‘जनसंगठन पार्टीको नीति र विधिमा चल्छ’

समाधान संवाददाता २०८१ असार ३० गते १३:०१

पोखरा ।
मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स)को २५ औं स्थापना दिवसको सन्दर्भमा एलाइन्सको गण्डकी प्रदेश तथा कास्की शाखाले जनसंगठन परिचालनसम्बन्धी अन्तक्र्रिया गरेका छन् ।

Advertisement


कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले जनसंगठन र पार्टीबीचको सम्बन्ध, गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा श्रीकान्त खतिवडाले जनसंगठनको सुदृढीकरणमा नेकपा (एमाले)का जनप्रतिनिधिको भूमिका विषयका प्रशिक्षण दिए ।


पार्टीका अध्यक्ष शर्माले जनसंगठनहरु पार्टीले निर्धारण गरेको नीति र विधि अनुसार चल्नुपर्ने बताए । ‘सबै जनसंगठन एमालेको विचार, नीति र कार्यक्रमलाई मानेर चलेका छन्,’ उनले भने, ‘हरेक जनसंगठनले आफ्नो विधान अनुसार पार्टीको नेतृत्वले भने अनुसारका कामको समीक्षा गर्नु पर्छ ।’

Advertisement


शर्माले पार्टीका नेता जनसंगठनको नेतृत्व गर्न जान नहुने उल्लेख गरे । उनले एउटा जनसंगठनको नेतृत्व गरेको व्यक्ति अर्को जनसंगठनको कमिटीमा बस्न नहुने जानकारी दिए ।


उनले पार्टी र जनसंगठन बीचको सम्बन्ध असाध्यै सुमधुर हुनुपर्ने बताए । गण्डकी प्रदेशका नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष खतिवडाले एमाले जस्तो लोकप्रिय जनाधार भएको पार्टीबाट निर्वाचित जनप्रतिनिधिले जनसंगठनलाई क्रियाशील बनाउदै राजकीय जिम्मेवारी पूरा गर्नुपर्ने सुझाव दिए । उनले जनप्रतिनिधिले त्यस्तो भूमिका र जिम्मेवारी निर्वाह गरेमा पार्टीको जनमत निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने निष्कर्ष निकाले ।

Advertisement


नीति नियम र योजना तर्जुमा तथा कार्यान्वयन लगायतका सन्दर्भमा कर्मचारी सयन्त्रको भूमिका प्रयाप्त नहुने दाबी गर्दै उनले जनसंगठनका सदस्यमार्फत जाँदा विश्वसनीय भएर पार्टीलाई सहयोग पुग्ने बताए ।


एलाइन्सका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज रामचन्द्र पौडेलले जनसंगठनले उठाउने सार्वजनिक सरोकारका मुद्दाप्रति पार्टी नेतृत्व र जनप्रतिनिधिले जिम्मेवारी बोध गर्नुपर्ने उल्लेख गरे ।


उनले ‘समुदायसँग सँगै’ भन्ने नाराका साथ हरेक पालिकाको वडा तहमा संरचना निर्माण गर्ने तयारी गरेको बताए । एक गाउँपालिका एक मानव अधिकार रक्षकको अवधारणा अगाडि सारेको एलाइन्सले परिवार तह, घर घरममा मानव अधिकारको अभियान चलाउन लागेको उनले जनाए ।


कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी कास्की उपसचिव लालबहादुर परियार, पोखरा महानगर कमिटीका अध्यक्ष जीवनप्रसाद आचार्य, मानव अधिकार एलाइन्स गण्डकी अध्यक्ष शिवराज शर्मा सुवेदी, सचिव तीर्थराज खनाल, कास्की अध्यक्ष पदमराज पहारी, सचिव मधु पन्थी लगायतले पार्टीका हरेक संरचनालाई मानव अधिकार मैत्री बनाउनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया