अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार पत्रकार पराजुलीलाई

पोखरा ।
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा सञ्चालित यसवर्षको ’अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८१’ पत्रकार रविचन्द्र पराजुलीलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशी २५ हजार रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्र छ ।
यो तेस्रो पुरस्कार हो । छनौट भएका पत्रकार पराजुली विगत २९ वर्षदेखि सुरूमा पोखरा र हाल काठमाडौंलाई कार्यक्षेत्र बनाएर पर्यटन लगायतका विभिन्न क्षेत्रमा कलम चलाउँदै आएका छन् । हाल उनी नेपाल टेलिभिजनमा आवद्ध छन् । यस अघि नेपाल समाचारपत्र राष्ट्रिय दैनिक, नेपालीपत्र साप्ताहिक, सारथी साप्ताहिक लगायतका पत्रिकामा समेत संलग्न थिए ।
नेपाल टेलिभिजनमै साप्ताहिक रुपमा शिक्षा विवेचना कार्यक्रम सञ्चालन गर्दै आएका पराजुलीले आफ्नो कार्यक्रममा पर्यटन शिक्षाको अवस्था, देखिएका चुनौति र गर्नुपर्ने सुधारका बारेमा समेत छलफल चलाउँदै आएका छन् । यसैगरि उनी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपाल माउन्टेन एकेडेमीमा ‘पर्वतारोहण व्यवस्थापन’ विषयको समेत प्राध्यापन गर्दै आएका छन् ।
तेस्रोपटक प्रदान गर्न लागिएको पुरस्कार अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा आँउदो जेठ २१ गते घान्द्रुकमा आयोजना हुने चौथो अन्नपूर्ण म्याराथन समापन समारोहमा वितरण गरिने छ ।
यस अघि पहिलो पटक सो पुरस्कार पत्रकारद्वय बासुदेव पौडेल र दीपक परियार तथा दोस्रोपटक रूपनारायण ढकाल र सन्तोष पोखरेललाई संयुक्त रूपमा प्रदान गरिएको थियो ।
नेपाल पत्रकार महासंघ कास्कीका पूर्वउपाध्यक्ष राजबहादुर गुरुङको संयोजकत्वमा गठित पाँच सदस्यीय प्रतिभा छनोट समितिले पुरस्कृत व्यक्तिको चयन गरेको हो । समितिको सदस्यमा पत्रकार एवं पर्यटन समितिका कानुनी सल्लाहकार अधिवक्ता हरिप्रसाद भट्टराई, पत्रकार एवं समितिका मिडिया संयोजक टंकराज अधिकारी रहेका छन् ।
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ र महासचिव दिलीप गुरूङ समितिको पदेन सदस्य रहने व्यवस्था छ । पर्यटन समितिको मंगलवार बसेको बैठकले प्रतिभा छनोट समितिको सिफारिस अनुमोदन गर्दै पत्रकार पराजुलीलाई सो पुरस्कार प्रदान गर्ने निर्णण गरेको हो । समितिले प्रतिभा छनौटका लागि तयार पारेको कार्यविधि बमोजिम प्रतिभा छनौट गरिएको संयोजक राजबहादुर गुरूङले जानकारी दिए ।
म्याराथनको सम्पूर्ण तयारी पुरा भएको समितिले जनाएको छ । अन्नपूर्ण आधारशिविरबाट आरम्भ हुने म्याराथन माछापुच्छ्रे आधारशिविर, वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुक आई समापन हुने गरी म्याराथन रुट कायम गरिएको छ ।
अन्नपूर्ण म्याराथनमा पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मीका हरिकुमार रिमालले जितेका थिए, दोस्रोमा डोटीका खगेन्द्रबहादुर भाटले, तेस्रो संस्करणको उपाधि जुम्लाका धीरबहादुर बुढा र महिला तर्फ गणना भण्डारीले जितेका थिए ।
महिला तथा पुरुष दुबैतर्फका लागि हुने म्याराथनमा पहिलो, दोश्रो र तेश्रोहुनेले क्रमश नगद १ लाख ५० हजार, १ लाख र ७५ हजार साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विदेशीका लागि प्रोत्साहन पुरस्कार स्वरुप विशेष पुरस्कार व्यवस्था गरिएको छ । पुरुषतर्फ दर्ता शुल्क ७ हजार र महिलातर्फ ५ हजार तोकिएको छ ।
म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रुपमा विकास गर्न गतवर्षदेखि अल्टिमेट एडभन्चर नेपालले प्राविधिक सहयोग गरेको छ । कार्यक्रमका लागि अन्नपूर्ण गाउँपालिकाको व्यवस्थापन, अन्नपूर्ण समाज काठमाडौंको सहकार्यमा सम्पन्न हुन गईरहेको म्याराथनमा नेपाल पर्यटन बोर्ड, घान्द्रुक पर्यटन व्यवस्थापन समिति, छोम्रोङ पर्यटन व्यवस्थापन समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)र राष्ट्रिय प्रकृति संरक्षण कोष, टाँडापानी पर्यटन व्यवस्थापन समिति, मुल्डे भ्यू–पार्क व्यवस्थापन समिति, खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, भूपू खेलाडी मञ्च, नेपाल एड्भेन्चर रनिङ महासंघ, सि आइ डब्लु ई सी क्लिनिकसहितका अन्य पर्यटनसँग सम्बन्धित संघसंस्थाले सहयोग गरेका छन् ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया