पर्यटन राजधानीको दायरा फराकिलो हुनुपर्नेमा जोड

समाधान संवाददाता २०८१ असार १६ गते १३:२५

गण्डकी ।
पर्यटन राजधानीको दायरालाई सङ्कुचनमा नराखी फराकिलो बनाउनुपर्नेमा जोड दिइएको छ । बिहीबार पोखरामा महानगरपालिका सहरी योजना आयोगको आयोजना एवं ‘युएसएआइडी टि एन्ड सी’ को सहयोगमा आयोजित कार्यक्रमका सहभागीले पर्यटन राजधानीको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिएका छन् ।

Advertisement


पर्यटन राजधानी पोखरामा रणनीतिक कार्ययोजनाको प्रतिवेदन मस्यौदाको प्रस्तुति र सरोकार भएकाबीच छलफलका वक्ताले दायरा फराकिलो बनाउने गरी योजना तयार गर्न सुझाव दिएका हुन् । कार्ययोजनाको प्रतिवेदन मस्यौदा प्रस्तुत गर्दै डा प्रनिल उपाध्यायले सो सम्बन्धमा सरोकार भएकालाई सुझावका लागि आग्रह गरेका थिए ।


कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्य भएको बताउँदै यी सम्पदालाई जोगाएर सपनाको सहरका रुपमा विकास गर्न सकिने उल्लेख गरे । पर्यटन राजधानीलाई सङ्कुचनमा नराखी ग्रेटर पोखराको अवधारणाका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए । पोखराको पर्यटन प्रवर्धनलाई लक्ष्य गर्दै ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गरिएको प्रमुख आचार्यले सुनाए ।

Advertisement


नेपाल पर्यटन यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशका पूर्वअध्यक्ष बोबरजङ्ग गुरुङले पर्यटन राजधानीको रणनीतिक कार्ययोजना महानगरका ३३ वटा वडामा मात्रै सीमित हुन नहुनेमा जोड दिए । पोखरासहित समग्र प्रदेशमा धेरै पर्यटकीय गन्तव्यको सम्भावना रहेको बताउँदै उनले ती सम्भावनालाई उजागर गर्न सुझाव दिए ।


जथाभावी बाटो खन्ने नाममा पदमार्ग मासिँदै गएको अवस्थामा संघले गुरुङ जातिको उद्गमस्थल क्होलासोँथरसँगै प्राचीन बस्तीलाई समेट्दै गुरुङ सम्पदा पदमार्गको प्रवर्धन गरेकामा गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष गुरुङले धन्यवाद ज्ञापन गरे ।

Advertisement


गुरुङहरूको प्राचीन बस्ती ताङतिङबाट करापुडाँडा–ताप्रो–क्होलासोँथर–ठूलो लेक–थुर्जु–दूध पोखरी–गुरुङ देउराली–डाँफे खर्क–तिमाङ हुँदै बेँसीसहरसम्मलाई समेटेर गुरुङ सम्पदा पदमार्गका रुपमा विकास गर्न खोजिएको बताउँदै उनले त्यसलाई पर्यटन राजधानीको रणनीतिक कार्ययोजनामा समेट्न आग्रह गरे ।


पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा भित्रने पर्यटकको यकिन तथ्यांक संकलनका लागि नाकानाकामा सूचना केन्द्र राख्नुपर्नेमा जोड दिए । पोखरा महानगरपालिकाका होमस्टे व्यवस्थापन समितिका संयोजक उदय सुवेदीले शाहवंशीय इतिहासको उद्गमस्थल कास्कीकोटबाट कास्की जिल्लाको पनि नामकरण भएको बताउँदै यस्ता गन्तव्यलाई समेट्नुपर्ने धारणा राखे ।

पहिलो हिमाल आरोहण भएको दिन ‘अन्नपूर्ण डे’ लाई क्यालेन्डरमा समेटेर जानुपर्ने


बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारीले कुनै पनि योजनाको सफलताका लागि सम्बद्ध सबैबीच सहकार्य र एकता जरुरी रहेको औंल्याए । टान गण्डकी अध्यक्ष धर्मराज पन्थीले पदयात्रा पर्यटनको विकासका लागि पोखरा आसपासका पदमार्गलाई व्यवस्थित गर्नुुपर्नेमा जोड दिए । पर्यटन राजधानीको प्रवर्धनका लागि पहिलो हिमाल आरोहण भएको दिन ‘अन्नपूर्ण डे’ लाई क्यालेन्डरमा समेटेर जानुपर्ने आवश्यकतामा उनले जोड दिए ।


खास्टे न्युरेनी संरक्षण समितिका अध्यक्ष हरि अधिकारीले खास्टे तालमा रहेको ज्येष्ठी तालबाराही मन्दिर तथा त्यहाँ बनाउन लागिएको शिव पार्कलाई धार्मिक पर्यटनसँग जोड्न सकिने बताए । कार्यक्रममा पोखरा र आसपासका फुर्से खोला, सुरौदी खोला, खुदी खोला जस्ता जलसम्पदालाई जलपर्यटनसँग जोड्न सुझाव दिइएको थियो ।


पोखरा महानगरपालिका सहरी योजना आयोगको उपाध्यक्ष प्रेमलाल लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा आयोगका सदस्य सुरेन्द्रबाबु तिवारी, युएसएआइडीका प्रतिनिधि, मैदीताल मत्स्य तथा कृषि सहकारीका अध्यक्ष भरतप्रसाद तिवारी, व्यवसायी अशोक पालिखे, वामदेव ढुंगाना लगायतले आ–आफ्नो धारणा राखे ।

तपाईको प्रतिक्रिया