बाटुलेचौरमा महिला समूहले मेला गर्ने

समाधान संवाददाता २०८१ साउन ३२ गते १२:५९

पोखरा ।
पोखरा १६ स्थित बाटुलेचौरमा यस वर्ष पनि ऐतिहासिक बाटुलेचौर तीज मेला हुने भएको छ । परम्परागत रूपमा हुँदै आइरहेको तीज मेला यसअघि स्थानीय हिमालय क्लबले गर्दै आएकोमा क्लबले मेला सञ्चालन गर्न नसक्ने जनाएपछि वडाको सक्रियतामा आगामी भदौ २० गते बाटुलेचौर खेल मैदानमा आयोजना गरिएको वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए ।


वडा कार्यालयले पूर्व आयोजक संस्था हिमालय क्लब, वातावरण संरक्षण क्लब, नागरिक समाज, विन्ध्यवासिनी माविका प्रतिनिधि तथा मेलाका पूर्व संयोजकहरु समेतको उपस्थितिमा मेला सञ्चालनबारे छलफल गरेको थियो । छलफलले महिला समूह मार्फत कार्यक्रम गर्न सुझाव दिएको र सोही अनुरूप मेला सञ्चालन गर्न लागिएको वडाध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।


शाहकालीन इतिहास जोडिएको बाटुलेचौर तिजमेलाले मुलुककै पुरानो संस्कृति धानेकाले पनि मेलालाई निरन्तरता दिन आवश्यक रहेको तिमिल्सिनाको बताए । राजा कुलमण्डन शाहको शासन कालतिरै पवित्र सेती नदी तथा ठूलीपोखरी नुहाएर आएका महिलाले बाटुलेचौरको मैदानलाइ विश्रामस्थलको रुपमा प्रयोग गरी गीतमार्फत आफ्ना मनका बह पोख्ने थलोको रुपमा उक्त स्थानलाई लिएका थिए ।

Advertisement


बडहरबोट आमा समूह आयोजक रहने मेलाको सहआयोजकका रुपमा वडाभरिकै आमा समूह रहने आयोजक समूहकी अध्यक्ष कमला तिमिल्सिनाले बताइन् । वडा प्रतिनिधि तथा स्थानीयले महिलप्रति गरेको विश्वास कायम राख्दै मेलालाई सफल बनाउन वडा भरिका महिला उत्साहित रहेको पनि उनले बताइन् । वडास्थित महिला, बालबालिका तथा अपांग लक्षित कार्यक्रम हेर्ने जिम्मेवारी पाएकी जनप्रतिनिधि राजकुमारी बानियालाई भेलाले उक्त कार्यक्रमको संयोजकमा चयन गरेको छ ।


संयोजक बानियाँले सबैको सहयोग र सहकार्यबाट ऐतिहासिकतीज मेला सम्पन्न गर्नेगरी तयारी सुरु गरिएको बताइन् । सामाजिक विभेद विरुद्ध सामाजिक रुपान्तरण अभियन्ता तथा दलित महिला सदस्य मञ्जु नेपालीले मेलामा विभिन्न समूहबिच तिज गित प्रतियोगिताको साथमा अन्तर विद्यालय नृत्य प्रतियोगिता पनि गरिने जानकारी गराइन् ।

Advertisement


राष्ट्रिय ह्यान्डबल खेलाडी विशाल बस्नेतको नेतृत्वमा ह्याण्डबल प्रतियोगिता सञ्चालनका लागि समेत तयारी भइरहेको उनको भनाइ थियो । वडा शिक्षा समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष तिमिल्सिनाले कार्यक्रम उदघाटनकै अवसरमा वडा भित्रका उत्कृष्ट विद्यालय सम्मान कार्यक्रमका साथ विद्यावारिधि गरेका वडा भित्रका नागरिकलाई शैक्षिक सम्मानसमेत गरिने जानकारी दिए । मेलामा हम्काइलो भाकासमेत प्रस्तुत गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया