हिमपातका कारण साेलुखुम्बु-काठमाडाैं सडक अवरुद्ध, यात्रु अलपत्र

समाधान संवाददाता २०७५ माघ १० गते १३:२१

सोलुखुम्बु, (रासस)

सडकमा हिउँ जमेपछि सोलुखुम्बु–काठमाडाैं सडक अवरुद्ध भएको छ । 

बुधबार भएको हिमपातका कारण सोलुखुम्बु–काठमाडाैं सडकमा हिउँ जमेपछि यातायात पूर्णरुपमा ठप्प भएको हो । हिउँका कारण पैदल यात्रुको आवतजावत समेत पातलिएको छ । सडक मार्गको मुख्य नाका जिल्लाको पत्तालेमा बाक्लो हिउँ जमेका कारण बुधबारदेखि बिहीबार बिहानसम्म कुनै पनि यातायातका साधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा राजधानी काठमाडाैं, प्रदेशको अस्थायी राजधानी विराटनगर लगायत क्षेत्रसँग सोलुखुम्बुको सिधा सडक सम्पर्क विच्छेद भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सञ्जीव चौधरीले जानकारी दिनुभयो । 

Advertisement

उहाँकाअनुसार हिउँ जमेको अवस्थामा सवारी सञ्चालन गर्दा हुनसक्ने दुर्घटनालाई दृष्टिगत गरी जिल्ला भित्रने सवारी साधन ओखालढुङ्गाको ढाडेमा र जिल्लाबाट बाहिर जाने सवारी साधनलाई जिल्लाको बाघखोरमा रोकिएका छन् । पत्ताले क्षेत्रमा हिजोदेखि चार ओटा मालवाहक ट्रक फसेको प्रहरी चौकी पत्तालेका हबल्दार विजय सिवाले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त मालवाहक ट्रक मोडमा फसेको र जेसिवीले समेत तान्न नसकेका कारण उद्धार गर्न सकिएको छैन । मौसममा सुधार आए पनि छायाँ परेको सडक भागमा घाम लाग्न नसक्दा समस्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

Advertisement

सडक यातायात सञ्चालन हुननसक्ने भएपछि यात्रु अलपत्र परेका छन् । बुधबार साँझ सदरमुकाम सल्लेरी आएका केही यात्रु जीपमार्फत बाखखोरमा पुगेर बसेका छन् भने केही यात्रु सदरमुकाम सल्लेरीमै बसेका छन् । आकस्मिक काम परेका यात्रुलाई भने यातायात सञ्चालन नहुँदा समस्या भएको छ । वैदेशिक रोजगारीका लागि शुक्रबार बिहान काठमाडौं पुग्नुपर्ने स्थानीयवासी रामबहादुर तामाङको भनाइ छ । 

सदा झै आज साँझ काठमाडाैं पुग्ने र शुक्रबार काम भ्याउने सोचमा रहनुभएका तामाङ सल्लेरीमै रहनुपर्दा निक्कै चिन्तित बन्नुभएको छ । तामाङले भन्नुभयो, “प्लेन चल्छ, चल्दैन थाहा छैन, गाडी त चल्दैन भन्छन्, भोलिको मेरो काम छुट्ने भयो, निक्कै तनावमा छु म ।” अहिले झन्डै एक सय यात्रु पत्ताले क्षेत्रमा रोकिएको ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार मौसममा सुधार आएपछि आज साँझसम्ममा सवारी आवगमन खुलाउने प्रयास भइरहेको छ । 

तपाईको प्रतिक्रिया