पद्म नर्सिङ होमको शिविरमा ५ सयको जाँच

पोखरा ।
पद्म नर्सिङ होम प्रालिले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ५ सयभन्दा बढीले सेवा लिएका छन् । पोखरा महानगरपालिका वडा नम्वर ३ को सहकार्यमा शनिबार शिविर भएको हो ।
पोखरा ३ का अध्यक्ष प्रकाशमान उदासले वरिष्ठ नेत्ररोग विशेषज्ञ प्राडा सचेतप्रभात श्रेष्ठलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरी शिविर सुरुआत गरेका थिए । शिबिरमा १ सय ४३ जनाको जनरल मेडिसिन र मुटु, ९५ जनाको आँखा, ५५ को हाडजोर्नी तथा नसारोग, ७२ जनाको स्त्रीरोग, ४४ को नाक कान घाँटी रोग जाँच गरिएको छ ।
यसैगरी? ५८ जनाले बालरोग, ३५ जनाको सर्जिकल, १६ जनाले बाल दन्तरोग सम्बन्धी सेवा लिएको प्रालिका प्रबन्ध निर्देशक नरेन्द्र बास्तोला जानकारी दिए । शिविरमा १ सय १८ जनाको भिडियो एक्सरे, १ सय ५२ जनाको ल्याब परीक्षण, ९५ जनाको मुटुको इसिजी, र ६६ जनाको एक्सरे गरिएको छ ।
वडाध्यक्ष उदासले स्वास्थ्य संस्थाहरुले आफ्नो सेवालाई सहज र प्रवावकारी बनाउँदै सेवामूलक रुपमा अगाडि बढ्नु पर्नेमा जोड दिए । पद्म नर्सिङ्ग होमकी अध्यक्ष इन्दिरा शर्मा सुवेदीले नागरिकको सहज स्वास्थ्य सेवा आफूहरुको उदेश्य रहेको जनाइन् ।
विपन्न र असहाय नागरिकलाई सुलभ स्वास्थ्य सेवा दिन प्रयत्नशील रहेको उनको भनाइ छ । गत वर्ष न्युरोडबाट नदिपुर सरेको नर्सिङ होमले छिट्टै डायलसिस सेवासमेत सुरु गर्न लागेको व्यवस्थापक नरेश पौडेलले जानकारी दिए ।
तपाईको प्रतिक्रिया