पत्रकार नेपाल पुरस्कृत, फिल्मकर्मी शेरचन सम्मानित

समाधान संवाददाता २०८१ जेठ २० गते १२:३५

पोखरा ।

Advertisement


पत्रकार विजय नेपाल ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार–२०८०’ बाट पुरस्कृत भएका छन् । अग्रज फिल्मकर्मी विनोद शेरचन सम्मानित भए ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीको शनिबार छैटौं साधारणसभा जितप्रसाद द्वा चलचित्र पत्रकारिता २०८० अर्पण तथा सम्मान कार्यक्रमको अवसरमा पोखराका मेयर धनराज आचार्यले पत्रकार नेपाललाई नगद ३५ हजार र सम्मानपत्रसहित पुरस्कृत गरे ।

Advertisement


पाल्पा जिल्लाको रिब्दीकोट–७, मैनादीका नेपाल २० वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । संघका पूर्वसहसचिव उनी हाल राजधानी र आदर्श समाज दैनिकमा कार्यरत् छन् । यसअघि सो पुरस्कारबाट श्रीराम सिग्देल, रेम विक र राजाराम पौडेल सम्मानित भएका थिए । यसअघि, २५ हजार रहेकोमा यसपालि पुरस्कार राशि १० हजार थप भएको हो ।


सो अवसरमा फिल्म क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पोखरा १० निवासी शेरचनलाई संघले सम्मान गरेको हो । २०४५ सालमै फिल्म निर्माणमा लागेका शेरचनका कन्यादान, तृष्णा, बादलपारि, दुनियाँ चलेका फिल्म हुन् ।

Advertisement


प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा फिल्म छायांकनका लागि खुला स्टुडियो भएको बताए । विशेष अतिथि चलचित्र पत्रकार संघ नेपाल अध्यक्ष समीर बलामीले संघका देशभर १५ शाखामध्ये कास्की सबैभन्दा सक्रिय रहेको बताए ।


संघ कास्की अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा भएको समारोहमा पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिना ‘पगेनी’, महासंघ गण्डकी महासचिव गोविन्द सुवेदी, महासंघ कास्की अध्यक्ष बिमला भण्डारी, प्रतिभा छनोट समिति संयोजक एवं संघ सल्लाहकार सुरेश रानाभाट, कास्की शाखा संस्थापक अध्यक्ष श्रीराम सिग्देल, निवर्तमान अध्यक्ष अरुण गिरी, जितप्रसाद द्वाका नाति एवं संघका सल्लाहकार समेत रहेका निकेश द्वा, पुरस्कृत व्यक्तित्व विजय नेपाल तथा सम्मानित विनोद शेरचनलगायतले बोलेका थिए ।

कार्यक्रम सञ्चालन सचिव सन्तोष बस्यालले गरे । सो अवसरमा संघले सहयोगीहरुलाई प्रशंसापत्र प्रदान गरेको छ । साधारणसभाले सचिव सन्तोष बस्याल र कोषाध्यक्ष सुरक्षा श्रेष्ठको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । २०६० असार २२ सालमा स्थापना भएको संघ कास्कीमा ५५ सदस्य छन् ।

तपाईको प्रतिक्रिया