भानुभक्तः भाषिक एकीकरणका विभूति

सूर्य खड्का बिखर्ची २०८१ साउन ३ गते १२:१०

नेपालका विभूति भानुभक्त आचार्यको २११ औं जन्मजयन्ती असार २९ गते मनाइएको छ । नेपाली भाषालाई सरल, सहज र सरसका साथै मौलिकता दिएर समृद्ध बनाउँदै भाषाका माध्यमबाट नेपालको एकीकरण गरेका हुनाले भानुभक्तलाई नेपालका राष्ट्रिय विभूतिका रूपमा सम्मान गरिन्छ ।

Advertisement


आदिकवि भानुभक्त आचार्यको जन्म १८७१ असार २९ गतेका दिन हालको गण्डकी प्रदेशको तनहूँ जिल्लाको चुँदी रम्घामा भएको थियो । उनको पिताको नाम धनञ्जय आचार्य र माताको नाम धर्मावती आचार्य हो । उनको बाजेको नाम श्रीकृष्ण आचार्य हो, जो संस्कृत भाषाका प्रकाण्ड विद्वान् थिए । भानुले उनैको सानिध्यमा रही प्रारम्भिक तहको शिक्षा आर्जन गरेका थिए ।

त्यतिवेला आजभोलिको जस्तो औपचारिक शिक्षा लिन सहज थिएन । उनले स्वाध्ययनको भरमा आफ्नो शैक्षिक योग्यता बढाएका थिए । ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैं सानैदेखि उनी अरूले भनेका कुरा टपक्क टिप्दथे । त्यसैकारणले गर्दा उनले आफ्ना बाजे श्रीकृष्णले वाचन गर्ने संस्कृतका श्लोक कण्ठ पार्दै अरूलाई सुनाउँदै हिँडथे । बाजेकै प्रेरणाबाट उनले नेपालीमा कविता लेख्न थालेका हुन् भन्न सकिन्छ । जुन बेला नेपाली भाषा साहित्यको बगैंचा उजाड थियो । त्यहीबेला उनले नेपाली भाषा साहित्यका बिरुवा रोपेर बगैंचालाई हराभरा बनाउने काम गरेका थिए ।

त्यसैले उनलाई नेपाली साहित्यिक बागका प्रथम माली भन्न सकिन्छ । नेपाली भाषाको वाणीमा पहिलो प्राण भरेकाले उनलाई नेपाली भाषाका अग्रज मानिन्छ । युवाकवि मोतीराम भट्टले भनेझैं भानुलाई आदिकवि भन्न सकिन्छ । यस सम्बन्धमा भट्टको भनाइ उद्धृत गर्नु प्रासङ्गिक ठान्दछु । उनले भनेका थिए– ‘गोरखा भाषामा हुन त, धेरै नामका कवि भानुभक्त भन्दा पहिला भए । तर, कविताको मर्म जानी भाषा पद्य लेख्ने कविहरूमा आदिकवि भानुभक्त नै हुन् ।’ मोतीले गर्दा नै नेपाली साहित्यको आकाशमा भानु, भानु जस्तै चम्केका छन् ।


उनले संस्कृत भाषामा लेखिएको रामायणलाई नेपाली भाषामा उल्था गरेर ठूलो गुन लगाएका थिए । उनले नेपाली रामायण बाहेक भक्तमाला, प्रश्नोत्तरी, बधु शिक्षा जस्ता पुस्तक लेखेर नेपाली साहित्यको मन्दिरमा चढाएका थिए यसैले भानुभक्त आदिकविका रूपमा पुजित छन् । कतिपयका अभिव्यक्तिमा आदिकवि भनिएकोमा चित्त नबुझेको देखिन्छ पनि तर सत्य के हो भने, भानुभक्त अघि नेपाली भाषामा कविता लेख्ने कविहरूमा उनको जत्तिको एकातिर भाषिक मौलिकता थिएन भने अर्कोतिर कविता लेखन, भाषाशैलीमा सरलता, सहजता र सरसता थिएन ।

Advertisement


कवि भानुभक्तको कवितामा भने मौलिकपन भेटिन्छ । उनको कविता लेखन, भाषाशैलीमा ज्यादै सरलता, सहजता र सरसता पाइन्छ, उदाहरणार्थ उनको एक फुटकर कवितांश
‘चपला अबलाहरू एक सुरमा ।
गुनकेशरीको फूल ली करमा ।।
हिँडन्या सखि ली कन ओरिपरि ।
अमरावति कान्तिपुरी नगरी ।।’

उनले नेपाली भाषा साहित्यका बिरुवा रोपेर बगैंचालाई हराभरा बनाउने काम गरेका थिए । त्यसैले उनलाई नेपाली साहित्यिक बागका प्रथम माली भन्न सकिन्छ


आदिकवि भानुका प्रायजसो कवितालाई नियालेर हेर्दा उनलाई दार्शनिक, आध्यात्मिक चिन्तक र प्रकृतिप्रेमीका साथै राष्ट्रिय एकता एवं सामाजिक, सांस्कृतिक एकताको प्रतीकका रूपमा लिन सकिन्छ । यसका साथै उनलाई छन्दवादी र व्यङ्ग्य कविका रूपमा पनि चिन्न सकिन्छ । जस्तैः


विन्ति डिट्ठा विचारीसित म कति गरुँ चुप रहन्छन् नबोली ।
बोल्छन् ख्याल गर्‍या झैं अनि पनि दिन्दिन् भन्दछन् भोलि–भोलि ।।
की ता सक्तीन भन्नू कि तरू छिनिदिनु क्यान भन्दछन् यि भोलि ।
भोलिभोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।।


आदिकवि भानुभक्तले अनुवाद र मौलिक गरी पाँच थान पुस्तकका थुप्रै फुटकर कविता रचना गरेका छन् । ती पाँचवटा कृतिहरूमध्ये रामायण नेपाली साहित्यको प्राथमिक कालमा लेखिएको प्रथम महाकाव्य हो । संस्कृतबाट अनुवादित भए तापनि उनले नेपालीका घरमा बोलिने र प्रत्येका दिन व्यवहारमा आउन सक्ने भाषामा लेखेका छन् । बाह्रखरी जानेकाले पनि पढ्न सक्ने बनाएका छन् । यसमा नेपालीपन छ । वास्तवमा भन्दा उतिबेला अनुवादित यो कृति अहिलेसम्मकै उत्कृष्ट कृति मानिन्छ ।

विभिन्न रसमा लेखिएको यो कृति झरनाको पानी जस्तै रसिलो फूलजस्तो सुन्दर र मिठासले भरिएको छ । यसमा आदर्श पुरुष राम र सीताको कथालाई जोडेर पितृत्वप्रेम, भातृत्वप्रेम, मातृत्व र पतिपरायण र पत्नीप्रतिको अगाध प्रेम प्रकट भएको पाइन्छ । यसका साथै यसमा मित्रता र वीरताको पाठसमेत समेटिएको पाइन्छ । अर्को कुरा उनले रामायण लेख्दा आरम्भमा नै लोकहितको नारा दिएर साहित्यले सबैको हित गर्नुपर्छ भन्ने सन्देश दिएका छन् । उनको दार्शनिक चिन्तन वा आध्यात्मिक चिन्तन भएको प्रश्नोत्तर कविता भित्रको चार पङ्क्ति उद्धरण गरिन्छ–


‘मातासरी सुख दिन्या कुन चिज छ जान्नु ?
विद्यै छ त्यस्तो अरू कौनै खोज्नू ।।
कुन हो जति जति दियो उति बढ्न जान्या ।
विद्यै रहेछ बुझि निश्चय तेही मान्या ।।’


यसमा उनले आज जस्तै हिजो पनि विद्याको महत्व ठूलो थियो भन्ने कुरा दर्शाएका छन् । यसले उनी शिक्षाप्रेमी थिए भन्ने कुराको ज्ञात गराउँछ । नेपाली साहित्यमा वीरधाराले बिदाई गरेर भक्ति धाराको आमन्त्रण, प्रवद्र्धन र सम्वद्र्धन गर्ने भानुभक्तलाई बिर्सनु कस्तुरीले आफ्नै नाइटाको बासना थाहा नपाएर टाढा भौतारिए जस्तै नेपालीले नै नेपाली भाषाको महत्व नबुझेर विदेशी भाषाको पछि लाग्नु दुःखद् कुरा हो ।

आजभोलि उनैले जग हालेर कखरा सिकाएको गुनलाई सम्झेर सम्मान गर्नु पर्नेमा झन् बिर्सेर उनलाई अपमान गर्न खोज्नु र उनको शालिकसमेत भत्काउन खोज्नु मूर्खता सिवाय अरू केही होइन । त्यसैले हामी उनीप्रति कृतघ्न नबनौं, कृतज्ञ बनौं । उनलाई सम्मान गर्नु हामी आफै पनि सम्मानित बन्नु हो किनभने भानुभक्तले गर्दा नै आज हामी आम नेपाली जाति, साहित्यका नाताले संसारभर परिचित र सम्मानित हुँदै गएका छौं । अझ यसको विकास र संरक्षण गर्नु हाम्रो दायित्व हो । जसरी पृथ्वीनारायण शाहले टुक्रिएको देशलाई एकीकरण गरेर विशाल नेपाल राष्ट्रको निर्माण गरेर राजनीतिक जागरण ल्याए ।

त्यसैगरी नेपाली भाषालाई खस भाषाको चौघेराबाट बाहिर ल्याई तमाम नेपाली जातिको साझा भाषा बनाएर एकताको शूत्रमा बाँधिदिए । तसर्थ उनलाई नेपाली जातीय कविका रूपमा पनि सबैले सम्मान गर्नु हामी सबै नेपालीको कर्तव्य हो । यद्यपि उनी हामी जस्तै मानिस नै भएकाले उनका पनि केही कमी–कमजोरीहरू अवश्य छन् तथापि धेरै गुणका राशिमा ती क्षम्य छन् । यसैले आजको चश्मा लगाएर हिजोको अवस्थाको विश्लेषण दृष्टिभ्रम बाहेक अरू केही हुन सक्दैन ।

तपाईको प्रतिक्रिया