एमाले मजदुर इलाकामा विष्णुको नेतृत्व

समाधान संवाददाता २०८१ असार ३० गते ११:१५

पोखरा ।
नेकपा (एमाले) मजदुर इलाकाको सातौ अधिवेशन शनिबार भएको छ । अधिवेशनले अध्यक्ष विष्णुबहादुर पराजुलीको नेतृत्वमा २१ सदस्यीय इलाका कमिटी निर्माण गरेको छ । कमिटीको उपाध्यक्ष धीरज गुरुङ, सचिव हरिभक्त श्रेष्ठ, उपसचिव खुल्लातर्फ अमृत पौडेल र उपसचिव महिलातर्फ कविता नेपाली निर्विरोध भएका कछन् ।

Advertisement


कमिटीको सदस्यमा रुद्रमान प्रधान,विष्णुप्रसाद सुवेदी, रामबहादुर थापा, राजकुमार दमै, मचिन्द्रसेनेहाङ लिम्बु, टंकमाया गुरुङ, किशोर घिमिरे छन् । कमिटीको सदस्यमा गिता रेग्मी, दुर्गा केसी,नुरुमाया गुरुङ, ममता गौतम, चन्द्रकला रानाभाट, किशोर थापा, शिवप्रसाद अधिकारी सर्वसम्मत भएका छन् ।

लेखा कमिटीको अध्यक्षमा जनकराज सिग्देल चुनिएका छन् । पार्टीका स्थायी कमिटीका सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले अधिवेशनको उद्घाटन गर्दै कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर उत्पादन प्रणालीको विकास गर्नु पर्ने बताए ।

Advertisement


अर्थतन्त्रको विकासका नियम अनुसार पहिलो प्राथमिकता पर्ने कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गर्न आवश्यक भएको उल्लेख गर्दै उनले दोश्रोमा उद्योग करकारखानाको विकासमा ध्यान दिनु पर्ने चर्चा गरे । उनले औद्योगिकरणको विकास हुनु पर्नेमा तेश्रो सेवा क्षेत्रले स्थान पाएको जानकारी दिए ।


‘औद्योगिकरणको विकास नभएसम्म अर्थतन्त्र डामाडोल हुन्छ,’उनले भने, ‘अर्थतन्त्रको विकासको लागि उद्योग कलकारखानाको विकास स्थानीय उत्पादनलाई जोड दिनु पर्छ ।’ उनले गण्डकी प्रदेश र स्थानीय तहले प्राथमिकता निर्धारण गरी प्रथम कृषि क्षेत्रबाट दोश्रो उद्योग कल कारखानाको प्रवद्र्धनमा लाग्नु पर्नेमा जोड दिए ।

Advertisement


अनौपचारिक क्षेत्रमा श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा समेट्ने सवाल पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रमको एजेण्डा बन्न नसकेको उल्लेख गर्दै उनले एमालेले जितेका कास्कीका पालिकाले श्रमिकलाई सूचीकरण गरी योजनामा समेट्ने कार्यक्रमको थालनी गर्नु पर्ने बताए । उनले कार्यक्रम लागु नगर्नु संविधान र कानुन नमान्नु सरह भएको टिप्पणी गरे । उनले कार्यक्रमको लागि गण्डकी प्रदेश सरकारले पालिकासँग लागत साझेदारीको तयारी गर्दा सरकार फेरिएको जानकारी दिए ।


नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्रीले पार्टीको पालिका कमिटीमा श्रमिकको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरे । उनले पार्टीले पालिका स्तरमा श्रम प्रतिष्ठान निर्माणमा ध्यान नदिएको बताए ।


कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्री, जिल्ला कमिटी कास्कीका सदस्यहरु नन्दलाल अधिकारी र पम्फा पहारी, कास्कीको मादी गाउँपालिका कमिटीका अध्यक्ष सुवास सापकोटा, रुपा गाउँपालिका कमिटीका अध्यक्ष निलकण्ठ रेग्मी, मजदुर इलाका कमिटीका अध्यक्ष तुलसीप्रसाद सुवेदी, उपसचिव मिलन तिमिल्सिना, श्रमिक नेता हरिभक्त श्रेष्ठले श्रमिकका सवालमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया