पोखराका ध्रुवः जो ईश्वरमार्फत दर्शकमाझ आउँदैछन्

समाधान संवाददाता २०८१ असार २७ गते ११:०८

काठमाडौं ।
ध्रुव थापा पोखराका हुन् । हाल अमेरिकामा बस्दै आएका यिनै थापाको अभिनय र निर्माण रहेको फिल्म ‘ईश्वर’ साउन ११ गतेबाट देशव्यापी रिलिज हुँदैछ । पोखरामा रहँदा कुनै समय रेडियो नाटक, स्टेज नाटक, भिडियो फिल्म, टेलिफिल्म र केही फिल्ममा समेत अभिनय गरेका ध्रुव फिल्म ‘ईश्वर’लाई लिएर निकै आशावादी छन् ।

Advertisement


फिल्म ‘ईश्वर’मा ध्रुवले निर्माता र नायक दुवै जिम्मेवारी बोकेका छन् । ‘फिल्ममा निडर, निष्टावान, न्यायको पक्षमा लड्ने, परिवारलाई माया, मद्दत गर्ने सकारात्मक चरित्रमा छु । मेरो चरित्र समय, देश, न्याय र जनताको पक्षमा लडिरहन्छ’, हाल अमेरिकामा रहेका ध्रुव भन्छन् ।


फिल्ममा सुनील थापा, सबिन बास्तोला लगायत कलाकारको अभिनय छ । ‘कामको संख्याका आधारमा मसँग काम गर्ने कलाकारहरु सिनियर हुनुहोला ।

तर समय र अनुभवले म आफूलाई जुनियर मान्दिनँ । किनकी एउटा सक्षम कलाकारको कर्तव्य र सीमा के हो मैले राम्रोसँग बुभेको छु,’ उनी भन्छन्, ‘फिल्ममा स्थापित कलाकारहरुसँग काम गर्न निकै सजिलो भयो । म आफूलाई नयाँ कलाकार जस्तो लाग्दै लागेन । केही समय ग्यापिङ भए पनि म आफूलाई निरन्तरता दिएको कारणले गर्दा म आफूलाई पुरानै कलाकार भन्न रुचाउँछु ।’


ध्रुवले २०४८ सालमा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरामा आफ्नै लेखन र प्रस्तुतीमा गीति कथा र रेडियो नाटकबाट कला यात्रा सुरु गरे । ‘मैले विभिन्न स्टेज नाटक, रेडियो नाटक, भिडियो फिल्म, टेलिफिल्म हुँदै केही फिचर फिल्ममा अभिनय पनि गरें ।

Advertisement

म कला क्षेत्रमा स्थापित हुन नसकेको मात्र हो । पारिवारिक व्यस्तता, लगानीको प्रमुख पाटो र नातावाद, कृपावाद आदिले गर्दा म केही समय हराए । अहिले सबै कुराको एडजस्ट भएको छ । त्यसैले नेपाली फिल्ममा पुनः फर्किएको भन्न रुचाउँछु ।’


ध्रुवले ‘हिजो आजका कुरा’, ‘तितो सत्य’, ‘मेरी बास्सै’ ‘थोरै भए पुगिसरी’, ‘जिरे खुर्सानी’लगायत दर्जनौं सिरियलमा अभिनय गरेका छन् । उनले २५ वर्षअघि ‘परेलीको माझ’ र टेलिफिल्म ‘तिहार’ निर्माण गरेका थिए । तर दुवै सिर्जना दर्शकमाझ आउन सकेन । ध्रुव फिल्म, नाटकमा अभिनय गर्न आफूलाई निकै मन पर्ने बताउँछन् ।

तपाईको प्रतिक्रिया