टाटाले रोक्यो एनसेलको ब्यान्डविथ

समाधान संवाददाता २०८१ असार १९ गते १६:०६

काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई सटही सुविधा रोक्दा भारतबाट ब्यान्डविथ आयात नै बन्द भएको छ ।

Advertisement


एनसेललाई इन्टरनेट सेवाका लागि ब्यान्डविथ प्रदान गर्ने टाटा कम्युनिकेसन इन्टरनेसनल सिंगापुरले बक्यौता नतिरेको भन्दै गत असार ३ गतेबाट ब्यान्डविथ दिन बन्द गरिदिएको हो ।

एनसेलले टाटाबाट प्राप्त गरेको ब्यान्डविथसँग सम्बन्धित सेवाबापत भुक्तानीको लागि आवश्यक पर्ने विदेशी मुद्रा स्वीकृति तथा सिफारिस प्राधिकरणले नदिएको हो ।

Advertisement


सोसँगै एनसेलले भुक्तानी गर्न नसकेपछि टाटाले ब्यान्डविथ बन्द गरिदिएको छ । सरकारले ६ महिनादेखि दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सटही सुविधा रोकेको छ । नयाँ प्रविधि र उपकरण आयात गर्नका लागि आवश्यक सटही सुविधा सरकारले रोकिदिएको छ ।


एनसेलले गत हप्तामात्र टाटाले ब्यान्डविथ दिन रोकेको बारे प्राधिकरणलाई पत्रमार्फत जानकारी गराएको छ । भुक्तानीका लागि विदेशी मुद्रा स्वीकृति तथा सिफारिस गरिदिन आग्रह गरेको छ ।

Advertisement


एनसेलले प्राधिकरणलाई काटेको पत्रमा भुक्तानी गर्न नपाउँदा सेवा सञ्चालनमा असर परेको जनाएको छ । दूरसञ्चार सेवा प्रदायकलाई आफ्नो अस्तित्व जोगाउन अप्ठ्यारो परिरहेको समयमा सरकारले सहजीकरणको सट्टा दुःख दिने नियत राखेको एनसेलका एक अधिकारीले बताए ।


प्राधिकरणलले विगत ६ महिनाभन्दा लामो समयदेखि विदेशी मुद्रा स्वीकृति तथा सिफारिस रोकेको र यसबाट सेवा विस्तार, सुधार गर्न नसकेको, ब्यान्डविथको भुक्तानी र विदेशी परामर्शदाताहरुलाई दिनुपर्ने भुक्तानी गर्न नसकेको एनसेलको भनाइ छ ।


ब्यान्डविथसँग सम्बन्धित सेवाबापतको रकम समयमा भुक्तानी गर्न नसकिएमा ब्यान्डविथ आपूर्तिकर्ताले ब्यान्डविथ कटौती गर्ने सम्भावना हुन्छ । ब्यान्डविथ पूर्ण रुपमा रोकिएमा सेवा नै रोकिने जानकारी एनसेलले प्राधिकरणलाई गराएको छ ।


टाटाले आफ्नो वकिलहरुमार्फत पटक पटक बक्यौता रकम दाखिला गर्न लिगल नोटिस पनि दिएको र बक्यौता दाखिला गर्न नसके कानुनी कारबाहीमा जाने चेतावनी दिइसकेको छ । एनसेलले भारतीय र चीनका विभिन्न ब्यान्डविथ आपूर्तिकर्ताबाट इन्टरनेट सेवाका लागि ब्यान्डविथ लिँदै आएको छ ।


प्राधिकरणले सहटी सुविधा नदिँदा मुख्यतः ३ वटा विषयमा अप्ठ्यारो परेको छ । इन्टरनेट सेवाको लागि ब्यान्डविथसहित सेवा विस्तारको लागि थप उपकरण आयात गर्न र विदेशी कम्पनीसँग सेवा खरिद गर्न डलर सटही सुविधा आवश्यक पर्छ ।

तपाईको प्रतिक्रिया