माओवादीका देवकोटाले फ्लोर क्रस गरेपछि गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

समाधान संवाददाता २०८१ जेठ २८ गते १६:५१

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार राखेको विश्वासको मत सम्बन्धी प्रस्ताव गण्डकी प्रदेश सभाको बहुमतले पारित भएको छ ।

Advertisement


मुख्यमन्त्रीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावका पक्षमा ३१ सांसदको मत परेको हो  । पाण्डेको पक्षमा कांग्रेसका २७, २ सांसद रहेको राप्रपा, स्वतन्त्र १(राजीव गुरूङ) र माओवादी संसदीय दलका सदस्य रहेका एक सांसद फणीन्द्र देवकोटाले पनि मतदान गरेका हुन् । देवकोटा भने बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता हुन्, उनले निर्वाचनमा माओवादीको चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गरेका थिए । देवकोटाले संसदीय दलको ह्विप उल्लंघन गर्दै फ्लोर क्रस गरी पाण्डेलाई विश्वासको मत दिएका हुन् ।

माओवादी संसदीय दलले पाण्डेको विपक्षमा मत दिन आइतबारै ह्विप जारी गरेको थियो ।
पाण्डे जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संपैधानिक व्यवस्था अनुसार उनले सोमबार त्यससम्बन्धी प्रस्ताव राखेका थिए ।

मुख्यमन्त्री पाण्डेले राखेको प्रस्ताव बहुमतबाट पारित भएको सभामुख कृष्णप्रसाद धितालले गरेका हुन् । पक्षमा ३१ र विपक्षमा २८ मत परेको थियो ।

अब मत विभाजनका आधारमा विश्वासको मत सम्बन्धी प्रस्तावको छिनोफानो भएको हो । गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीको दल कांग्रेसका २७, एमालेका २२ माओवादीका ७, राप्रपाका २ र १ स्वतन्त्र सांसद छन् ।
असार १ गते प्रदेश सरकारले आउँदो वर्षको बजेट ल्याउनुपर्ने वैधानिक व्यवस्था छ ।

Advertisement

तपाईको प्रतिक्रिया