छैरोका विद्यार्थीलाई प्रहरीको साथ

समाधान संवाददाता २०८१ साउन २५ गते १४:१८

जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिका १ छैरो स्कुलमा मुस्ताङ प्रहरीले शैक्षिक सामग्री वितरण गरिएको छ । नेपाल प्रहरी श्रीमती संघको स्थापना दिवसको अवसरमा मुस्ताङ सदरमुकाम जोमसोमदेखि भौगोलिक रुपले टाढा रहेको छैरो आधारभूत स्कुलमै पुगेर मंगलबार जिल्ला प्रहरी कार्यालय मुस्ताङले शैक्षिक सामग्री वितरण गरेको हो ।

Advertisement


नेविरा होलिडे ट्राभल र मार्फा होम्स मार्फाको सौजन्यमा उपलब्ध शैक्षिक सामग्री लिएर स्कुलमा पुगेका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेय, प्रहरी निरीक्षक राजन थापासहितको प्रहरी टोलीले घरपझोङ १ का वडाध्यक्ष आशबहादुर थकाली, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीमबहादुर रसाइली, विद्यालयका शिक्षक, अभिभावक लगायतको उपस्थितिमा स्टेसरी प्रदान गरेको हो ।


प्रहरीले छैरो स्कुलमा कक्षा (१—५) मा पढ्ने ५७ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर रसाइलीले जानकारी दिए । प्रहरीले गरेको सहयोगले बालबालिकालाई खुसी र आफूहरुलाई उत्साहित गरेको उनको भनाइ छ ।

Advertisement


प्रहरी शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा मात्र सीमित हुन्छ भन्ने सोंच जनमानसमा रहेको उल्लेख गर्दै मुस्ताङका प्रहरी नायब उपरीक्षक पाण्डेयले सामाजिक उत्तरदायित्व, विपद्मा उद्दार तथा राहत कार्यमा समेत सक्रिय रहने गरेको बताए ।

‘हामीले कठिन परिस्थितिका बालबालिका पढ्ने सबैभन्दा ओझेलमा परेको छैरो स्कुललाई शैक्षिक सामग्री वितरण गर्ने निधो गर्‍यौं,’ पाण्डेयले भने, ‘प्रहरीको सहयोग सानो हुन सक्छ तर यसले यहाँका बालबालिकाको शैक्षिक मनोबल र उनीहरुलाई उत्साह प्रदान गर्न मद्दत मिलेको छ ।’

Advertisement


कार्यक्रममा घरपझोङ १ वडाध्यक्ष आशबहादुर थकाली, नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकाली लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया