नागरिक समाज–प्रशासन सहयात्रामा जोड

पोखरा ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्रशासनले गर्ने निर्णय नागरिक समाजले अस्वीकार गर्ने खालको नहुने बताएका छन् । १ महिनाअघिमात्र कास्कीको प्रमुख जिल्ला अधिकारीको रुपमा आएका पाण्डेले संघीय सरकारको प्रतिनिधिको रुपमा जिल्लामा हुने विभिन्न गतिविधिको नेतृत्व, नियन्त्रण र समन्ययकारी भूमिका निभाउनु नै आफ्नो दायित्व भएको पनि बताए ।
प्रमुख जिल्ला अधिकारी पाण्डे पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत, सम्मान तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै थिए । पाण्डेले पर्यटकीय नगरीमा हुने रात्रिकालीन व्यवसायलाई सुरक्षित र व्यवस्थित बनाउने, अतिक्रमणमा परेका सार्वजनिक जग्गा फिर्ता ल्याउने, फेवातालको संरक्षण गर्ने लगायतका विषयमा आफ्नो ध्यान केन्द्रीत भएको पनि बताए ।
उनले दर्ता बिना सञ्चालनमा रहेका व्यवसायविरुद्ध कठोर कदम चाल्ने र स्वच्छ प्रतिष्पर्धाको प्रवर्तन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पछिल्लो समय प्रशासन र नागरिक समाज एवं निजी क्षेत्रबीचको सहकार्यको कडी टुटेकोमा चिन्ता व्यक्त गर्दै यसले अराजकता मौलाएको टिप्पणी गरे ।
रात्रिकालीन व्यवसायलाई सुरक्षित र व्यवस्थित बनाउने, अतिक्रमणमा परेका सार्वजनिक जग्गा फिर्ता ल्याउने, फेवातालको संरक्षण गर्ने लगायतमा प्रशासनको ध्यान
संघीय सरकारको प्रतिनिधि भएकाले जिल्लामा अलपत्र परेका संघीय सरकारका योजनाहरु पूर्ण गराउन पनि प्रमुख जिल्ला अधिकारीले पहल गर्नुपर्ने उनको भनाइ छ । पछिल्लो समय गण्डकीको राजधानीसमेत रहेको पोखरामा लगानी बढ्न नसकेको, राजस्व वृद्धि पनि नभएको तथ्यांक पेश गर्दै उनले लगानी प्रवद्र्धन र आयात प्रतिस्थापना गर्नेतर्फ राज्यका निकायहरुले ध्यान दिनुपर्नेे बताए ।
नेपाल राष्ट्र बैंक पोखराकी प्रमुख विना पौडेलले पर्यटकीय सहर भए पनि पोखराले नेपालको कुल ग्राहस्थ उत्पादनमा कम योगदान गरेको र पर्यटन क्षेत्रमा कम कर्जा प्रवाह भएको तथ्य पेश गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने गरी अगाडि बढ्न व्यवसायीसँग आग्रह गरिन् ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले अनुगमन वा कारवाहीको नाममा व्यवसायीहरुको चरित्रहत्या गर्ने काम बन्द हुनुपर्ने माग गरे । ‘व्यवसायीको चरित्रहत्या गर्ने उपक्रम बढेको छ । व्यवसायीले कानुन पालना गर्नैपर्छ र कानुनभन्दा माथि कोही हुँदैन तर अनुगमन वा अनियमिताको नाममा अभियोग लगाउने उपक्रममा नै हल्लाखल्ला गरिदिने, उसले वर्षौं लगाएर बनाएको ब्रान्ड बिगार्ने कामले कसैको भलो गर्दैन भन्नेतर्फ पनि विचार गरियोस्,’ उनले भने ।
आर्थिक वर्ष २०८१÷०८२ को बजेट वक्तव्यमार्फत् व्यावसायिक फर्मको कारोबार व्यक्तिको खातामा राख्न नपाइने नियम लागू गरिएको प्रसंग निकाल्दै उनले घरेलु र आजको पर्यटन तथा उद्योग कार्यालयमा दर्ता गरिएका तर विविध कारणले नवीकरण नभएका फर्महरुको नवीकरणमा छुटसहित विशेष व्यवस्था गर्नुपर्ने माग पनि अगाडि सारे ।
सरकारी कार्यालय र निजी क्षेत्रबीच समन्वय र सूचना आदानप्रदानको अभाव रहेको बताउँदै उनले रचनात्मक काममा निजी क्षेत्र सहकार्य गर्न तम्तयार रहेको पनि बताए । पछिल्ला वर्षका बजेटमा पुँजीगत खर्चको मात्रा घट्दा र सरकारले ठेकेदारलाई समयमा भुक्तानी दिन नसक्दा बजार सुस्ताएको जिकिर पनि गरे ।
व्यवसायीलाई एउटै थलोबाट सबै सुविधा प्रदान गर्नुपर्ने माग गर्दै उनले भने, ‘स्वच्छ व्यवसाय गर्नु र कर तिर्नु हाम्रो दायित्व र कर्तव्य दुबै हो भन्नेमा हामी प्रष्ट छौँ तर निजी क्षेत्र कमाउने वर्ग हो र यो वर्गलाई कर र शुल्कको भारी बोकाउनु पर्छ, जरिवाना ठोकी हाल्नुपर्छ भन्ने मान्यताबाट राजनीतिक नेतृत्व र निजामती कर्मचारी संयन्त्रमाथि उठोस् ।’
आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख शिव शर्माले व्यवसाय मैत्री कर प्रणाली कार्यान्वयनमा आफ्नो ध्यान केन्द्रीत भएको बताए । पोखरा उद्योग वाणिज्य वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले संघले गरेका सामाजिक कार्यहरुको फेहरिस्त प्रस्तुत गर्दै व्यवसायीको हित रक्षा र सामाजिक कार्यमा निरन्तर लागिरहने प्रतिवद्धता जनाए ।
संघका महासचिव बलराम आचार्यले प्रशासनिक निकाय र निजी क्षेत्रबीचको सहकार्यबाट समुन्नत समाज निर्माण हुने बताए ।









राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया