बिपीको सच्चा अनुयायी हुने हो भने

ऋषि काफ्ले
नेपाली काँग्रेसका संस्थापक, केन्द्रीय सभापति, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं साहित्यकार बिपी कोइरालाको ४२ औं स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु ।
विश्वेश्वरप्रसाद कोइराला (बिपी) को जन्म १९७१ भाद्र २४ (इसं १९१४) मा हुँदा प्रथम विश्वयुद्धको शुरुआतको अवस्था थियो । संयोग वा नियति नै भन्नुपर्दछ जन्मदेखि जीवनको अन्तिम घडीसम्म कठोर संघर्षको मैदानमा रही विसं २०३९ साल साउन ६ गते उहाँको जीवन अन्त भएको थियो ।
राणा शासनको क्रुरताको विरुद्धमा आवाज उठाउँदा उहाँका पिता कृष्णप्रसाद कोइरालाको परिवार लामो समयसम्म प्रवासमा बस्न बाध्य भएको थियो । प्रवासको बसाइसँगै अध्ययनको क्रमदेखि नै भारतमा रहँदा बिपी त्यहाँका बेलायती कम्पनी सरकारविरुद्ध आन्दोलनमा संलग्न रहनुभयो । भारतको स्वतन्त्रतापछि नेपालको सामन्ती सत्ता पनि ढाल्न सकिन्छ भन्ने उहाँमा दृढविश्वास थियो । त्यही कारण पनि उहाँ भारतबाट अङ्ग्रेज शासनको अन्त्यका लागि बढी सक्रिय भएर लाग्नुभयो । त्यो बेला भारतका उच्च स्तरका नेताहरुसँग सम्पर्क र सम्बन्ध बढ्न जाँदा बिपी कोइरालामा प्रजातन्त्र प्रति झुकाव बढ्यो । भारतको स्वतन्त्रता प्राप्ति पछि नेपालको राणा शासनको विरुद्धमा भएका आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहँदा र पछि पञ्चायत कालमा गरी पटकपटक लामो समयसम्म कष्टकर जेलको यातना समेत व्यहोर्न पर्यो ।
बिपी कोइराला सानै उमेरदेखि धेरै जिज्ञासु स्वभावका भएको हुँदा बढ्दै, पढ्दै अगाडि बढ्दै जानेवेला उहाँले विश्वराजनीतिलाई पनि निकै गहिरोसँग नियाल्दै जानुभयो । त्यतिबेला नेपाल, भारत लगायत विश्वका धेरै मुलुकहरुको राजनीतिक परिवेश सामन्ती स्वरुपको थियो । सत्ताको पहुँच हुने र नहुने उच र निच, लैंगिक असमानता लगायतको शोषणबाट हरेक क्षेत्र र तह विभेदको मारमा परिरहेको थियो । त्यस्ता सत्ता र शक्तिमा विशेष गरी राजतन्त्रात्मक वा गणतन्त्रात्मक शैलीका तानाशाह, सैनिक शासन, धार्मिक कट्टरता र अधिनायकवाद जस्ता शासन व्यवस्था कायम रहँदै आएका थिए ।
त्यस्ता निरंकुश शैलीको शासन व्यवस्था कायम रहेका मुलुकहरुमा शासक र उनीका आसेपासेहरु मालिक र सर्वसाधारण नागरिक दास समान हुने गर्दथे । शासक वर्ग र उनीहरुका अुनयायीहरु धन र शक्तिले सम्पन्न हुन्थे भने सर्वसाधारण नागरिकहरु अभावग्रस्त जीवन जीउन बाध्य हुन्थे । स्वतन्त्रता, समानता, मानवअधिकार र जनजीविकाका विषयहरु त्यतिबेला ओझेलमा परेका, कुण्ठित अवस्थामा रहेका हुन्थे ।
निरंकुश प्रवृत्तिका शासन पद्धति भएका मुलुकहरुमा जनउत्तरदायी सरकार नहुने हुँदा कानुनी शासन र नागरिक अधिकारको सुनिश्चितताका लागि प्रजातान्त्रिक व्यवस्थाको आवश्यकता महसुस हुँदै गयो । हरेक मानिस जन्मले समान हुन्छ । त्यसैले उसले मानव भएर बाँच्न पाउनु पर्दछ । राजनीतिक शक्ति नागरिक इच्छामा आधारित हुनुपर्छ र त्यसको व्यवस्थापन र उपयोग पनि आफैले गर्न पाउनु पर्छ भन्ने धारणाले समाजवादतर्फ आकर्षित गर्दै लग्यो । जसअन्तर्गत प्रजातन्त्र र समाजवाद विचको गठबन्धनका आधारमा निर्मित प्रजातान्त्रिक समाजवादि शासन पद्धति मार्फत नागरिक हित हुने लोककल्याणकारी शासन पद्धतिको अधारणा विकास भयो ।
जसको अभियानमा बिपी कोइराला घनीभूत रुपले लाग्दै जानुभयो । त्यसक्रममा विश्वका प्रजातान्त्रिक समाजवादका अभियान्ताहरुसँग सम्पर्क बढाउँदै जानुभयो र आफू पनि संलग्न रहनुभयो । त्यसैको फलस्वरुप २०१४ सालको चैत महिनामा बिपी कोइरालाको सक्रियतामा एसियन सोसलिष्ट कन्फ्रेन्सको व्युरो वैठक काठमाडौंमा सम्पन्न भयो ।
बिपी कोइरालालाको मुख्य धेय प्रजातान्त्रिक समाजवादी व्यवस्था मार्फत बलियो राष्ट्रियता, समृद्ध देश, नैतिक मूल्यमा आधारित सभ्य र व्यवस्थित समाज निर्माण र नागरिक जीवन स्तरयुक्त, स्वतन्त्र एवं आदर्श बनोस् भन्नेमा केन्द्रित थियो । त्यसको जगले मानव समुदाय बीच हुने विभेद अन्त्य होस् । तल्लो वर्ग र वञ्चितीकरणमा परेकाहरुको उत्थान हुन सकोस् । सबैले सहज रुपले पढ्न लेख्न पाउन् । औषधी उपचार सहज रुपमा होस् ।
नेपालका प्रत्येक मानिसका घरमा कम्तीमा एक दुहुनो गाई होस् । नांगै हिँड्न नपरोस् । सबैले सहज रुपमा दुई छाक खान पाउन् । सुरक्षित बास होस् भन्ने किसिमका मानवोचित आधारभूत आवश्यकताका परिपूर्ति गर्नपर्ने विषयहरु जोडसँग उठाउनु भएको थियो । जुन विचार आज पनि उत्तिकै सान्दर्भिक छ । समयको गतिशिलता र सभ्यताले ल्याउने उपयोगका वस्तुहरुको तादम्यता भने परिवर्तित हुँदै जान्छ र त्यसलाई पच्छ्याउन सक्नु नै समाज परिवर्तनको आधार हुन्छ ।
प्रजातान्त्रिक समाजवाद अनुरुपको नीति र योजना बनाई देशमा कार्यान्वयन गर्न र तत्कालिन समाजमा कायमर रहेको सामन्ती सत्ताको अन्तका निम्ति गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका साथीहरुको सहयोग लिई २००३ सालमा नेपाली काँग्रेस पार्टी स्थापना गर्न अग्रणी भूमिका निर्वाह गर्नु भएको थियो ।
तत्कालीन समाजमा विद्यमान रहेका केही साझा मुद्दाहरु थिए ।
राज्यसत्तामा विद्यमान सामन्ती प्रवृत्तिको अन्त गरी हरेक क्षेत्रमा हुने विभेदपूर्ण नीतिको अन्त, प्रजातान्त्रिक पद्धतिको विकास, राष्ट्रियताको सुनिश्चितता, तल्लो वर्गको उत्थान र नागरिकको जीवनस्तरमा समयसापेक्ष रुपान्तरण ल्याउनु तत्कालीन आवश्यकताहरु थिए । यही मूल आधारमा पार्टी संगठन गतिशील भई अगाडि बढ्ने क्रममा २००७ सालको आन्दोलनले प्रजातन्त्र स्थापना गर्न सफल भयो । बिपी कोइरालाकै सक्रियतामा २०१२ सालमा बीरगञ्जमा भएको नेपाली काँग्रेस छैटौं महाधिवेशनबाट पार्टीको सिद्धान्तमा थप स्पष्ट पारी राष्ट्रियता, प्रजातन्त्र र समाजवाद पारित गरियो ।
बिपी कोइराला २०१५ सालको आम निर्वाचनमार्फत देशको प्रथम जननिर्वाचित प्रधानमन्त्रि हुँदा त्यही सिद्धान्तहरुको कार्यान्वयनका पक्षमा जवर्दस्त लाग्नु भएको इतिहास साक्षी छ । त्यतिबेला अधिराज्यका विभिन्न स्थानमा प्रसस्त स्कुलहरुसँगै त्रिभूवन विश्वविद्यालयको स्थापना, मन्त्रीहरुको तलव घटाएर देशलाई मितव्ययि बनाउने, भूमिसुधार, वनको राष्ट्रियकरण, विर्ता उन्मूलन, राजा रजौटा प्रथाको अन्त्य, वैदेशिक अनुदान सहयोगमा वृद्धि, वैदेशिक कुटनीतिक सम्बन्धमा विस्तार लगाएतका क्रान्तिकारी परिवर्तन हुने काम गर्नु भएको थियो ।
आफूभन्दा अगाडिका प्रधानमन्त्रीले खाइपाई आएको मासिक सुविधा रु २५०० बाट घटाई १५०० मा सीमित पार्नुभयो । देशको योजना तर्जुमा गर्दा राजाको फोटोसँगै हलोजोत्ने किसानको फोटो राख्नु ता कि योजनामा उनीहरु प्राथमिकतामा परुन् भन्दै योजना आयोगलाई निर्देशन दिनुभएको थियो । उहाँले त्यो समयमा अन्तर्राष्ट्रिय स्वसलिष्ट सम्मेलनहरुमा आफ्ना धारणा प्रस्तुत गर्नु भएको थियो । त्यही कारण उहाँ उच्चस्तरको समाजवादि विचारकका रुपमा स्थापित हुन सफल हुनुभएको थियो ।
बिपी कोइराला भन्नु हुन्थ्यो—मुलुकले प्रजातान्त्रिक समाजवादि व्यवस्थालाई अपनाउन सकेन भने कुनै पनि किसिमको तानाशाही हस्तक्षेप व्यहोर्नु पर्छ । त्यसैले हामी प्रजातन्त्रको नाममा शोषणलाई स्वीकार गर्दैनौ र समाजवादको नाममा प्रजातन्त्रको हत्या गर्न दिदैनौँ भन्ने गर्नुहुन्थ्यो । उहाँले राष्ट्रप्रतिको नागरिकको प्रेमको सामूहिक मनोभाव नै राष्ट्रियता हो भन्ने गर्नुहुन्थ्यो । प्रत्येक राष्ट्रको इतिहासमा राष्ट्रियताका विषयमा संकटको अवस्था पनि आउन सक्दछ र त्यस्तो अवस्था आएमा देशका प्रत्येक नागरिकले आफ्नो ज्यानको प्रवाह नगरीकन राष्ट्रको अस्तित्वको रक्षा गर्न कुनै हिचकिचावट गर्नु हुँदैन । तर प्रजातन्त्र नभै राष्ट्रिय एकता हुन सम्भव हुँदैन ।
अधिकार विहिन नागरिक राष्ट्रको रक्षामा सक्रिय हुन सक्दैनन् । नागरिकको आर्थिक सुधार भएन भने पनि राष्ट्रियताको रक्षा हुँदैन । त्यसैले देश र नागरिकको आर्थिक विकासको अभावमा प्रजातन्त्र र राष्ट्रियता दुवै कमजोर हुन्छ । आर्थिक जगमा प्रजातन्त्र र राष्ट्रियता दुवै अडेको हुन्छ । राष्ट्रियताको आधार स्तम्भ नै प्रजातन्त्रमा अडिएको हुन्छ । प्रजातन्त्र बलियो भएमा मात्र समाजवादको स्थापना गर्न सकिन्छ । त्यसैले काँग्रेसले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आफ्नो पार्टीको मूल सिद्धान्त बनाएको थियो । तरुणहरु प्रतिबिपीकोइराला इङ्गित गर्दै भन्नुहुन्थ्यो तरुण साथीहरु भविष्य उज्जल छ र त्यो भविष्य तपाइहरुको हो । आँफूलाई त्यो उज्जल भविष्यको उत्तराधिकारी भन्ठान्नुहोस्, त्यस अनुरुप आँफूलाई बनाउनुहोस् र कर्तव्य गर्नुहोस् । यदि आफ्नो दायित्व प्रति उदासिन रहनुभयो या दायित्व बुझ्नु भएन र तदनुुरुप सक्रिय हुनुभएन भने पछि पछुताउनु शिवाय अरु केही हुनेछैन ।
यसरी तय गरिएका सिद्धान्तको मर्म र सारअनुसार चल्नका निम्ति स्पष्ट आर्थिक नीतिका साथ कुन क्षेत्रमा कसरी लगानी गर्दा कति समयमा कस्तो प्रतिफल दिन सक्छ र देशलाई कति समयमा कुन स्तरमा पु¥याउन सकिन्छ, त्यसको यथार्थ खाका तयार गरी लागु गर्न ढिलो भै सकेको उहाँको अभिव्यक्ति थियो । अव कागज, दस्तावेज र बोलिमा नभै योजना कार्यान्वयनबाट ठाउँठाउँमा नमुनाको रुप देखाउन सक्नुपर्छ । त्यसका निम्ति पुँजिवादी भासमा जान लागेको आर्थिक नीतिमा सुधार गरी सही योजना तर्जुमा गरी परिवर्तनको छनक दिनका निम्ति पहिलो सर्त सुशासनको हुन्छ, त्योसँगै अनियमितता र भ्रष्टाचारको अन्तगरि न्याय र अवसरमा समानताको सिद्धान्त अवलम्वन हुनुपर्छ भन्ने उहाँको धारणा रहेको थियो ।
उत्पादनमा व्यापक वृद्धि र समान वितरणलाईबिपीकोइरालाले नेपालको विकासको मूल आधारशिलाका रुपमा लिनुभएको थियो । त्यसको यथार्थ रुप दिनका निम्ति देश विकासको मूल आधार कृषीलगायत हरेक क्षेत्रको उत्पादन, त्यसमा आधारित उद्यमशिलता र पर्यटन हुन् र तिनलाई व्यवस्थित तुल्याउन सकेमात्र विकास र समृद्धिले फड्को मार्दछ । त्यसका निम्ति यहाँका श्रोत साधन र जनशक्तिको जुन स्तरमा उपयोग गरिन्छ त्यही अनुसारको प्रतिफल प्राप्त हुन्छ किनकि कुन स्तरमा कसरी काम गरिन्छ त्यसैमा भर पर्छ भन्ने उहाँको अभिव्यक्ति थियो ।
त्यसका निम्ति :
१. देशभरको सोत साधन पहिचान गर्ने । कहाँ के श्रोत छ ? र कहाँ के हुन्छ ? त्यसको विषयगत विज्ञहरुको सहयोगमा सुक्ष्म र मिहिन ढंगले पहिचान गर्ने । जुन काम राज्यसत्ताको तल्लो तह वडाबाट हरेक ठाउँको स्याम्प्लिङ गरी माटो, भूगोल र हावापानी जाँच गर्ने ।
२. त्यसरी प्राप्त स्रोत साधनलाई सही उपयोग गरी अत्याधिक लाभ लिनका निम्ति विषयगत अध्ययन, अनुसन्धान र काम मार्फत उत्पादनमा व्यापक वृद्धि गर्न सक्ने प्रविधियुक्त एवं दक्ष जनशक्ति उत्पादन गर्ने ।
३. प्राप्त स्रोत साधनलाई प्रविधियुक्त जनशक्तिले आधुनिक प्रविधिसँग जोडेर उत्पादनमा व्यापक वृद्धि गर्ने ।
४. त्यसरी उत्पादन गरिएका वस्तुहरु (कच्चा पदार्थ) को आधारमा हरेक क्षेत्र र तहमा व्यक्ति व्यक्ति, घर, टोल, समाज हुँदै ठूलासम्मका उद्योगहरु स्थापना गरी बढीभन्दा बढी सामाग्रीहरु उत्पादन गर्ने ।
५. उद्यमशीलताबाट उत्पादित ती सामाग्रीहरु एक घरबाट अर्काे घर, एक टोलबाट अर्काे टोल, एक वडाबाट अर्काे वडा, एक पालिकाबाट अर्काे पालिका, एक जिल्लाबाट अर्काे जिल्ला, एक प्रदेशबाट अर्काे प्रदेशमा लगी हाटबजार, बिक्रीकक्ष, महोत्सव जस्ता व्यवस्थित कार्ययोजना बनाई व्यापार व्यवस्थापन गरी देशभर बजारीकरण गर्ने । त्यहाँ उत्पादित वस्तु जहाँ जे माग हुन्छ त्यही सामान त्यहाँ पु¥याउने गरी विदेशमा समेत बजारीकरणको व्यापकता बढाउने ।
कृषि लगायत अन्य क्षेत्रका उत्पादन राम्रो हुँदा र उद्यम फस्टाउँदा दह्रो आत्मनिर्भर बनिने छ भने पर्यटन क्षेत्रमा समेत निकै ठूलो टेवा पुग्नेछ । कृषिसँगै अन्य वस्तुहरु उत्पादन र उद्योगहरु राम्रो हुँदा त्यसको अध्ययन, अवलोकन गर्न पर्यटकहरु आउने गर्छन् । यी समग्र कामले नागरिकमा आत्मनिर्भरता हुँदै राष्ट्रको रुप समृद्धिले बदलिनेछ ।
लोकतान्त्रिक समाजवादि व्यवस्था अन्तरगतका राज्यसत्ता भएका मुलुकमा नागरिक हित प्रति सत्ता सर्वाेपरि हुनपर्ने हुँदा यी विषयको दायित्व र कर्तव्य राज्यको हुनुपर्छ ।
१. नागरिकमा सुरक्षित आवासको व्यवस्था ।
२. शिक्षामा सबैको सहज पहुँच ।
३.स्वरोजगार र रोजगारको व्यवस्था ।
४. खाद्यन्न सुरक्षणका निम्ति डिपोहरुको व्यवस्थापनमा व्यापकता ।
५.ज्येष्ठ नागरिकहरुको निम्ति निवृत्तिभरणको समुचित व्यवस्थापन ।
यी र यस्ता विषयहरुको आधार स्तम्भ मजवुत बनाउन पार्टीमा समर्पित भई प्रतिफल प्राप्त हुने गरी लाग्नु पर्दछ । त्यसो भएमात्र आस्था प्रतिको इमान्दार बनिनेछ । राष्ट्र र नागरिकप्रति कर्तव्यनिष्ठ भइनेछ । ती नागरिकप्रति भरोसा योग्य भईबिपीकोइरालाको अनुयायी भएको सार्थकता हुनेछ ।
तपाईको प्रतिक्रिया