जग्गा कारोबारकै आधारमा रजिस्ट्रेसन शुल्क लिइने
बाँदर धपाउन कृषि हेरालोको व्यवस्था गर्ने

पोखरा ।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबारको प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिइएको छ ।
मालपोतमा हुने जग्गा किनबेच कारोबारको आधारमा रजिस्ट्रेसन शुल्क कायम गरी राजस्व संकलनको दायरा अभिवृद्धि गर्ने भएको छ । घरजग्गाको न्यूनतम मूल्यांकन र बजार मूल्यमा हुने कारोबारको अन्तर कम गर्दै उपलब्धि हाँसिल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
अहिलेसम्म किनबेचको मूल्य र मालपोतमा देखाइने मूल्य फरक हुँदा राजस्व चुहावट भइरहेको छ । सरकारले किनबेचकै वास्तविक मूल्यका आधारमा राजस्व लिने भने पनि त्यसका लागि कस्तो विधि र प्रक्रिया अपनाउने भन्ने खुलेको छैन ।
प्रदेश सरकारले मालपोत राजस्वबाट आम्दानी गर्छ । अरु राजस्वका स्रोतको अधिकार प्रदेश सरकारहरुलाई छैन । आन्तरिक आम्दानी बढाउने उपाय स्वरुप प्रदेश सरकारले मालपोत राजस्वमा कारोबारकै आधारको राजस्व लिनसकेचाहिँ राजस्व आम्दानी वृद्धि हुने पक्का छ ।
राइड सेयरिङ, कम्प्युटर प्रोग्रामिङ, सफ्टवेयर निर्माण लगायत सेवालाई वैधानिक बनाउने व्यवस्था गर्ने
‘राजस्वको दायरा वृद्धि र कर संकलनलाई अनुमानयोग्य बनाउन राजस्व प्रशासनको नीतिगत र संरचनागत सुधार गरिनेछ । राजस्व संकलन गर्ने अन्तरतह र प्रदेशका निकायबीच सामञ्जस्यता कायम गरी आन्तरिक आयको अभिवृद्धि गरिनेछ,’ प्रदेश प्रमुख भट्टले भने ।
प्रदेश प्रमुख भट्टले ‘आत्मनिर्भर समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी’ भन्ने सोच प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाअनुसार विकास, निर्माणलाई अघि बढाइने सुनाए । नीति तथा कार्यक्रममा निजी एवं सार्वजनिक साझेदारीमा इन्भेस्ट गण्डकी कार्यक्रम चलाइने भएको छ । ‘लगानीमैत्री वातावरणका लागि लगानीकर्तालाई सरलीकृत रुपमा सेवा र सूचना प्रदान गर्न प्रदेश एकल बिन्दु सेवा केन्द्रको विकास गरिनेछ,’ भट्टले भने ।
गिग अर्थतन्त्रको सम्भावनालाई आत्मसात गर्दै राइड सेयरिङ, कम्प्युटर प्रोग्रामिङ, सफ्टवेयर निर्माण लगायत सेवालाई वैधानिक बनाउने व्यवस्था गर्ने गण्डकी सरकारको योजना छ ।
पर्यटनको राजधानी पोखरालाई प्रवर्धन गर्न ‘पोखरा जाऔं, प्रकृति र संस्कृतिसँग रमाऔं’ कार्यक्रम चलाइने भएको छ । सरकारले पर्यटन राजधानीको अवधारणालाई साकार पार्न नीतिगत सुधार र पर्यटनमैत्री वातावरण निर्माण गर्न पहल गर्ने भएको छ ।
प्रदेश अन्तर्गतका केही अस्पतालको स्तरोन्नति गर्ने लक्ष्य लिएको सरकारले आर्टिफिसियल इन्टेलिजेन्सबाट उच्च रक्तचाप, मधुमेह, मुटुरोग, मानसिक समस्यको अवस्था पत्ता लगाउन जाँच अभियान चलाउने भएको छ । योगका लागि स्थानीय तहको साझेदारीमा पोखरामा बृहत ध्यान केन्द्र स्थापना गर्ने नीति सरकारको छ ।
संघ र स्थानीय तहसँग समन्वय र सहकार्यमा प्रदेशको यातायात व्यवस्थापनलाई प्रभावकारी बनाइने प्रदेश प्रमुख भट्टले सुनाए । ‘पोखरामा सुविधा सम्पन्न बहुतले पार्किङ भवन निर्माण गर्ने कार्यलाई प्रोत्साहन गरिनेछ,’ उनले भने, ‘सार्वजनिक यातायातलाई सर्वसुलभ र विश्वसनीय बनाउन गुणस्तरीय तथा प्रतिस्पर्धी मास ट्रान्सपोर्टेसनको व्यवस्था सम्बन्धी अध्ययन गरिनेछ ।’
कृषि उत्पादन बढाउन माटो परीक्षण तथा मलको गुणस्तर नियमलाई प्रभावकारी बनाउन मोबाइल माटो अस्पताल चलाइने भएको छ । सरकारले बाँदर आतंकलाई सम्बोधन गर्ने भएको छ । नीति तथा कार्यक्रममा बाँदरको आंतकबाट अति प्रभावित क्षेत्रमा समुदाय, स्थानीय तह र प्रदेशको साझेदारीमा आवश्यकताका आधारमा कृषि हेरालोको व्यवस्था गर्न उल्लेख छ ।
आगामी वर्ष बाटो नपुगेका ठाउँमा कृषि उपज र कृषि सामग्री ओसारपसारका लागि ग्राभिटी रोपवे सञ्चालन गर्ने सरकारको योजना छ । ‘एक निर्वाचन क्षेत्र, एक प्रविधिमैत्री स्मार्ट कृषि फार्म’ सञ्चालन गरी त्यसमार्फत सामूहिक एकीकृत कृषि विकास कार्यक्रम गर्न लक्ष्य लिइएको छ ।
बाँझो जग्गालाई उपयोग गर्न ‘प्रदेश सरकारको साझेदारीः बाँझो रहन्न खेतबारी’ भन्ने अभियान चलाइने नीति तथा कार्यक्रममा उल्लेख छ । बाँझो जग्गामा खाद्यान्न, फलफूल, तरकारी, घाँसेबाली, गाँजा आदि उत्पादनलाई प्रोत्साहन गरिनेछ । त्यहाँबाट उब्जिने कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोकी कृषि बजारको सुनिश्चितताका लागि बहुसरोकारवालासँग सहकार्य गर्ने योजना छ ।
एक वडा, एक उत्पादनलाई प्रोत्साहन गर्दै नमुनाका रुपमा छानिएका केही गाउँलाई अर्गानिक गाउँको रुपमा विकास गर्ने नीति लिइने भएको छ । अर्गानिक गाउँबाट उत्पादित वस्तुलाई बजारमा जोड्न पहल गरिने भएको छ । सार्वजनिक निजी साझेदरीमा पशु वधस्थल निर्माण गरिने भएको छ ।
नीति तथा कार्यक्रममा प्रदेशअन्तर्गतका सहकारीको तथ्यांक संकलन गरी प्रभावकारी नियन्त्रणको व्यवस्था गर्ने उल्लेख छ । खाली र बाँझो जग्गामा फलफूलसहितको कृषि वन प्रणाली विकास गरिने भएको छ ।
गोरखाको आँपपीपल अस्पताल र बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक स्तरको अस्पतालका रुपमा सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रम पनि प्रदेश प्रमुख भट्टले सुनाए । ‘विशेषज्ञ र विशिष्टीकृत स्वास्थ्य सेवालाई विकास र विस्तार गर्न मनाङ र मुस्ताङ अस्पताललाई २५ शैड्ढया, पर्वत, स्याङ्जा, दमौली, मध्यबिन्दु र मातृशिशु मितेरी अस्पताललाई ५० शैय्या क्षमतामा र अमरापुरी स्वास्थ्य चौकी, गैंडाकोटलाई स्तरोन्नति गर्न पहल गरिनेछ,’ उनले भने, ‘गह्रौँ घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र, वालिङ र भीरकोट नगर अस्पताल, हेलुलाई प्रदेश अन्तर्गत ल्याउन पहल गरिनेछ ।’
गोरखाको चुमनुब्री र मनाङको नार्पा भूमि गाउँपालिकाको प्रशासनिक केन्द्रलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने कार्यलाई प्राथमिकता दिइने पनि प्रदेश प्रमुख भट्टले सुनाए । ‘प्रदेशको प्राथमिकतामा रहेका उत्तर–दक्षिण सडक अन्तर्गतको भीमाद–डेढगाउँ–झ्यालवास–चोरमारा–दुम्कीवास–त्रिवेणी खण्ड र मनाङ मस्र्याङ्दी सडक आयोजनालाई सम्पन्न गर्न विशेष जोड दिइनेछ,’ उनले भने, ‘शालिग्राम तथा ज्याग्दी करिडोर, आँधीखोला करिडोर र बुद्धसिंह मार्ग निर्माण कार्यलाई प्राथमिकता दिइनेछ ।’








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया