
जोमसोम ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ४ कागबेनीमा शुक्रबारदेखि यार्तुङ महोत्सव सुरु भएको छ । धार्मिक तथा सांस्कृतिक पर्वको अवसरमा कागबेनीको मुख्य आयोजना र कागबेनी गाउँ समाजको सहआयोजनामा महोत्सव भएको हो ।
यार्तुङ मुस्ताङमा बसोबास गर्ने गुरुङ, बिष्ट र लोवा समुदायले सदिंयौदेखि हर्षाेल्लाका साथ मनाउँदै आएका छन् । हिमाली क्षेत्रको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, कला, संस्कृति तथा परम्परागत भेषभूषा संरक्षण सम्वद्धन एवं पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
यार भनेको बर्खायाम र तुङको अर्थ पर्व हुन्छ । बर्खा याममा उवा र जौ लगायतका बाली थन्क्याएर खेतबारीमा फापर छरिसकेपछि हिमाली जिल्लाका कृषक फुर्सदिला हुन्छन् । यो पर्वले बर्खायाम सकिएर हिउँद याम सुरु भएकोसमेत संकेत गर्छ । यार्तुङ सधैंझै खेती किसान र पर्यटन व्यवसायमा समेत फुर्सद हुने समयमा मनाइन्छ ।
यो पर्वमा मानिसहरु भेला हुने, राम्रो लगाउने, मीठा खानाका परिकार बनाएर खाने र रमाइलो गर्ने प्रचलन छ । यार्तुङले हिमाली सभ्यता र संस्कृति जोगाएर राख्न महत्वपूर्ण भूमिका खेलेको छ । पछिल्लो समय गाउँका धेरैजसो युवा विदेश पलायन हुने र गाउँमा भएका युवासमेत पाश्चात्य संस्कृतितर्फ उन्मुख हुँदा समस्या देखिएको छ ।
यसले हिमाली क्षेत्रको मौलिक संस्कृति, सभ्यता र परम्परा खतरामा पर्न सक्ने सरोकारवालाहरुको चिन्ता छ । बर्सेनि मनाइने यार्तुङ पर्वका पछिल्ला ५ संस्करणमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । पालिकाको सहयोगमा बर्सेनि वडा स्तरमा वारागुङ मुक्ति क्षेत्रका ५ वटै वडामा आलोपालो यार्तुङ महोत्सव सञ्चालन गर्ने गरिएको छ ।
छैठौं संस्करणको यार्तुङ महोत्सव कागबेनीमा आइतबारसम्म चल्नेछ
यस वर्ष छैठौं संस्करणको यार्तुङ महोत्सव कागबेनीमा सुरु भएको छ । त्यहाँ ३ दिनसम्म यार्तुङ महोत्सव सञ्चालन हुनेछ । छैठौं कागबेनी यार्तुङ महोत्सव गाउँपालिका अध्यक्ष रिन्जिङ नाम्ग्लेङ गुरुङ, उपाध्यक्ष ढिकी गुरुङ र वडाध्यक्ष कर्मा घ्याचो गुरुङले सुरुआत गरे ।
गाउँपालिका अध्यक्ष गुरुङले हिमाली क्षेत्रको संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनमा योगदान गर्ने उद्देश्यले गाउँपालिकाले सहकार्य गरेको जनाए ।
लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले हिमाली क्षेत्रको मौलिकता र संस्कृति हराउँदै जान थालेको भन्दै चिन्ता जनाए । उनले यहाँको जातीय पहिचानसमेत खतरामा पर्न थालेको दाबी गरे ।
बाह्रगुङ मुक्ति क्षेत्र गाउँपालिका उपाध्यक्ष डिकी गुरुङ, वडाध्यक्ष कर्मा घ्याचो गुरुङ, वडा सदस्य मेन्दोक गुरुङ र स्थानीय लक्ष्मी गुरुङले यार्तुङ पर्व र यसको महत्वमाथि प्रकाश पारे ।
यसपालिको यार्तुङ महोत्सवमा गाउँपालिका अन्तर्गतका १९ गाउँको सहभागिता छ । महोत्सवमा परम्परागत घोडा दौड प्रतियोगिता हुनेछ । घोडचढी नै हिमाली क्षेत्रको मौलिक संस्कृति भएकाले मौलिक भेषभूषामा सजिएर घोडा दौड प्रतियोगिता सञ्चालन हुने महोत्सव आयोजक समिति संयोजक युण्डुक गुरुङले जानकारी दिए । यसका अलावा अन्तर क्लब परम्परागत तारो खेल प्रतियोगिता पनि हुनेछ ।
महिलाका लागि डोरी तान्ने खेल हुनेछ भने अन्तर गाउँका क्लब स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता पनि हुने छ । यार्तुङमा सांस्कृतिक कार्यक्रम कन्सर्ट र डान्स पार्टी पनि आयोजना गरिएको छ । स्थानीय मौलिक भेषभूषा प्रर्वद्धन गर्ने उद्देश्यले फेसन सोसमेत गरिँदै छ । फेसन शोमा सहभागी हुनेले जातीय पहिचान झल्किने पोशाक लगाउनुपर्ने छ ।
यार्तुङ महोत्सवका माध्यमबाट यहाँको धर्म, संंस्कृति र परम्परालाई उजागर गरी पर्यटन प्रर्वद्धनसँगै संस्कृति जर्गेर्ना गर्ने मुख्य उद्देश्य रहेको यार्तुङ महोत्सव संयोजक गुरुङले उल्लेख गरे ।
महोत्सव अवलोकनका लागि मुस्ताङको तल्लो क्षेत्र घासादेखि उपल्लो मुस्ताङका बासिन्दा कागबेनीमा आउका छन् । यार्तुङ मुस्ताङको बाह्र गाउँ क्षेत्र र उपल्लो मुस्ताङको लोछोदिन क्षेत्रका समुदायले फरक फरक तिथिमा हर्षउल्लासका साथ मनाउने प्रचलन छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









समानुपातिक सूची सच्याउँछाैँ : रवि लामिछाने
पोखरा महानगर कार्यालय वाणिज्य बैंकको भवनमा
डा. देवकोटा विश्वका उत्कृष्ट ‘पहिरो वैज्ञानिक’ को सूचीमा
सम्पादकीय—समानुपातिक प्रणालीको हुर्मत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया