मोटरबाटो हुँदै ५/६ घण्टामा पुगिन्छ गलकोट नगरपालिका १० पाण्डवखानी ।

Advertisement


पाण्डवखानी गाउँ कला, संस्कृति र प्राकृतिक स्रोतमा धनी छ । यहाँको चिनारीको रुपमा रहेको घाटु नाच प्रदेशकै गौरवको कुरा हो । घाटु नाच हेर्ने जो कोही पनि यसको तारिफ नगरी छोड्दैन । यहाँ घाटु वैशाखे पूर्णिमा नाचिन्छ । मातातीर्थ औंसीको दिनदेखि घाटु नाच सुरु गरिन्छ भने वैशाखे पूर्णिमामा नाचेर, जेठको २१ गते सेलाइन्छ ।


पाण्डवखानीमा घाटु नाच १८५० (अनुमानित) सालदेखि सुरु गरिएको घाटु नाचका गुरुबा गिरी घर्तीले बताए । अन्यत्रबाट खानीमा काम गर्न आएका कामदारले घाटु नाचको प्रचलन सुरु गरेको बुढापाकाले सुनाएको उनी बताउँछन् ।

Advertisement


उनका अनुसार भित्री मधेसतिरका राजा परशुराम राजा पर्वते (पहाडी) राजासँगको युद्धमा मृत्यु भएपछि राजाका ४ वटी रानीहरुले गरेको अलाप, विलापलाई गीत बनाएर गाइन्छ । हृदयविदारक गीतको स्वर र घाटुलीको विलापले रोमाञ्चित र भावुक बनाउँछ ।

गीत गाउँदै जाँदा जसलाई देउता उत्रन्छ, उही घाटु नृत्य गर्छन्

Advertisement


‘घाटु नाचलाई औलौकिक शक्ति मानिन्छ । गीत गाउँदै जाँदा जसलाई देउता उत्रन्छ, उही घाटु नृत्य गर्छन् । मन्त्रबाट घाटुलीको आँखा बन्द हुन्छ र मन्त्रबाटै आँखा खोलिन्छ,’ उनले भने । गाउँका सबै जना घाटु नाच लोप हुन नदिन लागिपरेका छौं । नयाँ पुस्तालाई पनि सिकाउँदैछौं ।’


घुम्टे लेक
३१ सय २० मिटरको उचाइमा छ घुम्टे लेक । घुम्टे लेकलाई लालीगुँरासको पहाड भनेर पनि चिनिन्छ । घुम्टेको टाकुरामा सिद्घ भैरवको मन्दिर छ । सिद्घ भैरवको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने विश्वास रहेको पाण्डवखानीकी देउकुमारी काउचाले बताइन् ।


पाण्डवखानीको सिद्धथानबाट ५/६ घण्टाको उकालो हिँडाइले घुम्टे पुगिन्छ । घुम्टेको उकालो चढ्दा घुम्टे साइँला, यानीमाया, ठाडो भाका लगायतका गीत गाउँदै जाने चलन रहेको उनले बताइन् ।


‘डोकोभरी खाजा बोकेर साथीसंगी गीत गाउँदै गइन्थ्यो, डोकोभरी जडीबुटी, टुसा, ढकाय साग टिपेर ल्याइन्थ्यो । घुम्टे नगएको २ दशक जति भयो । अब त आँगनबाट हेर्ने मन बुझाउने ।’ ७३ वर्षीया काउचाले भनिन् ।


रोजगारी, अन्य कारणले युवाले गाउँ छोड्दा न त घुम्टे लेक चढ्ने, मौलिक लोक भाका गाउने नाच्ने कोही नभएको बताउँदै परम्परा हराउनेमा उनी चिन्तित देखिन् । युवा जति गाउँबाहिर छन्, मेला लागे पनि गाउँ सुनसान छ, रमाइलो त हाम्रो पालामा हुन्थ्यो ।’ उनले विगत सम्झिइन् ।


रमुवा
विकासका हिसाबले रमुवा पछाडि पनि पनि यहाँ आर्थिक समृद्धिका सम्भावनाहरु धेरै छन् । रमुवा आलु पकेट क्षेत्र हो । यहाँ भाँगो पनि राम्रो उत्पादन हुन्छ साथै यहाँ सयौं प्रकारका जडीबुटी पनि पाइन्छ ।


गत वर्ष ५२ सय मुरी आलु उत्पादन भएको पाण्डवखानीका पूर्ववडाध्यक्ष तिलक घर्तीले जानकारी दिए । भाँगोलाई सरकारले अवैधानिक घोषित गरेकाले यसबाट ३० प्रतिशतमात्र फाइदा लिन सकेको उनले विवशता प्रकट गरे ।


‘भाँगो चामलसँग साट्नमात्र प्रयोग भएको छ । भाँगोका धेरै फाइदा छन्, यसलाई वैधानिकता दिनुपर्छ । यो वर्ष असिनाले ८० प्रतिशत आलुखेतीमा क्षति पुर्‍याएको छ । स्थानीय सरकारले उपेक्षा गर्नाले ठूलो नोक्सानी व्यहोर्नुपर्‍यो,’ घर्तीले आक्रोश व्यक्त गरे ।


स्थानीय सरकार, स्थानीय सक्रिय नहुँदा जडीबुटी वनमा खेर गइरहेको उनले सुनाए । सयौं प्रकारका जडीबुटी पाइने भएपनि त्यसलाई प्रयोगमा ल्याउन नसकेको उनको धारणा छ । उनी भन्छन्, ‘स्थानीयको सक्रियतामा जडीबुटी लोप हुन, चोरी हुनबाट त जोगाएका छौं तर यसलाई आम्दानीमा जोड्न सकिएको छैन । काठहरु जंगलमै कुहिएरहेका छन् ।’


यहाँ पाँचऔले, चिराइतो, सतुवा, भुतकेश, वन अंगुर, पाखनवेद, लसुने साग, बाटुल पाते, कुकुरदाइनो, चिनी लहरो, भुइँचम्पा, गोलकाँक्री, ढकायो, घोडताप्रे, ठोट्ने, चुल्ठी अमिलो, नागवेली, लौठ सल्ला, अभिजालो लगायत बहुमूल्य जडिबुटी पाइन्छन् ।

रमुवामा गाउँमा भीर मौरीको मह शिकार पनि गरिन्छ । स्वास्थ्यवद्र्धक मानिने मह साढे १ लिटर २ हजार पर्ने घर्तीले जनाए ।
रमुवा गाउँबाट नगरपालिका कार्यालय जान जम्मा ३१ किलोमिटरको बाटोमा पनि ८ सय खर्च हुने उनले बताए ।

गलकोटको आर्थिक विकास उकास्न सकिने सम्भावना भए पनि स्थानीय सरकारले सोचे जस्तो सहयोग नगरेको घर्तीले गुनासो पोखे । सडक स्तरोन्ति गर्नुपर्ने, उत्पादन भएका वस्तुलाई बजारको व्यवस्था गनुपर्ने, प्राकृतिक स्रोत साधनलाई प्रयोगमा ल्याई आम्दानीसँग जोड्नुपर्ने उनको माग छ ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया