महिला–पुरुषको समान सहभागिता जरुरीः प्रदेश प्रमुख भट्ट

पोखरा ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पुरुषजत्तिकै महिलाको सहभागिता र प्रतिनिधित्वले मात्र लोक कल्याणकारी राज्य स्थापना हुने बताएका छन् । उनले विकासको मूल प्रवाहीकरणमा महिलाको उपस्थिति अत्यन्त आवश्यक रहने उल्लेख गरे ।
३५ वर्षअघि स्थापित पोखरा लेडी जेसीजको साताव्यापी कार्यक्रम जेसीज सप्ताह सुरुआत गर्दै भट्टले जेसीजले लैंगिक मुद्दालाई पनि ध्यानमा राखेर अघि बढेकोमा खुसी व्यक्त गरे ।
‘घर, परिवार, समाज र राष्ट्रलाई रूपान्तरण गरी लोक कल्याणकारी राज्य स्थापनार्थ महिला र पुरुषको समान सहभागिता एवं प्रतिनिधित्व अपरिहार्य छ,’ उनले भने, ‘विकासको मूल प्रवाहीकरणमा महिलाको उपस्थिति आवश्यक छ । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रको सन्तुलित विकासका लागि पनि महिलालाई नेतृत्व तहमा लैजानुपर्दछ ।’
लेडी जेसीज जस्ता सामाजिक संस्थाले महिलाको नेतृत्व र क्षमतासँगै चेतना विकासमा सहयोग पुगेको प्रदेश प्रमुख भट्टको भनाइ छ । ‘नेतृत्वदायी भूमिकामा महिला सहभागिता बढाउन पनि यसले साथ दिएको छ । लाखौँ युवाको व्यक्तित्व र नेतृत्व विकाससँगै देश निर्माणमा योगदान गर्दै आएको छ,’ भट्टले थपे ।
जेसीज १८ देखि ४० वर्षसम्मका युवाको नेतृत्व क्षमताको विकास गर्ने विश्वव्यापी संस्था रहेको र तालिमको विश्वविद्यालयको रुपमा पनि चिनिने यस संस्थाले युवा सशक्तीकरण गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याएको प्रदेश प्रमुख भट्टको ठम्याइ छ । ‘सक्षम नागरिकको उत्पादन हुन सकेमा समाज र सिंगो राष्ट्रको विकास हुनेछ । असल र क्षमतावान व्यक्तित्वले मात्र मुलुकलाई सही नेतृत्व दिन सक्छ ।
यस्ता नेतृत्व निर्माणमा जेसीज जस्ता संस्थाको महत्वपूर्ण हात रहेको छ,’ उनले भने । सकारात्मक सोच र रचनात्मक काम गर्ने जेसीज सहर केन्द्रितमात्रै नभएर ग्रामीण क्षेत्रतिर पनि फैलन आवश्यक रहेको प्रदेश प्रमुख भट्टको सुझाव छ ।
लेडी जेसीजले ७ दिनसम्म मनाउन लागेको अभिभावक अभिमूखीकरण तथा सचेतना कार्यक्रम, वृहत निःशुल्क स्वास्थ्य शिविर, महिलाका लागि साइबर अपराधसम्बन्धी सचेतना तथा क्षमता अभिवृद्धि तालिम, उद्यमशीलता सौन्दर्यतासँगै खानपान सम्बन्धी तालिम, वृक्षारोपण र सरसफाई कार्यक्रमको शुभकामना पनि दिए । कार्यक्रममा पोखरा लेडी जेसीजकी अध्यक्ष गायत्री फुयाँल लगायतले बोलेका थिए ।









मुस्ताङमा प्रादेशिक अस्पताल भवन
‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
राजनीतिक एकता : पदको भागबन्डा कि व्यवस्थागत परिवर्तनको अवसर
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया