आज विश्वासको मत लिँदै मुख्यमन्त्री

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाबाट आज विश्वासको मत लिँदै छन् । सर्वाेच्चको परमादेशबमोजिम जेठ १६ मा मुख्यमन्त्री नियुक्त भएका पाण्डे नेतृत्वको सरकारले विश्वासको लिने प्रयोजनका लागि सोमबार दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे नेतृत्वको सरकारले बजेटअघि नै विश्वासको मत लिने भएको हो । त्यसका लागि सरकारले शुक्रबार गण्डकी प्रदेशसभामा यसबारे जानकारी दिएको थियो । संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री बनेका पाण्डेसँग अहिलेसम्म कांग्रेसका २७ सांसदको मात्र समर्थन छ ।
६० सदस्यीय सदनमा विश्वासको मतका लागि ३१ सांसदको समर्थन चाहिन्छ । त्यसका लागि सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका २, स्वतन्त्र सांसद १ र अर्का १ सांसदको पनि समर्थन जुटाउनुपर्छ । संघको सत्ता गठबन्धनबाहेकलाई समर्थन गर्न सकिने निर्णय गरेको राप्रपाले गण्डकीबारे निर्णय लिइसकेको छैन ।
राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले पार्टी केन्द्रको निर्देशनअनुसार राप्रपा सदनमा प्रस्तुत हुने बताउँछन् । सरकारबारे निर्णय गर्ने अधिकार भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीको बैठकले दिएको थियो ।
असार १ गते बजेट ल्याउनैपर्ने वाध्यता र त्यसअघि नीति तथा कार्यक्रम पेश गरी पारित गर्न विश्वासको मत लिनैपर्ने अवस्थामा सरकार छ । पाण्डे नेतृत्वको सरकारले विश्वासको मत नपाए मुख्यमन्त्री पाण्डे पदमुक्त हुने छन् । त्यसपछि गण्डकीमा संविधानको धारा १६८ को (५) बमोजिम सरकार बन्ने अवस्था आउँछ ।
सोमबारको सदनको कार्यसूचीलाई दृष्टिगत गरी गण्डकी प्रदेशसभाका प्रमुख दलहरुले ह्विप जारी गरेका छन् । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई ह्विप जारी गरेका हुन् ।
पाण्डे सरकारले बहुमत अर्थात् ३१ सांसदको समर्थन जुटाउन राप्रपासहित स्वतन्त्र सांसद दीपक मनाङे र अर्का एक सांसदको समर्थन पनि जुटाउनुपर्ने हुन्छ । राप्रपाले मत दिने निर्णय लिएको खण्डमा मनाङेले सहजै मत दिने अनुमान सत्ता पक्षको छ । त्यसो हुँदा मुख्यमन्त्रीलाई माओवादी केन्द्रको चुनावचिह्नबाट विजयी भएका फणीन्द्र देवकोटाको आश छ ।
एमाले र माओवादीबाहेक सबै सांसदको समर्थन पाए पनि पाण्डे सरकारले विश्वासको मत पाउने अवस्था छैन । माओवादी सचेतक कुसुम बुढा पुन आफूहरु सदनमा उपस्थित हुने र विपक्षमा मतदात गर्ने बताउँछिन् । ‘हामी सदनमा उपस्थित भएर विपक्षमा मतदान गर्छाैं,’ उनले भनिन्, ‘फणीन्द्र माननीयले बैठकमा उपस्थित भएर ह्विप जारी भएको पत्र लिएर जानुभएको छ । उहाँले गैरसंसदीय काम गर्नुहोला भन्ने हामीलाई पटक्कै लाग्दैन ।’








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया