सम्पादकीय—नयाँ दलमा पनि पुरानै रोग

समाधान संवाददाता २०८१ जेठ २२ गते ११:५८

गएको निर्वाचनले केही दलको हैसियत बदलिदियो । मधेसन नयाँ शक्तिका रुपमा जनमत पार्टी उदायो । पश्चिम तराईमा लक्ष्मण चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी जबर्जस्त शक्तिका रुपमा उदायो । धरान, धनगढी, काठमाडौं जस्ता ठूला सहरमै प्रमुख राजनीतिक दलका उम्मेदवारलाई हराएर स्वतन्त्र उम्मदवारहरु मेयरमा चुनिए । पुराना दल र उनीहरुको कार्यशैलीबाट वाक्क भएका जनताले विकल्पमा स्वतन्त्र र नयाँ दलहरुलाई अनुमोदन गरेका थिए ।

Advertisement

निर्वाचनयताको उनीहरुको कार्यशैलीले भने नयाँ दलहरुमा पनि जबजस्त पुरानै रोग देखिएको पुष्टि गरेको छ । यहासम्म कि उनीहरु बेलामा त्यस रोगको निदान गर्नतिर लागेकासम्म देखिन्नन् । अप्रत्यासित मत ल्याएर राष्ट्रिय राजनीतिमा आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले समकालीन राजनीतिको एक मुख्य पात्र बनेका छन् । सरकारमा उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि संसदीय छानबिन गर्न समिति बनेको छ ।


लामो समय नेपाली कांग्रेससहित विपक्षी दलहरुले लगातार संसद् अवरोध गरेपछि समिति बनेको हो । सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोपसहित विपक्षीहरुले लामिछानेमाथि छानबिन समितिको अडान लिदा संसद्ले महत्वपूर्ण विषयहरुमाथि छलफलसमेत हुन सकेन ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा गत १ जेठमा आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि विपक्षीहरुले अडान नछोडेपछि नीति तथा कार्यक्रममाथि छलफलै भएन । रास्वपा सभापति लामिछानेलाई यसपालि एमाले र माओवादीको साथ देखियो । उनीहरुको साथको अन्तर्य सत्ता समीकरण जोगाउनकै निम्ति रहेको बुझ्न गाह्रो पर्दैन । समिति बने पनि छानबिनले गति लिएको देखिएको छैन ।


अहिले पुराना दलहरुप्रति बढेको वितृष्णा देखाएर उदाएको नयाँ दल रास्वपासमेत पुरानै खेलमा फसेको देखिन्छ । सत्ताका निम्ति जे पनि गर्न तयार हुने पुरानै दलहरुको प्रवृत्ति स्वयं लामिछाने र नागरिक उन्मुक्तिमा पनि देखिएको छ । आमचुनाव भएको एक वर्षभित्रै दोस्रोपटक गृहमन्त्री सहित सरकारमा जानु, आफ्नो पद जानासाथ सरकारबाट हट्नु र फेरि सरकारमा जान हत्ते गर्नुले लामिछानेमा नयाँपन केही नरहेको पुष्टि गर्छ । श्रीमान् लक्ष्मण चौधरी र श्रीमती रञ्जिता श्रेष्ठबीच नागरिक उन्मुक्तिको विवाद केही मत्थर भएको छ तर साम्य भइसकेको छैन ।

Advertisement

अब श्रेष्ठ संघीय मन्त्री बन्ने चर्चा छ । सुदूरपश्चिममा नागरिक उन्मुक्तिका केही सांसद सत्ता पक्षमा केही सांसद विपक्षमा देखिएका छन् । जनजीवनका मुद्दा र वितृष्णालाई उठाएर जनमत बटुलेका यी दलप्रतिको आकर्षण घट्दै गएको देखिन्छ । व्यक्तिगत स्वार्थ र सत्ताका लागि जेसुकै कदम चाल्ने प्रवृत्ति नयाँ दलहरुमा पनि देखिनु चिन्ताको विषय हो । यो मामिलामा जनमत पार्टी भने पृथक देखिएको छ । जुन जोगी आए पनि कानै चिरेको भन्नै उखानकै निरन्तरतामा रास्वपा र जनमत रहेको कार्यशैलीले देखाएको छ ।

तपाईको प्रतिक्रिया