मुस्ताङमा सरकारी कार्यालय जोड्ने सडक बन्दै

सुन्दरकुमार थकाली २०८१ असार २० गते ९:३१

जोमसोम ।
मुस्ताङमा जिल्ला स्थित सरकारी कार्यालय जोड्ने सडक मार्ग स्तरोन्नति कार्य जारी छ । जिल्ला अदालतदेखि डिभिजन वन कार्यालयसम्मको ३ सय ३२ मिटर दूरीमा पल्प ड्रेनसहितको आरसिसी सडक स्तरोन्नति कार्यलाई तीव्रता दिइएको हो ।

पूर्वाधार विकास कार्यालयद्वारा चालु वर्षको जेठ १८ गते बहुवर्षीय योजनाका रुपमा ठेक्का सम्झौता भएको सरकारी कार्यालय जोड्ने सडक स्तरोन्नति कार्यको जिरेश्वर विल्डर्स काठमाडौंले जिम्मा लिएको हो । सरकारी कार्यालय जाने सडक आगामी आर्थिक वर्षको जेठ १७ गतेभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको कार्यालय प्रमुख अजय श्रेष्ठले जानकारी दिए ।


मुस्ताङ जिल्ला अदालतदेखि वन कार्यालयसम्मको सडक निर्माण तथा स्तरोन्नति कार्यका लागि बहुर्षीय योजनाका रुपमा १ करोड ६ लाख लागतमा ठेक्का सम्झौता भएको हो । सडकका लागि चालु आर्थिक वर्ष ३० बजेट विनियोजन भएको हो । यो सडकका लागि प्रदेश सरकारले चालु वर्ष कुल ठेक्का सम्झौता लागतको करिब ४० प्रतिशतमात्रै बजेट विनियोजन गरिएको हो ।

Advertisement


आगामी आर्थिक वर्ष सडकका लागि २ शीर्षकमा ३५ लाख ९३ हजार बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालयका प्रमुख श्रेष्ठले उल्लेख गरे । सरकारी कार्यालय जाने सडक मार्ग ढिलो गरी ठेक्का सम्झौता भएकाले असारे विकास जस्तो देखिएका कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ ।

चालु वर्ष निर्माण सुरु गरिएको सरकारी कार्यालय जाने सडक सम्पन्न भएमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायत सहज सडकमा जोडिने छन्

Advertisement


मुस्ताङ सदरमुकाममा अवस्थित महत्वपूर्ण सरकारी कार्यालय जाने सडकको भौतिक प्रगति ५ प्रतिशत छ । निर्माण कम्पनीले ठेक्का मोबिलाइजेसनवापत सम्झौता रकमको २० प्रतिशत अर्थात १८ लाख ५० हजार भुक्तानी लगेको छ । अहिले भइरहेको काममा ९ प्रतिशत भौतिक प्रगति भएमा चालु वर्षको बजेट व्यवस्थापन हुने कार्यालय प्रमुख श्रेष्ठले जनाए ।


सरकारी कार्यालय जाने ३ सय ३२ मिटर दूरीमा ६ मिटर चौडा आरसिसी र सडकको दाँयाबाँया दुईतर्फी ५ दशमलव २ मिटर चौडा छपनी ढुंगा बिछ्याउने गरी ठेक्का सम्झौता भएको हो । सडकको पूर्वतर्फ २ सय ३० मिटर चौडा र पश्चिमतर्फ १ सय ९२ मिटरमा पल्प कंक्रिट ड्रेन निर्माण गरिनेछ ।


यसअघि जोमसोमको पक्की पुलदेखि जिल्ला अदालत मुस्ताङसम्मको बाटोमा पूर्वाधार विकास कार्यालयले आरसिसी सडक निर्माण गरिसकेको छ । चालु वर्षको बहुवर्षीय ठेक्का अन्तर्गत निर्माण सुरु गरिएको सरकारी कार्यालय जाने सडक सम्पन्न भएमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतका अन्य कार्यालय जाने बाटो सहज हुनेछ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया