१ वर्षमा ५५ किमी सडक कालोपत्र

समाधान संवाददाता २०८१ साउन २९ गते ११:११
फाइल फाेटाे

दमौली ।
निर्माणाधीन मुग्लिन पोखरा सडक योजना अन्तर्गत पूर्वी खण्डमा १ वर्षमा ५५ किलोमिटर २ लेन सडक कालोपत्र भएको छ । आर्थिक वर्ष २०८०/८१ मा पूर्वी खण्ड अन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्म एकतर्फी रूपमा ५५ किलोमिटर २ लेन सडक कालोपत्र भएको हो ।

Advertisement


हालसम्म एकतर्फी रूपमा ६३ किलोमिटर खण्ड कालोपत्र सकिएको पूर्वीखण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । वर्षाका कारण अहिले कालोपत्रको काम रोकिएको छ । इन्जिनियर पाण्डे भन्छन्, ‘अन्य काम भइरहे पनि वर्षाका कारण हाल कालोपत्र गरेका छैनौँ । वर्षा सकिएपछि बाँकी खण्डमा कालोपत्र हुनेछ ।’


पूर्वी खण्ड अन्तर्गत व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका पर्दछन् । त्यसमध्ये व्यास नगरपालिकाको दमौली र डुम्रे बजारका केही भामा घर, टहरा हटाउन ढिलाइ हुँदा कालोपत्र काम अगाडि बढ्न सकेको छैन ।

Advertisement


पूर्वी खण्ड अन्तर्गत १४ वटा साना, दुई ठूला पुल र १ सय ३ कल्भर्ट निर्माणको काम सकिएका छन् । व्यास नगरपालिका ४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुल अन्तर्गत २ सय पाइल निर्माण सकिएको र अब स्ल्याब तथा बिम बनाउने चरणमा पुगेको छ ।


आर्थिक वर्ष २०८०/८१ मा भूक्षय रोकथामका लागि विभिन्न ठाउँमा बायो इन्जिनियरिङको काम गरिएको छ । उक्त अवधिमा केही घर, टहरा हटाउन ढिलाइ हुँदा र पहिराजन्य समस्या काममा अवरोध पुगेको आयोजनाले जनाएको छ ।

Advertisement


गत आवमा आयोजनाका लागि पुँजीगततर्फ २ अर्ब ९९ करोड बजेट विनियोजन भएकामा २ अर्ब १४ करोड खर्च भएको छ । यस खण्डको गत वैशाख २ गते म्याद सकिएपछि पुनः एक सय ५५ दिन थप गरिएको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरू भएको थियो । यहाँ चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम गरिरहेको छ ।


विसं २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा ४ लेन सडक विस्तारको काम सुरू भएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ । रासस

तपाईको प्रतिक्रिया