औषधी व्यवसायी गण्डकीको पदस्थापन

समाधान संवाददाता २०८१ असार २४ गते १०:५१

पोखरा ।
नेपाल औषधी व्यवसायी संघ गण्डकी प्रदेशको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट नव निर्वाचित कार्यसमितिको औपचारिक समारोहबीच पदस्थापना गरिएको छ ।

Advertisement


प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले कार्यसमितिका पदाधिकारी र सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरे । संघका निवर्तमान अध्यक्ष कृष्णप्रसाद पाण्डेले अध्यक्ष केशरीप्रसाद तिवारीको नेतृत्वमा निर्वाचित १७ सदस्यीय कार्यसमितिलाई पदस्थापना गराए ।


संघ केन्द्रीय समितिका उपाध्यक्ष (थोक) टंकप्रसाद अधिकारीले मानव जीवनको स्वास्थ्यसँग सम्बन्धित पेशा व्यवसायलाई जिम्मेवार र मर्यादित बनाउन नवनिर्वाचित कार्यसमितिको भूमिका रहने बताए । उनले कार्यसमितिलाई सर्वसम्मत बनाउनको लागि त्याग गर्नेलाई नविर्सन आग्रह गरे ।

Advertisement


प्रमुख निर्वाचन अधिकृत थापाले संगठनमा बस्ने सबैको लागि लोकप्रिय बन्न नसक्ने उल्लेख गरे । गलत व्यक्तिलाई कारवाही गर्न कठोर निर्णय गर्नुपर्ने उनले सुझाव दिए । नेपाल औषधी व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष तिवारीले चुनावी तिक्ततालाई बिर्सेर कार्यसमितिलाई एक ढिक्का बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरे । उनले कार्यसमितिमा मनोनित जीवनराज सापकोटालाई प्रमाणपत्र प्रदान गरे ।


निवर्तमान अध्यक्ष पाण्डेले समग्र औषधी व्यवसायीको हकहितमा काम गर्न सुझाव दिए । उनले गण्डकी प्रदेशलाई आर्थिक रुपमा समृद्ध र सक्षम बनाउनका लागि व्यवसायीयको तर्फबाट भूमिका खेल्न आग्रह गरे । आफ्नो कार्यकालमा सहयोग गर्ने पदाधिकारी, कार्यसमितिका सदस्य, सल्लाहकार र उपसमितिका संयोजकलाई पाण्डेले कदरपत्र वितरण गरे ।

Advertisement


कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कमिटीमा सचिव यदुनाथ बञ्जरा, निर्वाचन अधिकृत विष्णुप्रसाद लम्साल, साबिक नेपाल औषधी व्यवसायी गण्डकीका अध्यक्ष रामबहादुर केसी, नेपाल औषधी व्यवसायी संघ नवलपुरका सल्लाहकार चेतप्रसाद पौडेलले औषधी व्यवसायीका समस्याका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया