लेखनाथका व्यवसायीलाई चुनावी चटारोः ढकाल र अधिकारीबीच प्रतिस्पर्धा

समाधान संवाददाता २०७६ साउन १६ गते १४:३४

समाधान संवाददाता
पोखरा

लेखनाथ उद्योग बाणिज्य संघले नयाँ नेतृत्वका लागि निर्वाचनको मिति घोषणा गरेपछि अध्यक्षको प्रतिस्पर्धामा संघका वरिष्ठ उपाध्यक्ष बलराम ढकाल र महासचिव भरतकुमार अधिकारीबीच प्रतिस्पर्धा हुने देखिएको छ । ढकाल र अधिकारी यसअघिको निर्वाचनमा एउटै प्यानलबाट विजयी भएका हुन् ।

लामो समयदेखि एउटै समूहमा रहेका महासचिव अधिकारीले उक्त समूहबाट अलग्गिएर अध्यक्षमा उम्मेदवारी दिनेमा पुगेका छन् । अधिकारीले प्रथम उपाध्यक्षमा दाबी गरेपछि अहिलेको टिमलाई मिलाएर लैजान समस्या परेको थियो । अहिलेका द्वितीय उपाध्यक्ष विनोद श्रेष्ठले आफूले प्रथम उपाध्यक्षमा स्वत पाउनु पर्ने अडान लिएका छन् । यही कारण अधिकारी उक्त टिमबाट बाहिरिएका हुन् ।

Advertisement

संघको नयाँ नेतृत्वका लागि लागि यही भदौ २० र २१ गते निर्वाचन हुनेभएको छ । १२ औं अधिवेशन मार्फत् नयाँ नेतृत्वका लागि सोमबार बसेको कार्यसमितिको बैठकले मिति तोकेको हो । अध्यक्षसहित ६ पदाधिकारी, ८ खुल्ला सदस्य र २ जना महिला सदस्यमा निर्वाचन हुनेछ । यसैगरी एसोसिएट र संस्थागत तर्फ १÷एक सदस्यको पनि निर्वाचन हुनेछ ।

संस्थापनपक्षबाट वरिष्ठ उपाध्यक्षमा अहिलेका प्रथम उपाध्यक्ष छत्रधर आत्रेयको उम्मेदवारी रहने चर्चा छ । वर्तमान महासचिव अधिकारीले अध्यक्षमा उम्मेवारी दिने भएपछि कोषाध्यक्ष राजेन्द्र ओझाले द्वितीय उपाध्यक्षमा इच्छा देखाएका छन् ।

Advertisement

यसैगरी महासचिवमा वर्तमान उपमहासचिव गोपिचन्द्र बास्तोलाले दाबी गरेका छन् भने उपमहासचिवमा १ जना महिलालाई समेटेर अघि बढ्ने योजना वर्तमान टिमले बनाएको छ । कोषाध्यक्षमा भने वर्तमान कार्यसमितिका सदस्य उपेन्द्र सुवेदी राजु आकांक्षी छन् । कोषाध्यक्षमै सदस्य धीरजकुमार श्रेष्ठले पनि दावा गरेका छन् । संघमा २ कार्यकाल सदस्य रहेकी मेनुका श्रेष्ठले पनि उपमहासचिवमा दाबी गरेकी छन् ।

गत वर्ष प्यानलै बनाएर उम्मेदवारी दिएका इन्जिनियर वसन्तमोहन भट्टराईको प्यानलबाट महासचिवमा उम्मेदवारी दिएका ऋषिराम जमरकट्टेलले यस पटक पनि महासचिवमै उम्मेदवारी दोहोर्‍याउने भएका छन् । संघमा झण्डै १३ सय मतदाता छन् ।

तपाईको प्रतिक्रिया