जिल्ला समन्वय समितिको आवश्यकता र भूमिकामाथि बहस

पोखरा । जिल्ला समन्वय समिति कास्कीले आफ्नो सातौं स्थापना दिवस मनाएको छ। कार्यक्रमको नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले उद्घाटन गरिन् । मन्त्री भट्टराईले जिल्ला समन्वय समितिका काम थप प्रभाबकारी बनाउन आफ्नो तवरबाट प्रयत्नशील रहने भन्दै नीतिगत अप्ठ्यारो हटाउन सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाइन् ।
विकास निर्माणलाई उत्कृष्ट बनाउन जिल्ला समन्वय समिति अति आवश्यक भएको भन्दै आवश्यक ऎन, कानुन, नीति निर्माणमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सरोकारवाला मन्त्रालयलाई जानकारी गराउने उनले उल्लेख गरिन् । उनले शिक्षा क्षेत्रका दसकौं देखिका विकृति समाधान गर्ने गरी आफ्नो तर्फबाट नीतिगत व्यवस्था बनाउँदै शिक्षालाई राज्यको दायित्व हो भनेर कार्यान्वयन गर्ने वातावरण सृजनामा लाग्ने उल्लेख गरिन् ।

प्रस्तावित शिक्षा ऎनलाई परिमार्जनसहित जारी गर्ने संकेत गर्दै मन्त्री भट्टराईले ऎनको प्रभावकारी कार्यान्वयन मार्फत समस्या समाधानमा केन्द्रित हुने मन्त्री भट्टराईले बताइन् । शिक्षामा हाम्रो होइन राम्रो मान्छेले नेतृत्व गर्ने परिपाटी बसाल्ने भन्दै मन्त्री भट्टराईले हाम्रा विश्वविद्धालय र शिक्षा सक्षम र सबल छन् भन्ने सन्देश निर्माणमा लागी पर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
जिसस कास्की प्रमुख लीलाधार पौडेलले संवैधानिक व्यवस्था अनुसार थप मजबुत कार्य सम्पादनमा कानुन अभाव महत्त्वपूर्ण अप्ठ्यारो भएको उल्लेख्य गर्दै यस बारेमा संघ र प्रदेश सरकारको पटकपटक ध्यानाकर्षण गराएको उल्लेख गरे । संविधानमा विद्यमान व्यवस्थाबाट उत्कृष्ट कार्य सम्पादनमा आफूहरू प्रयत्नशील रहेको उनको भनाइ थियो।
कार्यक्रममा संघीयतामा जिल्ला समन्वय समितिको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता गिरिधारी सुवेदीले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि जिससलाई बलियो अनुगमनकारी र नियामक निकायको रूपमा स्थापित गर्नुपर्ने संघ सरकार र प्रदेशले संविधान बमोजिम बनाउनु पर्ने कानुन नबनाउँदा जिससको काम प्रभावकारी हुन नसकेको उल्लेख गरे।
सो अवसरमा जिल्लाका उत्कृष्ट कर्मचारी तथा एसइई परीक्षामा उत्कृष्ट हुने विद्यार्थी, विद्यालयहरूलाई नगद र कदरपत्रले सम्मान समेत गरिएको छ ।
सम्मानित हुने कर्मचारीहरूमा अन्नपूर्ण गाउँपालिकाका कार्यालय सहयोगी ओमप्रसाद अधिकारी, रूपा गाउँपालिकाका लेखापाल लेखनाथ अधिकारी, मादीका जनस्वास्थ्य अधिकृत गोपालचन्द्र बराल, पोखरा महानगरका शाखा अधिकृत खुमलाल लामिछाने, माछापुच्छ्रेका कार्यालय सहयोगी ईश्वरी रानाभाट सम्मानित भए । विद्यार्थीतर्फ अन्नपूर्णका प्रवीण कुँवर, माछापुच्छ्रेका पर्वत दाहाल र सौगात रेग्मी, मादीका रेजिना विश्वकर्मा, रूपाका आभार पौडेल पोखराका अनन्या गौतम र निलीमा रेग्मी पुरस्कृत भए ।
विद्यालयतर्फ अन्नपूर्ण गाउँपालिकाबाट सृजना मावि, माछापुच्छ्रेबाट माछापुच्छ्रे मावि, मादीबाट ध्रुव मावि, रूपाबाट विश्वशान्ति मावि, पोखराबाट विन्ध्यासिनी मावि सम्मानित भएका छन् ।
सो कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, जिसस महासंघका केन्द्रीय सदस्य अमरबहादुर थापा गाउँपालिका महासंघ गण्डकीका अध्यक्ष नवराज ओझा, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिसस कास्कीका पूर्व प्रमुख तथा नेकपा (एमाले) कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी, कास्कीका पूर्व जिविस सभापति पुण्यप्रसाद पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरीता तिमिल्सिना, जनता समाजवादी पार्टी कास्कीका अध्यक्ष हर्कबहादुर गुरुङ, नेकपा समाजवादी कास्कीका अध्यक्ष खड्गबहादुर हमाल, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरे ।
जिसस कास्कीका प्रमुख लीलाधार पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप -प्रमुख सरीता मालले स्वागत र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।
तपाईको प्रतिक्रिया