भगतको जीवनमाथि चलचित्र

पोखरा ।
नेपालको संगठित दलित आन्दोलनका अगुवा सर्वजित भगत विश्वकर्माको जीवनीबारे चलचित्र बन्दै छ । बागलुङको बागलुङ नगरपालिका वडा नम्बर ७ मा पर्ने साबिकको मूलपानी गाविसको गैरागाउँमा १९५० सालमा जन्मिएका भगतमाथि चलचित्र निर्माणका लागि आगामी वर्षको बजेटमा गण्डकी सरकारले १० लाख विनियोजन गरेको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठान अन्तर्गत राखिएको यो बजेट २०७९ मै शुभमुर्हुत गरिएको चलचित्र ‘सर्वजित’ निर्माणका लागि प्रदान गरिने प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले बताए । सानैदेखि विद्रोही स्वभावका भगतले भारतमा रोजगारी गर्ने बुवासँग गएर त्यहाँबाट आचार्य पास गरेका थिए ।
गण्डकी प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपाली भगत नेपालको दलित आन्दोलनका संस्थापक भएको उल्लेख गर्छन् । नेपालीले भने, ‘हामीले सामाजिक विकास मन्त्रालयमा २५ लाख सहयोगको प्रस्ताव गरेका थियौँ । यो चलचित्र निर्माणमा ढिलाइ भएको छ, अब ढिलो गर्नु हुन्न ।’
भगतको जीवनमा आधारित चलचित्रको निर्माता दलित महिला केन्द्र हो । २०७९ जेठ २१ गते प्रधानमन्त्री निवास बालुवाटारमै शुभमुहुर्त भएको यो चलचित्र निर्माण बिचको समयमा अघि बढ्न सकेको थिएन । चलचित्रका निर्देशक दिनेश डिसी छायाङ्कन स्थल छनोट, कलाकार चयन लगायतका काम सकिएको बताउँदै ढिलोमा आगामी बैशाखबाट चलचित्र छायाङ्कन थालिने उल्लेख गर्छन् । चलचित्रको लागत १ करोड २५ लाख अुनमान गरिएको छ ।
‘हामीले चलचित्र छायाङ्कनका लागि स्थल छनोट गरिसकेका छौँ । कलाकारहरु पनि छानिसकेका छौं,’ डिसीले भने । जातीय भेदभाव तथा छुवाछूत उन्मूलनमा यसले सहयोग गर्ने निर्देशक डिसीको भनाइ छ । बागलुङ, पाल्पा, पोखरा, काठमाडौं र वनारसमा यो चलचित्र खिचिनेछ । चलचित्रमा रंगमञ्चमा सक्रिय अधिकांशनयाँ कलाकार रहने छन् भने स्क्रिप्ट रविन आचार्यले तयार पारेका छन् ।
चलचित्रका लागि सरकारी निकायहरुले सहयोग उपलब्ध गराउनुपर्नेमा त्यसो नहुँदा काममा ढिलाइ भएको हो । । शुभमुहुर्तकै दिन तत्कालीन मन्त्री प्रेम आलेले आफ्नो ५ महिनाको तलब यसका लागि हस्तान्तरण गरेका थिए ।
गण्डकी प्रदेशसभा सदस्य एवं अधिकारकर्मी दमयन्ती रुचाल भगतले अभूतपूर्व र क्रान्तिकारी अभियान सुरुआत गरेको उल्लेख गर्छिन् । ‘त्यस्ता ऐतिहासिक व्यक्तित्वको जीवनीबारे बन्ने चलचित्रमा आर्थिक अभाव र ढिलाइ हुन दिनु हुँदैन,’ उनले भनिन् ।
भगतले १९९७ सालमा विश्व सर्वजन नामक संगठन स्थापना गर्दै सांगठनिक रूपमै दलित आन्दोलन सुरुवात गरेका थिए । बालीघरे प्रथाको साटो नगद पाउनुपर्ने माग राख्ने उहनको अगुवाइमा आरनको टुडो भाँच्ने, दर्जीहरुको कल बन्द गर्ने, सार्कीहरुको छालाको काम बन्द गर्ने, पेशा बहिष्कार तथा काममा हडताल भएका थिए ।
उनले आफ्नै गाउँमा २००७ मा विश्वकर्मा प्रावि स्थापना गरेका थिए । विभिन्न समयमा जेलसमेत परेका भगतको ६२ वर्षको उमेरमा भारतमा निर्वासनका क्रममा २०१२ सालमा निधन भएको थियो । भगतको योगदानको सम्मानमा बागलुङ, सुर्खेतसहित काठमाडौंमा विभिन्न संस्था बनेका छन् । उनको जन्मस्थल बागलुङमा रहेको भगत सर्वजित विश्वकर्मा प्रतिष्ठान बागलुङले स्मारिका प्रकाशन, शालिक निर्माण जस्ता काम गरेको छ ।
तपाईको प्रतिक्रिया