दमौली सबस्टेसन बनाउन भारतीयसँग सम्झौता

समाधान संवाददाता २०८१ साउन १७ गते १०:४०

पोखरा ।
तनहुँको दमौलीमा एमसिए नेपालले ४०० केभी क्षमताको नयाँ सबस्टेसन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एन्ड इञ्जिनियरिङ लिमिटेडसँग सम्झौता गरेको छ । यो सम्झौतासँगै एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण गर्न लागिएका ४ सय केभीका तीनवटै सबस्टेसन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको छ । नयाँ दमौली सबस्टेसनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेसनबीच विद्युत प्रसारणका लागि महत्वपूर्ण सेतुका रूपमा काम एमसिए नेपालले जनाएको छ ।


सबस्टेसन निर्माणका लागि ३ करोड ८८ लाख अमेरिकी डलरको ठेक्का सम्झौता एमसिए नेपालले गरेको हो । निर्माण सम्पन्न भएपछि नयाँ दमौली सबस्टेसन पनि सोही कम्पनीसँग २०८१ साल जेठमा निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको रातमाटे सबस्टेसन जस्तै एक हजार मेगा भोल्ट एम्पिएर क्षमताका नेपालकै ठूला सबस्टेसनमध्ये एउटा बन्नेछ । उक्त नयाँ दमौली सबस्टेसनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेसनबीच विद्युत् प्रसारणका लागि महत्वपूर्ण सेतुका रूपमा काम गर्नेछ ।


कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्प्सन, अर्थ मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरे, एमसीए नेपालका सञ्चालक समितिका सदस्यहरू, नेपाल सरकार, अमेरिकी दूतावासका अधिकारीहरू र अन्य विशिष्ट व्यक्ति सहभागी थिए । कार्यक्रम बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण गरिने सबस्टेसनले नेपालको विद्युत् वितरण प्रणालीको सशक्तीकरणमा महत्वपूर्ण योगदान गर्दै आर्थिक समृद्धिका लागि मार्गप्रशस्त गर्ने विश्वास बताए ।

Advertisement

३ करोड ८८ लाख अमेरिकी डलरको ठेक्का सम्झौता

उनले यी तीनवटै सबस्टेसनले नेपालको विद्युत् वितरण प्रणालीको सशक्तीकरणमा महत्वपूर्ण योगदान गर्दै आर्थिक समृद्धिका लागि मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे । उनले आयोजना समयमै सम्पन्न गर्नका लागि सशक्त पहल गर्न पनि सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई आह्वान पनि गरे । नेपालको फैलँदो ऊर्जा क्षेत्रका लागि यी तीनवटा सबस्टेसन महत्वपूर्ण छन् र यिनीहरूले नेपालको आर्थिक विकासका लागि आवश्यक औद्योगिक र व्यापारिक क्रियाकलाप विस्तार गर्न भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्नेछ ।

Advertisement


अमेरिकी राजदूत थम्प्सनले नेपाल सरकार, अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र एमसिए–नेपालसँग काँधमा काँध मिलाउँदै यो आयोजनाको प्रगति र नेपालको सुन्दर भविष्य निर्माणका लागि महत्वपूर्ण हुने बताए । ‘समावेशी एवं दिगो आर्थिक विकासमार्फत नेपालको घर घरमा ऊर्जा पुर्‍याउन, नेपाली अर्थतन्त्रलाई थप ऊर्जा प्रदान गर्न, रोजगारी सिर्जना गर्न र गरिबी न्यूनीकरण गर्न नेपालसँग सहकार्य गर्दै एमसीसी नेपाल कम्प्याक्ट हाम्रो साझा सफलताको कथाको महत्वपूर्ण अंग बन्दैछ,’ उनले भने ।

एमसीए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा गएको पहिलो वार्षिकोत्सवको पूर्वसन्ध्यामा तीनैवटा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएकाले यो महत्वपूर्ण कोसेढुंगा हुने बताए ।


तीनवटा सबस्टेसनका अतिरिक्त काठमाडौंको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म ३१५ किमि लामो प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दैछ । अहिले १८ किमि लामो सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रहरूको मूल्यांकन कार्य भइरहेको छ ।

एमसीए–नेपालले यसको निर्माण सम्झौता यही साउनमा गर्ने लक्ष्य लिएको छ । त्यस्तै, बाँकी २९७ किमि प्रसारण लाइन निर्माणका लागि यसै वर्ष यथाशीघ्र पुनः बोलपत्र आह्वान गर्ने तयारी भइरहेको छ । एमसिए–नेपालले सडक मर्मत आयोजनातर्फ फूल डेप्थ रिक्लेमेसनसम्बन्धी खरिदका लागि यही वर्षको भदौभित्र बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया