पोखरा विमानस्थलको अनियमितता छानबिन

पोखरा ।
अन्तर्राष्ट्रिय उडान नहुने ‘अन्तर्राष्ट्रिय विमानस्थल’ हो पोखरा विमानस्थल । स्थानीय बासिन्दाले छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय उडान होस् भन्ने चाहेका छन् । ऋण लिएर बनाइएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नभएको चिन्ता एकातिर छँदैछ, त्यसमाथि यसको निर्माण क्रममा अनियमितता भएको भन्ने पनि अर्काे चिन्ताको विषय छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै संघीय संसदको सार्वजनिक लेखा समितिमा उजुरी पनि प¥यो । अनि असार १३ गते समितिले सांसद राजेन्द्र लिङदेनको संयोजकत्वमा छानबिन उपसमिति बनायो । त्यही समितिले पोखरामै आएर स्थलगत अवलोकनमात्रै गरेको छैन, स्थानीयसँग पनि अन्तक्र्रिया गरी सुझाव लिएको छ ।
लिङ्देन नेतृत्व सांसद टोलीले सोमबार विमानस्थल र नागरिक उड्डयन प्राधिकरणका कर्मचारीसँग छलफलसँगै विमानस्थलको स्थलगत अध्ययन गरेको हो । टोलीले सरोकारवालासँग छलफलसमेत गर्यो । उपसमिति संयोजक लिङदेन स्थलगत अध्ययन, विज्ञहरुसँग छलफल र सरोकारवालासँगको अन्तक्र्रियापछि प्रतिवेदन तयार गरिने जानकारी दिए ।
‘हामी मुख्यतया यो विमानस्थल निर्माणमा अनियमितता भए/नभएको हेर्र्छाै,’ लिङ्देनले भने, ‘अनियमितता भएको रहेछ भने गर्नेलाई कारबाहीको सिफारिस गर्छाैँ भने विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका उपायहरुबारे पनि सुझाव दिन्छौँ ।’ उपसमिति टोलीले विमानस्थलका लागि काटिएको रिठेपानी डाँडासमेत अवलोकन गरेको छ ।
संसदीय उपसमितिमा लिङ्देनसहित सांसदहरु गोकुलप्रसाद बास्कोटा, प्रेमबहादुर आले, जनार्दन शर्मा, देवप्रसाद तिमिल्सिना, अर्जुननरसिंह केसी, दीपक गिरी, रुक्मिणी राना बराइली, तारा लामा तामाङ, रामकृष्ण यादव र अमनलाल मोदी छन् । उपसमितिले अन्तर्राष्ट्रिय उडान हुन नसक्नुका कारण र प्राविधिक त्रुटि भए अध्ययन गरी सार्वजनिक लेखा समितिलाई सुझाव दिने छ ।
चीनले दिने अनुदानमा विमानस्थलका लागि नसमेटिनु नै शंकास्पद
स्थानीय र सरोकारवालाहरुले सोमबार भएको छलफलमा सम्झौताभन्दा विमानस्थलको रनवेको उचाइ कम भएको, भूराजनीतिक कारणले उडान हुन नसकेको, स्थानीयका समस्या सुल्झाउन ध्यान नदिइएको जस्ता गुनासो गरे ।
२२ अर्ब ६१ करोड रुपैयाँमा चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले यिो विमानस्थल बनाएको हो । मुआब्जासहितका काममा नेपाल सरकारले यहाँ ४ अर्बभन्दा बढी छुट्टै खर्च गरिसकेको छ । चार हजार छ सय रोपनी जग्गा अधिग्रहण र करिब सात सय रोपनी सार्वजनिक जग्गामा यो विमानस्थल बनेको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा विमानस्थलका बारेमा बारम्बार गुनासो आउने गरेको सुनाउँदै यसको निरुपण हुनुपर्नेमा जोड दिए । ‘गुनासो बारम्बार आइरहन्छ हामीले पनि सरोकारवालालाई सुनाउने न हो । यसबारे छानबिन भएर यथार्थ सर्वसाधारणदेखि अन्तर्राष्ट्रिय जगतलाई समेत जानकारी होस्,’ उननले भने ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले यो विमानस्थल पोखरेलीको आधा शताब्दीको सपना भएको जनाउँदै यहाँका समस्या सुल्झाउन आग्रह गरे ।
‘यो पोखरेलीको ५० वर्षदेखिको सपना हो । केही प्रश्न उठेका छन्, समस्या देखिएका छन् । तिनलाई सुल्झाउनुपर्छ,’ उनले भने । आचार्यले आन्तरिक उडानमै पनि प्रशस्त यात्रु रहेको जानकारी गराए ।
विमानस्थल रहेको पोखरा–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले दसौँ अर्बको परियोजना सञ्चालन भए पनि स्थानीयका सरोकार सम्बोधन नभएको गुनासो गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले निर्माण अवधिसम्म नागरिक उड्डयन प्राधिकरणले सञ्चालनको योजना नबनाउनु र इन्धन डिपोसमेत नबन्दा यो उपेक्षामा परेको प्रष्ट हुने औंल्याए । उनले पोखरा विमानस्थलको रनवे सानो बनाइएको, जानीजानी रनवे उचो बनाउनुको साटो त्यहाँबाट माटो निकालिएको जस्ता आरोप लगाए ।
मुल्मीले चीनले दिने अनुदानमा विमानस्थलका लागि नसमेटिनु नै शंकास्पद रहेको पनि बताए । उनले विमानस्थल निर्माणको सम्झौता भएदेखिकै गतिविधि सन्देहास्पद रहेको आरोप पनि लगाएका थिए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले छानबिन जारी हुँदाहुँदै पनि नियमित अन्तर्राष्ट्रिय उडान थाल्न आग्रह गरे । ‘विदेशी विमान कम्पनी आउँदै गर्लान्, अहिले राष्ट्रिय ध्वजावाहकबाटै अन्तर्राष्ट्रिय उडान थालौं,’ उनले भने, ‘पर्यटन राजधानी घोषणा भएको पोखराको समृछि पर्यटनको विकासबिना सम्भव छैन ।’
व्यवसायी अशोक पालिखे, विश्वशंकर पालिखे, गोपीबहादुर भट्टराई र पत्रकार विमला भण्डारी लगायतले पोखराबाट अन्तर्राष्ट्रिय उडानको खाँचो औंल्याएका थिए ।
डेढ वर्षअघि उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अझै नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन । विमानस्थलबाट अहिलेसम्म ५ चार्टडमात्रै भएका छन् । सन् २०२३ को नयाँ वर्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेका थिए । विमानस्थल नजिकै जाइकाको सहयोगमा बनेको खानेपानी संस्थानको पानी ट्यांकी हटाउनुपर्ने अवस्था छ भने विमानस्थलमा अवतरण र उडान भर्दा जहाजहरुले पूर्ण क्षमतामा गर्न नमिल्ने अर्थात् लोड पेनाल्टी झेल्नुपर्ने औंल्याउँदै आएका छन् ।
तपाईको प्रतिक्रिया