
जोमसोम ।
मनसुन सुरु भएसँगै यात्रुलाई बेनी जोमसोम बाटोमा ठाउँ ठाउँमा सास्ती सुरु भएको छ । ७४ किलोमिटरको यो सडक बिग्रने र भत्किने क्रम सुरु भएको छ ।
हिउँद याममा ठीकठाक हुने निर्माणाधीन बेनी जोमसोम सडक बर्सेनि बर्खायाममा कष्टकर हुन्छ । राष्ट्रिय गौरवको कोरला नाका जोड्ने यो सडकको म्याग्दी खण्डमा कमजोर भूगोलका कारण सडक विभिन्न खालका समस्या आउने गरेका छन् ।
नेपाली सेनाले म्याग्दी र मुस्ताङको सिमान काभ्रेभीरमा चट्टान काटेर ट्र्याक खुलाएकोमा कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले २०७३/०७४ देखि सडक स्तरोन्नति गर्दै आएको छ । बेनी—जोमसोम सडक ४ वटा प्याकेजमा कालोपत्रसहित विस्तार गर्न आयोजनाले ठेक्कामा लगाएको थियो ।
हालसम्म ५० किलोमिटर कालोपत्र भइसकेको आयोजनाले जनाएको छ । अब बेनी—जोमसोम सडकमा २४ किमी कालोपत्र गर्न बाँकी छ । बेनी—जोमसोम सडक खण्डको तेस्रो प्याकेज कैकुदेखि खन्तीसम्मको १९ किमी कालोपत्र गरी शर्मा गजुरमुखी जेभी कन्ट्रक्सनले आयोजनालाई हस्तान्तरण गरिसकेको छ भने बाँकी ३ वटा खण्ड निर्माणाधीन अवस्थामै छन् ।
सडक स्तरोन्नति भइरहँदा बर्खा याममा म्याग्दी खण्डका दर्जनौं स्थानमा बाढी, पहिरो र नदी कटानले सडक संरचनामा क्षति पु¥याउने गरेको छ । यो बेला मुस्ताङ यात्रा गर्ने पर्यटक तथा सर्वसाधारणले ठाउँ ठाउँमा सास्ती भोगिरहनुपर्ने बाध्यता छ ।
वर्खामा यात्रुले ठाउँ ठाउँमा बाढी, पहिरो र नदी कटानले सडक क्षति हुँदा गाडी फेर्नुपर्ने, बाटोमै बस्नुपर्ने, पर्खिनुपर्ने हुन्छ
म्याग्दीको काभ्रेभीरदेखि बेगखोलासम्मको सडकमा बाढी, पहिरो र नदी कटानले दुःख दिने गर्छ । त्यसो त मुस्ताङ र म्याग्दीको सिमानायता घाँसा पुछारदेखि मुस्ताङको मार्फासम्म पनि बाढी, पहिरो र नदी कटानले सडक संरचनामा क्षति गर्ने गरेको छ ।
मनसुनसँगै म्याग्दी खण्डमा परेको अविरल वर्षाका कारण म्याग्दीको गुइठेमा निरन्तर पहिरो खसिरहेको छ । गत हप्ता म्याग्दीको गुइठेमा सुख्खा पहिरो जाँदा मुक्तिनाथ दर्शन गरी फर्किएको भारतीय पर्यटक सवार कारमा क्षति भयो । भाग्यवश कारमा सवार ४ भारतीय पर्यटकको ज्यान जोगियो ।
उनीहरुलाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको थियो । सुख्खा पहिरोले सडकमा फसेको कारलाई आयोजनाको उपकरण झिकाएर बाहिर निकालिएको थियो । गत हप्ता नै म्याग्दी र मुस्ताङको सीमानामा पर्ने थाप्लाङ खोलामा बाढी आउँदा बेनी जोमसोम सडक ४ घण्टासम्म अवरुद्ध बन्यो । म्याग्दीको अन्नपूर्ण ३ रुप्से झरनामा बाढी आउँदा बेनी जोमसोम सडकको रुप्से बेलिब्रिज समेत जोखिममा पर्ने खतरा बढ्यो ।
रुप्सेको भयानक बाढीले मुस्ताङ आउजाउ गर्दै गरेका सवारी चालकसमेत त्रसित बने । यसै साता म्याग्दीको तिप्ल्याङ नजिकको सानो खोला बढेर सडक संरचनामा क्षति पुग्यो । त्यहाँ पनि आयोजनाको पहलमा ३ घण्टापछि डोजरले सडक सफा गरेर बाटो खुलाइयो । काभ्रेभीरमा आरसिसी सडक विस्तार गरिएको भए पनि अझै पनि त्यहाँ सडक भाँसिने र भत्किने जोखिम ज्यूँका त्यूँ छ ।
मुस्ताङको थासाङ स्थित कैकु खोला, लेते खोला र घरपझोङको मार्फा खोलामा बेमौसमी बाढी आउँदा सडकमा क्षति पुग्ने गरेको छ । बर्खायाममा ठाउँ ठाउँमा बाढी, पहिरो र नदी कटानले सडक क्षति हुँदा बेनी जोमसोम सडक पटक पटक अवरुद्ध हुन्छ । बेनी—जोमसोममा बर्खायामको यसास्ती अझै कति वर्ष झेल्नुपर्ने हो, यकिन छैन ।
बेनी—जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिंह शेरचनले बर्खायाममा बर्सेनि सडकमा बाढी, पहिरो र नदी कटानले दुःख दिइरहेको सुनाए । बेनी जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा २ बैसरी, कुनौउटो, रघुगंगा १ तिप्ल्याङ गाउँ आसपास, तातोपानी भीर, जलथले, गुइठे भीर, खाम भित्ता, लाटो खोला, रुप्से, काभ्रेभीर, मुस्ताङको कैकु, लेते खोला र मार्फा खोलामा बाढी, पहिरो र नदी कटानले समस्या हुने गरेको छ ।
पर्यटक तथा सर्वसाधारणले सवारी साधन परिवर्तन गर्नुपर्ने, कतिपय स्थानमा जोखिम मोलेर पैदलयात्रा गर्नुपर्ने, गन्तब्य पुग्न नसकी बाटोमै अलपत्र पर्नुपर्ने समस्या आउने गरेको छ । मुस्ताङका लागि ल्याइएका खाद्यान्न तथा निर्माण सामग्रीसमेत सडक अवरुद्ध हुँदा ढुवानीमा समस्या पर्ने गर्छ ।
उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत निर्माणाधीन सडकको काम भइरहेको भए पनि बर्सेनी बर्खायाममा बाढी, पहिरो र नदी कटानको समस्याले सडक निर्माणको कामले अपेक्षाकृत गति लिन नसकेको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईले उल्लेख गरे ।
बेनी—जोमसोम सडक अन्तर्गत म्याग्दी खण्डमा बढी मात्रामा पानी पर्ने र जमिनको सतह कमजोर हुँदा सडक आवागमनमा समस्या गर्ने गरेको छ । बेनी जोमसोम सडक लागि दीर्घकालीन सडक स्तरोन्नतिको मोडालिटी तयार भएमात्रै बाह्रै महिना मुस्ताङको यात्रा सुरक्षित हुने सरोकारवाला बताउँछन् । यो सडकको ८२ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाले सडक तथा पुलपुलेसातर्फ ६ वर्षको अवधिमा ७ अर्ब ५ करोड खर्च गरिसकेको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया