‘स्कुल बस स्पिड थियो, घुम्तीबाट खस्यो’

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २१ गुड्कुस्थित ग१क ६२१९ नम्बरको स्कुल बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । रामदीबाट पोखरातर्फ आउँदै गरेको बिरौटाको ‘एलपी देवकोटा मेमोरियल इङलिस बोर्डिङ स्कुल’को बस दुर्घटना भएको हो । दुर्घटनामा ६ वर्षीय प्रिन्स विक र ३३ वर्षीय आरती विकको मृत्यु भएको हो । उनीहरु आमाछोरा हुन् । आरती सोही स्कुलको कार्यालय सहयोगीका रुपमा काम गर्दै आएकी थिइन् । प्रिन्स युकेजीमा पढ्थे ।
कृस्तीबाट विद्यार्थी लिएर पोखरा आउँदै गर्दा रामदी भन्ने ठाउँ नजिक घुम्तीबाट ५० मिटर तल सडक किनारमै पुगेको थियो । सडकबाट ५० मिटर तल खस्दा २ जनाको मृत्यु हुँदा २८ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा विद्यार्थी, शिक्षक, डाइभर, कर्मचारीसहित अभिभावक पनि घाइते भएका छन् । छोरेपाटन सेकेन्डरी स्कुलकी १४ वर्षीय सीतादेवी विक पनि घाइते भएकी छिन् । उनी प्रयाः सोही विद्यालयको गाडीमा स्कुल आउने गर्थिन् । उनको स्वास्थ्य अवस्था सामान्य छ ।
फी बुझाउन स्कुलकै बसमा आएकी अभिभावक ३० वर्षीया सुमित्रा सुनार पनि घाइते भएकी छिन् ।
दुर्घटनामा सोही विद्यालयकी शिक्षिका ३० वर्षीया सपना आले पनि घाइते भएकी छिन् । स्कुल बसका चालक बिरौटा बस्ने ५५ वर्षीय टेकबहादुर भुजेल पनि पनि सामान्य घाइते भएका छन् । सोही स्कुलमा पढ्ने बाँकी २४ जना विद्यार्थीको अवस्था पनि सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइते हुनेमा कृस्तीका ९ वर्षीय अनमोल विक, ५ वर्षीय रोशन बराल, १४ वर्षीय दिप्सन कार्की, ६ वर्षीय योना गुरुङ, १३ वर्षीय डिना गुरुङ, १५ वर्षीय प्रकृति कार्की, ६ वर्षीय प्रिन्स राना, रामदी बस्ने ७ वर्षीय चिजा विक घाइते भएका छन् । यस्तै, ९ वर्षीय प्रवेश कार्की, १२ वर्षीय विसिका पौडेल, ११ वर्षीय विश्वास पौडेल, १२ वर्षीय सिम्रन विक र रामदी बस्ने ११ वर्षीय विवश खत्री घाइते भएका छन् । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कृस्तीकै ८ वर्षीय अनन्या पौडेल, ३ वर्षीय सिमन मगर, ३ को न्यूजन मगर, ७ वर्षीय रिजन मगर, १२ वर्षीय रामकृष्ण नेपाली, २ वर्षीय अंकित खत्री ७ वर्षीय अस्मित विक, २ वर्षीय निर्दोष सुनार, ११ वर्षीय निश्चल सुनारको उपचार भइरहेको छ । उनीहरुको अवस्था समान्य रहेको चिकित्सकहरुले बताएका छन् । मणिपाल शिक्षण अस्पतालमा रामदीका ८ वर्षीय निशान सुनार ५ वर्षीय सागर थापाको उपचार छन् । २८ जना घाइते र आमाछोराको मृत्यु हुने गरी भएको दुर्घटनाको कारण ‘ओभरस्पिड’ रहेको घाइते विद्यार्थीहरुबाट थाहा भएको छ । बस दुर्घटना भएर घाइते भएका विद्यार्थीको उपचार भइरहेको अस्पतालमा गएर पोखराका मेयर धनराज आचार्यले अवस्था बुझेका थिए । घाइतेहरुले मेयर आचार्यलाई बस स्पिड रहेको खुलाएका हुन् । ‘पहिला त्यस्तो हुन्थेन, आज बस एकदम स्पिड थियो,’ एक विद्यार्थीले भने, ‘बस सीधै गएर घुम्तीबाट खस्यो ।’
फुस्रेखोला–रामदी–मट्टीखान सडक निर्माण उपभोक्ता समितिका सदस्य समन गुरूङले भने पहिले–पहिले पनि चालकले तीव्र गतिमा बस चलाउने गरेको बताएका छन् । ‘भर्खरै बनाएको नयाँ बाटो हो, अलि बिस्तारै चलाऊ है भनेर पटकपटक भन्दै आएका थियौं,’ उनले भने, ‘कच्ची बाटो भएको भए बरू स्पिड कम हुन्थ्यो, दुर्घटना हुँदैनथ्यो । पक्की बाटो भएपछि मनलाग्दी स्पिड भयो ।’ दुर्घटनाका प्रत्यक्षदर्शी रामदी–एकहाते टोल विकास संस्थाका अध्यक्ष कृष्ण देवकोटाका अनुसार माथिल्लो घुम्तीबाट बिजुलीको पोल, चिलाउनेको रूखमा ठोक्किँदै बस तल्लो सडकमा आइपुगेको थियो । नयाँ कालोपत्रे भएकाले सडकमा भएका मसिना ग्राभेलले दुई पांग्रे सवारी चिप्लिने गथ्र्याे । तीन दिनअघि मात्रै संस्थाले सडक डिभिजन कार्यालयमा गएर समयमै काम सक्न, बाटोको ग्राभेल सफा गर्न आग्रह गरेको थियो ।
दुर्घटना छानबिन समिति
२ जनाको मृत्यु र २८ जना घाइते हुने गरी भएको स्कुल बस दुर्घटनाबारे पोखरा महानगरपालिकाले छानबिन समिति गठन गरेको छ । शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा छानबिन समिति बनेको हो । मेयर धनराज आचार्यले ७ दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिएका छन् । समितिमा उपसचिव कृष्णप्रसाद तिवारी, महानगरीय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापा र मेकानिकल इञ्जिनियर सरोज चालिसे सदस्य छन् । समितिको सदस्य सचिवमा शिक्षा अधिकृत रामप्रसाद तिवारीलाई तोकिएको छ । समितिलाई दुर्घटनाको कारण, सवारी साधन, चालकको अवस्था, बसमा सवार विद्यार्थीहरूको संख्या, विद्यार्थी राख्न पाउने संख्या लगायत विषयमा छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाजारी गरेको विज्ञप्तिमा छ ।
स्पिड नियमित जाँच गर्न माग
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अखिल) कास्कीले प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई बसको स्पिड नियमति जाँच गर्न माग गर्दै ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छ । रामदीबाट पोखरातर्फ आउँदै गरेको बिरौटाको ‘एलपी देवकोटा मेमोरियल इङलिस बोर्डिङ स्कुल’को बस दुर्घटनामा २ जनाको मृत्यु र २८ जना घाइते भएको भन्दै स्कुल बसको नियमित जाँच गर्न माग गर्दै पत्र बुझाएको छ । ‘विद्यार्थीहरू ओसारपोसार गर्ने बसहरूको नियमित रूपमा जाँच गरियोस् । पुराना बसहरू केही विद्यालयहरूले सञ्चालन गरेको पाइएकाले छानबिन गरी तुरुन्त रोक लगाइयोस्, कारबाहीको दायरामा ल्याइयोस्,’ अखिल कास्की अध्यक्ष सन्तोष पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्कुल बसहरू विद्यार्थी ओसारपसरमा अनियन्त्रित रूपमा तीव्र गतिका साथ गुडाइएको पाइएकाले गति नियन्त्रण गर्न माग गदर्छौं ।’
अखिलले विद्यालय बसहरूको सिट क्षमताभन्दा बढी विद्यार्थीहरू नराख्न राखे कारबाहीको माग गरेको छ । अखिलले मापदण्ड विपरीत र दुव्र्यसनीमा फसेका व्यक्तिहरूले विद्यालयको बस चलाउने गरेको पनि आंैल्याएको छ । त्यसको छानबिन गर्न माग गरेको छ । अखिलले जिल्ला शिक्षा कार्यालय कास्की, प्याब्सन, एनप्यब्सनसहितको बैठक २४ घण्टाभित्र बोलाउन पनि माग गरेको छ ।
तपाईको प्रतिक्रिया