
जोमसोम ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीमा मंगलबार मुस्ताङ प्रहरीलाई २ थान प्रहरी बिट हस्तान्तरण गरिएको छ । राष्ट्रिय गौरवको जोमसोम कोरला तथा मुक्तिनाथ जाने पर्यटक तथा सवारी साधन व्यवस्थापनका लागि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले प्रहरीलाई २ सुरक्षाकर्मी बस्ने प्रहरी बिट उपलब्ध गराएको हो ।
मुस्ताङको कागबेनी जोमसोम कोरला र जोमसोम मुक्तिनाथ जाने संगम स्थल हो । कागबेनीमा चैते दसैं र बडा दसैंअघिको सोह्र श्राद्ध औंसी तिथिको सेरोफेरोमा हजारौं श्रद्धालु दिवंगत पितृ उद्दारका लागि श्राद्ध, तर्पण र पिण्डदान गर्न आउने गर्छन । यहाँ श्राद्ध गर्न आउने भक्तजन कागबेनीबाट मुक्तिनाथ दर्शन गर्न जाने गर्छन् ।
कोरला नाका र उपल्लो मुस्ताङ जाने सडक पनि कागबेनीमै पर्न भएकाले अनुकूल समय र विशेष चाडपर्वमा पर्यटक तथा सवारी साधनको घुुइँचो हुन्छ । मुक्तिनाथ तथा कागबेनी धाममा आउने सवारी साधन तथा पर्यटकलाई सहजीकरण तथा व्यवस्थापनमा सहयोग पु¥याउन गाउँपालिकाले बजेट खर्चिएर प्रहरी बिट बनाएर हस्तान्तरण भएको मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।
कागबेनी प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी दिनहुँजसो घामपानी र हावाहुरी थेग्दै काम गर्नुपर्ने अवस्था थियो । प्रहरी बिट स्थापनाले त्यहाँ कार्यरत सुरक्षाकर्मीका लागि सहज हुने पाण्डेयले सुनाए ।
पालिकाको सहयोगमा स्थापना भएको ‘प्रहरी बिट’मा बसेर पर्यटक तथा सवारी साधनको चेंकजाच र अभिलेख राख्न सहज भएको छ । पर्यटकीय सिजनमा पर्यटक तथा सवारी व्यवस्थापन र कुनै समस्या आउँदा तत्काल प्रहरीलाई काम गर्न निकै मद्दत पुग्ने देखिएको छ ।
कागबेनी प्रहरी चौकीलाई हस्तान्तरण गरिएका २ थान प्रहरी बिटमध्ये १ कागबेनी श्राद्धस्थल र अर्को उपल्लो मुस्ताङ र मुक्तिनाथ जाने चोकमा छन् । मंगलबार वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कार्यालयमा पालिका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङ, उपाध्यक्ष डिकी गुरुङ, वडाध्यक्ष कर्मा घ्याचो गुरुङ लगायतले मुस्ताङका प्रहरी प्रमुख प्रनाउ पाण्डेयलाई प्रहरी बिट हस्तान्तरण गरेका हुन् ।
यसअघि बेनी जोमसोम सडक मार्ग अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका ३ लेतेमा इलाका प्रहरी चौकी लेतेका सुरक्षाकर्मीलाई सवारी साधन चेकजाँच तथा पर्यटक अभिलेख संकलन गर्न प्रभु बैंकले १ थान प्रहरी बिट हस्तान्तरण गरेको थियो ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया