बगरको क्यानभासमा जीवनका रङहरु

समाधान संवाददाता २०८१ असार ५ गते १४:५४

पोखरा ।
बगरमा चम्किला र रंगीन ढुंगा, माथि जमिनमा पालुवाले हरिया बनेका रुखहरु, आकासमा गाढा नीलोपन । पोखरा, रामघाटमा अचेल उम्दा कलाकारले घन्टौं लगाएर क्यामेरामा कैद गर्ने ल्यान्डस्केप चित्रजस्तो प्रकृति छ । यस्तो मोहक परिवेशमा त्यहाँ सोमबार बिहान जीवन र मानव सभ्यताका आरोह–अवरोह र समकालीन परिवेश बुझाउने कला प्रदर्शन गरियो ।

Advertisement


बगरमै भेटिएका ढुंगा, काठ, विरुवामा केही अरु वस्तु थपेर १६ कलाकारले ती कला बनाएका हुन् । शनिबारबाट सुरु भएको वातावरणीय प्रतिस्थापन कला कार्यशालामा सहभागी कलाकारले बनाएका कलाकृति दर्शकले चाख मानेर हेरे ।


नदी किनारबाटै मानव सभ्यता विकास भएको इतिहास छ । सेती किनारमा कलाकार सरद भण्डारीले आफ्नो कलामा गुफा, शिकारका सामग्री, त्यो बेला प्रयोग हुने हतियार र जीवन बुझाउने कला तयार गरे ।


रामघाट पोखरा क्षेत्रको अन्तिम संस्कार गर्ने प्रमुख स्थल हो । त्यही परिवेशलाई मनन गर्दै धेरै कलाकारले जीवनदेखि मृत्युसम्मका परिस्थिति र सभ्यतालाई कलामा उतारेको बताउँछिन् नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी परिषद सदस्य सौरगंगा दर्शनधारी । वास्तु तथा अन्य सिर्जनात्मक (बहुआयामिक)कला बिभाग प्रमुखसमेत रहेकी दर्शनधारीले आफूले कला बनाउँदा प्रयोग गरेका ढुंगाहरु बोकेरै राजधानी फर्किएकी छन् ।


‘बगरका ढुंगामा रेखाहरु थिए । साना ठूला ती ढुंगाका रेखालाई जीवनको रेखाका रुपमा कला बनाएकी थिए,’ उनी भन्छिन्, ‘मेरा लागि ती ढुङ्ग अमूल्य बने, बोकेर सडकसम्म ल्याएँ, लिएरै राजधानी जाँदै छु ।’ उहाँले रामघाटमा भएको प्रदर्शनीलाई क्याटलग र तस्बिरसहित दस्तावेजीकरण गर्नेसमेत उल्लेख गरिन् ।

Advertisement


नेपालमा चित्रहरु बिक्री हुन्छन् तर प्रतिस्थापन कलाबाट आर्जन गर्न सकिने अवस्था छैन । राम्रो अवधारणासहितका कलालाई विमानस्थल, होटल, चौर जस्ता ठाउँमा राख्न सकिन्छ । वातावरणीय प्रतिस्थापन कला नेपालमा सन् १९९४ तिर सुरु भएको हो । पोखराका अग्रज कलाकार बुद्धि गुरुङ त्यस बेला लुम्लेमा सुरु भएको प्रतिस्थापन कला प्रदर्शनीमा वङ्गलादेशी, काठमाडौं र पोखरेली कलाकार सहभागी भएको सम्झना गर्छन् ।


दोस्रो जनआन्दोलनताका पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा सूत्रले आयोजना गरेको प्रतिस्थापन कला कार्यशालामा १५ दिन लगाएर कलाकारले चित्र बनाएका थिए । त्यो बेला कलाकार दुर्गा बराल ‘वात्स्यायन’ले रातो कपडामा बनाएको रगत बग्दै गरेको कलाले निकै चर्चा पाएको थियो । ‘त्यो बेला १६ दिन लाएर बनाएका कला एक हप्तासम्म देखाइएका थिए । पछिल्लो समय यसका गतिविधि निकै कम भएका छन्,’ कलाकार गुरुङ भन्छन् ।


दुई दिने यो कार्यशालाले पोखरेली कलाकारलाई नयाँ ऊर्जा दिएर नयाँ सम्भावनासमेत देखाएको जनाउँछन् सिर्जनशील कलाकार समूहका कार्यवाहक अध्यक्ष डिबी गुरुङ । बेला बेलामा प्रतिस्थापन कला कार्यशाला गर्ने संस्थाको योजना छ ।

कला प्रदर्शनी हेर्न रामघाट पुगेका गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ प्रतिस्थापन कलाको गहिराई र पृथकपनले मन छोएको उल्लेख गरे । उजले कलाकारहरु यस्ता सिर्जनात्मक गतिविधि गर्न अग्रसर भए प्रतिष्ठान सघाउन तयार रहेकोसमेत सुनाए ।

तपाईको प्रतिक्रिया