सरस्वती प्रतीक्षाको ‘स्व’ सार्वजनिक

समाधान संवाददाता २०८१ असार २ गते ११:१६

पोखरा ।
साहित्यकार सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ शनिबार काठमाडौंमा सार्वजनिक भएको छ । ‘बुकहिल पब्लिकेसन प्रालि’ले आयोजना गरेको कार्यक्रममा उपन्यासकार प्रतीक्षा र साहित्यकार सगुना शाह र घनश्याम खड्काले संयुक्त रुपमा उक्त उपन्यास सार्वजनिक गरेका हुन् ।

Advertisement


उपन्यासमा वर्तमान मानिसभित्रका बेचैनी, अशान्ति, बेखुसी र अन्तरद्वन्द्वका एक र अनेक कथा तथा आफू आफैँसँग नहुँदा र आफू–आफूजस्तो नहुँदाका घटना तथा दुर्घटनालाई समावेश गरिएको छ । ‘मूल कथामा बौद्ध मार्गप्रतिको प्रेम छ, तथापि मौलिक अनुभव र अनुभूतिको बलमा आफूले आफैँलाई खोजिरहँदाका आरोह–अवरोहले उपन्यासको कथालाई चित्ताकर्षण र बलियो बनाएको छ’, प्रतीक्षाले भनिन् ।


उपन्यास पढ्दै गर्दा हरेक पाठकले आफूलाई उपन्यासको मात्रै नभई अस्तित्व–खोजको नायकका रुपमा पाउने उनको भनाइ छ । लेखकद्वय शाह र खड्काले सरल भाषाशैली, कथाको प्रस्तुतीकरण र शिल्पसहितको लेखनका कारण ‘स्व’ उपन्यासले पाठकको मन जित्न सफल हुने विश्वास व्यक्त गरे । यसअघि लेखिका प्रतीक्षाको ‘नथिया’ उपन्यास सार्वजनिक भएको थियो । प्रतीक्षाका यसअघि तीन कविता सञ्चयन प्रकाशित छन् ।

तपाईको प्रतिक्रिया