इन्टर स्कुल ब्यान्ड कम्पिटिसनमा १ लाख पुरस्कार
भदौमा हुने प्रतिस्पर्धाका लागि फारम भरेकाहरुले भिडियोमार्फत डिजिटल अडिसन दिनुपर्ने

पोखरा ।
पोखरामा भदौ दोस्रो साता इन्टर स्कुल ब्यान्ड कम्पिटिसन हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा आगामी भदौ १४ र १५ गते खुला इन्टर स्कुल ब्यान्ड कम्पिटिसन हुने शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । २ दिनसम्म हुने कार्यक्रम पोखरा सभागृह हलमा हुने जनाइएको छ ।
प्रतियोगिताको उपाधि विजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपविजेतालाई नगद ५० हजार र तेस्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, बेस गिटा, उत्कृष्ट ड्रमर, पब्लिक च्वाइस र जज च्वाइसलाई पनि नगद ५/५ हजारसहित प्रमाणपत्र प्रदान गरिने पोखरा सांगीतिक कलाकार संघका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए ।
‘शिक्षासँगै संगीत’ भन्ने नाराका साथ हुने प्रतियोगितामा कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष तथा प्रतियोगिता संयोजक हर्कराज गुरुङ (भाइ)ले जानकारी दिए । पहिलो संस्करणमा इन्टर कलेज ब्यान्ड कम्पिटिसन आयोजना गरेको संघले यसपटक प्रतियोगितालाई परिमार्जन गर्दै इन्टर स्कुल ब्यान्ड कम्पिटिसन गर्न लागेको उनले प्रष्ट्याए ।
‘स्कुल र कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा गराउँदा लेभल मिलेन,’ उनले भने, ‘त्यसैले यस पटकदेखि विद्यालय स्तरीय प्रतियोगिता गर्ने निर्णय ग¥यौं,’ उनले भने । ग्रास रुटबाटै कला र संगीतका प्रतिभा खोज्ने र उनीहरुको प्रतिभा निखार्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाइ छ ।
प्रतियोगितामा सहभागिताका लागि स्कुल लेभलका ब्यान्डहरुले फारम भर्नुपर्ने संघले जनाएको छ । फारम भरेकाहरुले भिडियोमार्फत डिजिटल अडिसन दिनुपर्ने र सो प्रस्तुतिका आधारमा छनोट गरिने संघका अध्यक्ष गुरुङले जानकारी दिए ।
त्यसपछि फिजिकल अडिसन दिनुपर्ने र सो राउन्डमा स्कुल ब्यान्डहरुले गण्डकी प्रदेशका सर्जकहरुको गीत प्रस्तुत गर्नुपर्ने प्रावधान राखिएको छ । त्यसमा छनोट भई फाइनलमा पुगेकाहरुले एउटा मौलिक र अर्को गण्डकी प्रदेशका सर्जकहरुको गरेर २ वटा गीत प्रस्तुत गर्नुपर्ने प्रावधान राखिएको अध्यक्ष गुरुङले बताए । सोही प्रस्तुतिका आधारमा विजेता, उपविजेतालगायतको घोषणा गरिने उनको भनाइ छ ।
प्रतियोगिताले पोखराको सांगीतिक माहोल तताउँदै ब्यान्डहरुलाई पुनःजागृत गराउने संघको विश्वास छ । प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा शिक्षासँगै सांगीतिक माहोल सिर्जना गर्न वातावरण बनाउने अध्यक्ष गुरुङले बताए । ‘सुस्ताएको सांगितीक क्षेत्रलाई उठाउने प्रयास हो । यसमा व्याण्डले सबै विधामा प्रस्तुति दिन सक्छन्,’ उनले भने ।
संघका सचिव भाष्करध्वज श्रेष्ठले ९० को दशकमा पोखरा ब्यान्डहरुको राजधानी भनेर चिनिएको भन्दै सो पुरानो विरासत फर्काउन प्रतियोगिता कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे । यसले संगीत सिर्जनामा लाग्न प्रेरणा र दवाब पुग्ने उनको धारणा छ । मानसिक स्वास्थ्य सुधार्न पनि कार्यक्रमले सघाउने उनको भनाइ छ ।
पत्रकार सम्मेलनमा सहभागी प्याब्सन कास्कीका अध्यक्ष मथुरा पौडेलले स्कुल स्तरमा संगीतको माहोल बनाउन प्रतियोगिता सहयोगी भएको बताए । ‘स्कुलमा संगीत पहिले पनि सिकाउने गरिन्थ्यो,’ उनले भने, ‘तर सिकाएको परिणाम कस्तो छ भन्ने थाहा हुँदैनथ्यो ।
प्रतियोगिताले हाम्रो स्तर र सुधार्नुपर्ने कुरा उजागर गरेको छ । यसले स्कुलमा संगीतको माहौल बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।’ उनले प्रतियोगिताका लागि प्याव्सन कास्कीले न्यूनतम ५० हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमापनि सहयोगलाई निरन्तरता दिने बताए ।
तपाईको प्रतिक्रिया