विजयपुरकाे बेलिब्रिज आजदेखि पूर्णरुपमा सञ्चालनमा आउने

समाधान संवाददाता २०७६ साउन १२ गते ११:३६

समाधान संवाददाता
पोखरा

पृथ्वीराजमार्ग हुँदै पोखराको मुख्य बजार भित्रिने विजयपुरमा बेलिब्रिज (पुल) निर्माण सम्पन्न भएको छ । विजयपुरमा रहेको स्टिल ब्रिज जीर्ण बनेपछि विकल्पमा उक्त पुल निर्माण थालिएको थियो । बेलिब्रिजको सम्पूर्ण निर्माण सकेर शनिबार दिउँसोदेखि नै सवारी आउजाउका लागि सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेलले जानकारी दिए ।

‘शनिबार दिउँसो ४ बजेदेखि बेलिब्रिज सञ्चालनमा ल्याएका छौं । पुलमाथि गाडी गुडाएर प्रेसर (चाप) नाप्ने कामसमेत भएको छ,’ उनले भने, ‘आइतबारदेखि पूर्ण रुपमा सञ्चालनमा ल्याउँछौं । ठूला गाडी एकैपटक आउजाउ हुँदा सुरुमै समस्या देखिन पनि सक्छ ।’ ५० मिटर लम्बाइमा २ लेनको पुल सञ्चालनमा आएको छ । पुलबाट ३५ टनभन्दा माथिका मालवाहक सवारीलाई भने आउजाउमा रोक लगाइने उनले बताए । पुलको भारवहन क्षमताले थेग्न सक्ने सवारी साधनमात्रै प्रवेश गराइने पोखरेलले जानकारी दिए ।

Advertisement

नेपालमा सिंगल लेनको अत्यधिक प्रयोग हुँदै आएको भए पनि डबल लेनको बेलिब्रिज पहिलोपटक विजयपुरमा प्रयोगमा ल्याउन लागिएको उनले बताए । झन्डै १५ दिन बढी समय लगाएर फिटिङ सकिए पनि पुलबाट सवारी पास गराउन दुवैतर्फको मोड मिलाउन १ हप्ता लागेको थियो । पहिलो चरणमा पुलको दुवैतर्फ ग्राभेल हालिएको छ । ग्राभेल राम्रोसँग सेट भइसकेपछि मात्र पिच गरिने भएको छ । सञ्चालनमा आएको १ दशकमै स्टिलब्रिज भाँच्चिएपछि सडक डिभिजन कार्यालय पोखराले बेलिब्रिज राख्ने प्रक्रिया अघि बढाएको थियो ।

सगरमाथा÷जेजे (जेभी) ले ठेक्का पारेर गएको वैशाख २२ गते सम्झौता भई बेलिब्रिजको निर्माणको काम अघि बढाएकोे थियो । सडक डिभिजन अन्तर्गत पूर्वको इटहरीमा थन्किएर रहेको बेलिब्रिज विजयपुरमा ल्याई फिटिङ गरिएको हो ।

Advertisement

कम्पनीसँग असारमसान्त भित्रै बेलिब्रिजको सम्पूर्ण काम सकेर हस्तान्तरण गर्ने सम्झौता भएको थियो । निरन्तर वर्षाका कारण खोलाबाट बेस उठाउने काम प्रभावित हुँदा समयमै नसकिएको डिभिजन कार्यालयले जनाएको छ । २ करोड २० लाख रुपैयाँ लागतमा उक्त कम्पनीले बेलिब्रिज निर्माण ठेक्का पाएको थियो । यो अस्थायी प्रकृतिको पुल हो ।

जीर्ण बनेको स्टिलब्रिजबाट १० टनभन्दा माथिका सवारी ४ महिना अघिदेखि आउजाउमा निषेध लगाइएको थियो । मालवाहक गाडी पास गराउन खोलामा ह्युमपाइप राखी डाइभर्सन गरिएको भए पनि १ साता अघि खोलामा आएको बाढीले क्षति पु¥याएपछि मालवाहक सवारी पासमा समस्या थियो ।

तपाईको प्रतिक्रिया