तनहुँका ३६ वडा पहिरोको जोखिममा

समाधान संवाददाता २०७६ साउन ८ गते १५:५१

कृष्ण न्यौपाने
दमौली

तनहुँ जिल्लाका १० स्थानीय तहका ८५ मध्ये ३६ वडा पहिरोको जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समिति तनहुँले बनाएको विपद् प्रतिकार्य योजना अनुसार ३६ वडा पहिरोको जोखिममा रहेको पाइएको छ ।

पहाडी तथा भिरालो भूबनोटका कारण अधिकांश क्षेत्रमा पहिरोको बढी जोखिम छ । यस्तै आगलागी, बाढी, खडेरी, सडक दुर्घटनाको जोखिम पनि जिल्लामा उत्तिकै रहेको समितिले जनाएको छ । शुक्लागण्डकी नगरपालिका १ र १०, भिमाद नगरपालिका १, ५, ६, ७, ८, भानु नगरपालिका ४, ६, १०, ११, व्यास नगरपालिका ७, ८, ९, ११, १२ पहिरोको जोखिममा छन् । आँबुखैरेनी गाउँपालिका ४ र ६, रिसिङ गाउँपालिका १, २, ६, ७, ८, घिरिङ गाउँपालिका ३, ४, ५, बन्दीपुर गाउँपालिका १, २, ४, ५, ६, म्याग्दे गाउँपालिका १, २, ३ र देवघाट गाउँपालिका ४ र ५ पनि पहिरोको उच्च जोखिममा छन् ।

Advertisement

बाढीबाट जिल्लाका २९ वडा जोखिममा छन् । व्यास नगरपालिका १, २, ३, ५, ५, ७, ८, १०, ११, १३, आँबुखैरेनी गाउँपालिका १, २, ३, ४, शुक्लागण्डकी नगरपालिका २, ३, ५, ५, ६, ७, ८, ९, १०, भानु नगरपालिका ११, १३, भिमाद नगरपालिका १ र देवघाट गाउँपालिका ४ बाढीको जोखिममा छन् । यसका अलवा रिस्ती, साँगेखोलासँग जोडिएका नगरपालिका र गाउँपालिका, नाउदी र पाउदी खोलासँग जोडिएका नगरपालिका र गाउँपालिका, क्याङ्दी, चुँदी, मादीसेती, फिर्दी खोला र चुँदीखोलासँग जोडिएका नगरपालिका र गाउँपालिका पनि बाढीको जोखिममा छन् ।

आगलागीबाट जिल्लाका ५३ वडा जोखिममा छन् । व्यास नगरपालिका १, २, ३, ५, ५, १०, ११, १३, १४, बन्दीपुर गाउँपालिका १, २, ३, ४, ५, ६, रिसिङ गाउँपालिका १, २, ३, ६, ७, देवघाट गाउँपालिका २, आँबुखैरेनी गाउँपालिका १, २, ३, ४, ५, ६, भिमाद नगरपालिका २, ७, ८, ९, म्याग्दे गाउँपालिका १, २, ३, ४, ५, शुक्लागण्डकी नगरपालिका २, ३, ४, ५, ६, ७, ८, ९, १०, भानु नगरपालिका १, २, ३, ४, ५, ६, १२ र १३ आगलागीको जोखिममा छन् ।

Advertisement

खडेरीबाट जिल्लाका २९ वडा जोखिममा छन् । व्यास नगरपालिका १३, १४, बन्दीपुर गाउँपालिका २, ३, ४, ५, ६, शुक्लागण्डकी नगरपालिका ८, ९, १०, ११, १२, भीमाद नगरपालिका २, ७, ८, ९, म्याग्दे गाउँपालिका १, २, ३, ४, ५, ६, ७, देवघाट गाउँपालिका ४, ५, आँबुखैरेनी गाउँपालिका ५, ६ र रिसिङ गाउँपालिका १ र २ खडेरीको जोखिममा छन् ।

विगतका घटनाका आधारमा पहिरो, बाढी, आगलागी, खडेरी लगायतबाट जोखिम क्षेत्र पहिचान गरिएको विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । ‘पहिरो, बाढी, आगलागी, चट्याङ जिल्लाका प्रमुख प्रकोप रहेकाले विपद्को अवस्थामा तयार रहने स्थितिको सिर्जना गर्न आवश्यक छ,’ प्रजिअ पण्डितले भने, ‘त्यसैको तयारी स्वरुप विपद् प्रतिकार्य योजना निर्माण गरेर अगाडि बढेका छौं ।’

विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमाका लागि संकटासन्नता र क्षमताको विश्लेषणका आधारमा ८ वटा विषयगत क्षेत्र निर्धारण गरिएको छ । ‘यस योजनाले कार्यान्वयन गर्ने संस्था र सहयोगी संस्थाको भूमिका तथा जिम्मेवारी स्पष्ट रुपमा पहिचान गरेको छ,’ प्रजिअ पण्डित भन्छन्, ‘हरेक विषयगत क्षेत्रलाई एक निश्चित संस्थाले नेतृत्व गरेको छ ।’

जिल्लामा समन्वय तथा सूचना व्यवस्थापन, खोजतलास तथा उद्धार, खाद्य व्यवस्थापन, आपतकालीन आवास तथा गैर खाद्य सामग्री, खानेपानी, सरसफाइ र स्वास्थ्य प्रबद्र्धन, स्वास्थ्य तथा पोषण, आपतकालीन शिक्षा र संरक्षण गरी ८ विषयगत क्षेत्र गठन भएका छन् ।

आपत्कालीन अवस्थामा उद्धार गर्नका लागि जिल्लामा पर्याप्त मात्रामा सामग्री तयारी अवस्थामा राखिएको छ । कृष्ण दल गणले सेनानीको कमान्डमा १ गुल्म फौज, बन्चरो, फायर स्वाटर, फायर रेक, फायर साभेल, एक्सटिङ्गुइसर, क्याराबिनर फिगर, लाईफ ज्याकेट लगायतका सामग्री व्यवस्थापन गरेको प्रमुख सेनानी अनन्तबहादुर सिंहले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयले उद्धारका लागि २५ जनाको प्रहरी टोली, ट्युब, नाइलन डोरी, स्ट्रेचर, लाइफ ज्याकेट, कोदालो, गैंची, बन्चरो, भर्‍याङ, सशस्त्र प्रहरी बल नेपाल नं २३ गणले प्रहरी निरीक्षकको कमान्डमा ५५ जनाको प्रहरी टोली, लाइफ ज्याकेट, ट्युब, फलामको गल, प्लास्टिक डोरी, जगदल गणले अधिकृतको कमान्डमा फौज, फायर पञ्जा, लाइफ ज्याकेट, दंगा नियन्त्रण सुट, नेपाल रेडक्रस सोसाइटीले खाद्यान्न राहत सामग्री, तालिम प्राप्त जनशक्ति, स्वास्थ्य कार्यालयले उपचार टोली, इमरजेन्सी बफर स्टक औषधी, स्वास्थ्यकर्मीको टिम तयारी अवस्थामा राखेको छ ।

सम्भावित विपद् पर्दा खटिनुपर्ने राष्ट्रसेवकलाई आवश्यक अवस्थामा बाहेक बिदा नबस्न, बस्नै परेमा आलोपालो गरी सम्भाव्य कार्यमा बाधा नहुने गरीमात्र बस्ने व्यवस्था मिलाइएको छ ।

तपाईको प्रतिक्रिया