राट्रिष्य आयोजनामै मजदुर पीडित, ज्याला नदिए काम ठप्प पार्ने चेतावनी

समाधान संवाददाता २०७६ साउन १७ गते १३:१९

राकेश शर्मा
म्याग्दी

राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडक आयोजनाले मजदुरलाई ज्याला नदिएको भन्दै कम्पन्नीको म्याग्दीको रघुगंगा गाउँपालिका १ तिप्ल्याङमा रहेको कार्यालयमा ताला लगाएका छन् । गलेश्वरदेखि नारच्याङ पुल खण्डको सडक स्तरोन्नतिको जिम्मा लिएको शर्मा–युनाइटेड जेभीका मजदुर, उपठेकेदार र आपुर्तिकर्ताले ताला लगाएका हुन् ।

आफूहरुले काम गरे बापतको पारिश्रमिक पटक पटक माग्दासमेत बेवास्ता गरेकाले कार्यालयमा बाध्य भएर तालाबन्दी गर्नु परेको उनीहरुको भनाई छ । काम रोकेर आन्दोलनमा उत्रिएको मजदुरका नाइके राजु परियारले नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को नेतृत्वमा आन्दोलनमा उत्रनु परेको स्वीकारे । उनले मजदुरले ज्याला भुक्तानी नपाएसम्म आयोजनाको काम ठप्प पार्ने चेतावनीसमेत दिए ।

Advertisement

आयोजनामा मजदुरले ज्याला नपाएपछि जिल्ला मजदुर संघले पारिश्रमिक नपाएको विषयमा उजुरी गरेका थिए । उजुरीका आधारमा जिफन्टको नेतृत्वमा कार्यालयमा ताला लगाइएको हो ।

सल्यानका ४५ जना मजदुर ल्याएर आएका परियारले ठेकेदारले ४ महिनादेखिको ज्याला नदिएका कारण भोकभोकै बस्न बाध्य भएको दुखेसो पोखे । १२ जनाको समूहमा जाजरकोटबाट आएका लालबहादुर बोहोराले ४ महिना काम गरेको ३ लाख रुपैयाँ ज्याला नपाएको बताए । अर्का मजदुर नाइके बेदबहादुर थापाले ७७ लाख रुपैयाँको काम गरेर हालसम्म ५४ लाख रुपैयाँ पाएको र बाँकी भुक्तानीका लागि काठमाडौंमा बोलाएर ठकेदारले हप्तौ अल्झाएपछि घरबाट पैसा मगाएर होटलको खर्च तिरेर आएको बताए ।

Advertisement

‘काम गरेको पारिश्रमिक नदिएपछि हामी भोकभोकैले मर्ने अवस्था आएको छ’ थापाले भने, ‘ममार्फत् ८५ जना मजदुरले काम गरेका थिए । २ वटा ट्याक्टर भाडामा लगाएका थिए, त्यसको भाडा तिर्न नसकेर ट्याक्टर साहुले पैसा मागेर हैरान पारेको छ, यहाँ कम्पनीले हामीलाई पारिश्रमिकसमेत दिएको छैन ।’

मजदुरको बिचल्ली भएको र ठकेदारले बेवास्ता गरेका कारण बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको जिफन्टका जिल्ला अध्यक्ष बालादेवी राईको भनाई छ । उनीहरुले बेनीस्थित जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्याला उपलब्ध गराउन पहल गरिदिन उजुरी दिएका थिए । सहायक प्रजिअ महेश सुवेदीले अन्य आपुर्तिकर्ता र मजदुरले पनि शर्मा–युनाइटेड कम्पनीको विषयमा उजुरी गरेकाले भुक्तानी गर्न पत्राचार गरिएको बताए ।

कम्पनीका आयोजना व्यवस्थापक बलराम अर्यालले सडक विभागले गरेको कामको भुक्तानी नदिएकाले समस्या भएको बताए । ‘मजदुर र सप्लायर्सले सबै होइन केही रकम मात्र भुक्तानी नपाएका हुन्,’ अर्यालले भने ‘हामीले गरेको कामको अढाईदेखि ३ करोड रुपैयाँ सडक विभागले भिओ गरेर भुक्तानी नदिएकाले समस्या परेको हो ।’ उनले भने विभागले हामीलाई पैसा दिन नसक्दा पेटी ठेकेदारलाई हामीले पैसा दिन सकेका छैनौं, त्यसले मजुदरले पैसा पाएका छैनन् ।

तपाईको प्रतिक्रिया