दुजिक ठेलो विजेता
पोखरा ।
तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय परम्परागत ठेलो खेलमा स्याङ्जाका दुजिक थापा मगर च्याम्पियन भएका छन् । म्याग्दीको सदरमुकाम बेनीमा भएको प्रतियोगितामा १४.३१ मिटरमा फाल्दै उनी च्याम्पियन बनेका हुन् ।
पर्वतका किरण विक दोस्रो भएका छन् । उनले १४.२६ मिटरमा फाले भने पर्वतका राजेन्द्र हमालले १३ मिटर पर फाल्दै तेस्रो बने । च्याम्पियन भएका दुजिकले नगद १५ हजार, किरणले नगद १० हजार र राजेन्द्रले ५ हजारका साथमा मेडल, प्रमाणपत्र र ट्रफी हात पारे ।
गण्डकी प्रदेश अन्तर्गत रहेका विभिन्न मौलिक र परम्परागत खेलहरुको संरक्षण, प्रवर्धन र जर्गेना गर्न परिषदले ३ वर्षदेखि लगातार यस प्रकारका विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको छ ।
विजेता खेलाडीलाई पुरस्कार वितरण गर्दै बेनी नगरपालिकाका प्रमुख सुरतबहादुर केसीले समग्र म्याग्दीको खेल विकासका लागि यस प्रकारका प्रतियोगिता महत्वपूर्ण हुने उल्लेख गरे ।
उनले स्रोत अभावका कारण बेनी नगरपालिका भित्रका धेरै खेल पूर्वाधार निर्माण कार्य अधुरो रहेको जनाए । परिषदका सदस्य एवं परम्परागत तारा खेलका संयोजक योगेन्द्र शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा परिषदका कार्यकारी सदस्य दिलबहादुर गुरुङ, परिषदका सदस्य गिरमान गुरुङ, जिल्ला खेलकुद म्याग्दीका अध्यक्ष दिनेश केसी लगायतले विजेता खेलाडीलाई मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा १५ खेलाडी सहभागी थिए ।
तपाईको प्रतिक्रिया