शान्तिको तीजगीत संग्रह

पोखरा ।
गीतकार शान्ति कँडेल न्यौपानेको तीजे गीत संग्रह उकाली र ओरालीको लोकार्पण भएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको आयोजनामा शनिबार भएको कार्यक्रममा कन्या क्याम्पस पोखराका पाँच विद्यार्थीबाट सामूहिक कृति लोकार्पण गरिएको हो ।
लेखक न्यौपानेले महिला सशक्तीकरण, दिनदिनै बढ्दै गएको हत्या, हिंसा, अपहरण, दुर्घटना, लैङ्गिक विभेद, तीज पर्वमा देखिएको विकृति र समजका यथार्थलाई आफूले सर्जनामा समेटेको बताइन् । किताबमा २२ गीत छन् ।
प्राडा जगन्नाथ रेग्मीले कृतिमा नारी मनका भावहरू कोमल शब्दका माध्यमबाट अभिव्यक्त भएको बताए । उनले कृतिमा राष्ट्रप्रेमको भावना, समाज सुधारको चाहना, सामाजिक विकृति, विसंगति अन्त्यको कामना जस्ता विषयगत विविधता रहेको स्पष्ट पारे ।
लोकसाहित्यकार प्राडा कुसुमाकर न्यौपानेले एउटी नारीले पारिवारिक र सामाजिक संषर्ष गर्दै साहित्य क्षेत्रमा प्रवेश गर्नु र यस किसिमको सुन्दर कृतिको प्रकाशन गर्नुमा सर्जकको सफलता रहेको बताए ।
संस्थाका डा विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार तारा पाखे, साहित्यकार चन्द्रावती वाग्ले, पोखरा प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति पदमराज ढकाल र शिवालय टोल विकास संस्थाका अध्यक्ष बीना देवकोटा, संस्थाका सहसचिव मदनप्रसाद बराल, सचिव डा भानुभक्त आचार्य लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया